Tuesday, May 07, 2024

उही भव्य शानका साथ ठडियो – ङातापोल मन्दिर

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, १९ असार

भक्तपुर नगरपालिका वडा नं. ५ को टौमढीस्थित विश्व प्रसिद्ध पाँचतले मन्दिर (ङातापोल) को बिहीबार सयौँ जनाको श्रमदानसहित झिँगटीको छाना छाउने काम सम्पन्न भयो ।
गत वैशाख १८ गतेदेखि सुरू भएको छाना छाउने काम असार १८ गते सम्पन्न भएको हो । मन्दिर जीर्णोद्धार उपभोक्ता समितिबाट प्राप्त जानकारीअनुसार बिहीबारमात्रै चारसय भन्दा बढीले श्रमदान गरेका थिए । उक्त श्रमदानमा भनपा वडा नं. ३, ४ र ८ तथा अन्य वडाका महिला, घट्खा दाफा भजन, नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिलगायत अन्य स्थानबाट श्रमदानमा सहभागी थिए ।
सयौँ जनाको श्रमदानको सहभागितामा पाँचतले मन्दिरको छाना छाइरहँदा मन्दिर प्राङ्गणमा हरेक दिन उत्सवजस्तो देखिन्थ्यो । विश्वकै सम्पदा सूचीमा रहेको पाँचतले मन्दिरको जीर्णोद्धारमा आफूले पनि केही गर्न सकौँ भन्ने गौरवको अनुभूति गर्दै स्थानीयहरू श्रमदानमा जुटेका थिए । नेक्राकिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गङ्गाराम ज्याख्वले भने, “श्रमदानको परम्परालाई निरन्तरता दिनुपर्छ, अरूलाई प्रोत्साहन दिन पनि श्रमदान गर्नु आवश्यक छ ।”
श्रमदानमै सहभागी ८३ वर्षीया कृष्णमाया गैडाले टोल–छिमेकीहरूसँग मिली श्रमदान गर्न आएको बताइन् । यसरी नै अन्य धेरै ज्येष्ठ नागरिकहरू पनि श्रमदानमा सरिक भइन् ।
टेखाचो बस्ने अर्का ज्येष्ठ नागरिक पुण्यश्वरी चवालले श्रमदानमा आएपछि जीउ नै हलुका भएको र भएको ज्वरो नै हरायो भनी खुशी व्यक्त गरिन् । उनले थपिन्, “पहिले–पहिले हामी खेत र बाटोमा जाँदै गर्दा कहीँ कतै पाटी–पौवा या व्यक्तिगत घरको छाना छाइरहेको सञ्जोग परे चराचुरूङ्गीको बास बस्न पाओस् भनी केही समय भए पनि श्रमदान गर्छौँ ।”
“यहाँ आएपछि श्रमदानमात्र गर्न पाएको होइन, आफ्ना साथीहरूसँग भेट्न पायौँ, दुःख–सुख बाँड्न पायौँ, जीउ दुखेको रोगै हट्यो, हाइसञ्चो भयो ।” उनले भनिन् ।
आदर्श बस स्टपनेर बस्ने सुवर्णकेसरी हाकुदुवाल र देगमना बस्ने ज्येष्ठ नागरिक लक्ष्मी बाइजूले पनि सेवा नै धर्म ठानेर श्रमदानमा सहभागी भएको बताइन् ।
वंशगोपालका ७५ वर्षीया शिवलक्ष्मी वैद्य श्रमदान गर्न पाएकोमा खुसी हुँदै भनिन्, “हामी त डाँडामाथिको घाम । यो बेला श्रमदान नगरे कहिले गर्ने ? पछि त हामीले चाहेर पनि अवसर पाउने छैनौँ ।”
श्रमदान गर्नेहरूको निम्ति श्रद्धास्वरूप अन्य खानपान र खानेपानीको व्यवस्था गर्ने समाजसेवीहरू पनि देखिए ।
भनपा वडा नं. १० बस्ने लतंभक्त प्रजापतिले ८–१० दिनदेखि खर्पनमा गाग्रो राखी खानेपानीको सेवा दिइरहेका छन् ।
भनपा वडा नं. ३ तेखाचो (हाल कटुञ्जे) बस्ने सानुमैया मानन्धरले आफ्ना स्वर्गीय पति रामबहादुर मानन्धरको स्मृतिमा एक बाकस ड्यु श्रमदान गर्नेहरूको निम्ति श्रद्धास्वरूप सहयोग गरिन् ।
श्रमदानमा सयौँ महिला तथा पुरूषहरूको सहभागी देखेर स्वास्थ्य सुरक्षाको हिसाबले भनपा वडा नंं ८ बस्ने विष्णु भैनात्वले करिब ३ सय वटा मास्क प्रदान गरेर सहयोग गरे ।
सहयोगकै क्रममा सोही दिन भनपा वडा नं. ८ बस्ने रत्नभक्त प्रजापतिले ङातापोल मन्दिर संरक्षण कार्ययोजना उपभोक्ता समितिको नाउँमा रू. ५ हजार आर्थिक सहयोग प्रदान गरे । उनले आर्थिक सहयोग प्रदान गरेको देखेर भनपा वडा नं. १० कमलविनायक बस्ने पुनवीर गैडाले पनि रू. ५ सय आर्थिक सहयोग गरे । उपभोक्ता समितिका अध्यक्ष केशव तमखूका अनुसार हालसम्म १२ लाख रूपैयाँभन्दा बढी आर्थिक सहयोग जुटिसकेको छ । सबभन्दा बढी आर्थिक सहयोग गर्नेमा कमला भक्त प्रतिष्ठान पनि रहेको तमखूले जानकारी दिए ।
घट्खा दाफा भजनका अध्यक्ष तुल्सीभक्त त्वायना पनि आफ्नो भजनमण्डलको तर्फबाट ८० जना सहभागी हुन पाएकोमा दङ्ग थिए ।
अन्तिम दिनमात्रै किन श्रमदानमा जुटेको भन्ने जिज्ञासामा उनले भने, “श्रमदानको लागि नाउँ लेखेको त पहिले नै हो, तर हाम्रो पालो अन्तिम दिनमात्र आयो ।”
किसान सङ्घ नगर समितिका अध्यक्ष ज्याख्वले भने, “श्रमदान गर्ने निर्णय जेठ १६ गते नै भएको थियो । तर, श्रमदानको लागि पर्खाइमा बस्दा बस्दै अन्तिम दिनमात्र अवसर जुट्यो ।”
पाँचतले मन्दिरको जीर्णोद्धारको क्रममा झिङ्गटी इँटा १७ हजार, कोपु इँटा ४ सय सहयोग प्राप्त भएको जानकारी उपभोक्ता समितिका अध्यक्ष केशव तमखुले दिए । उनका अनुसार छानाको कुना–कुनामा ग्वङ्ग (कुखुरा) इँटामात्र होइन सलाँ (घोडा) र किसी (हात्ती) इँटा पनि प्रयोग गरिएको छ । सलाँ अपा मन्दिरको पाँचौँ अर्थात् सबभन्दा माथिल्लो तलामा प्रयोग गरिएको छ ।
उनका अनुसार असार १७ गतेसम्ममा झिङ्गटी इँटा सफा गर्न  १५ समूहबाट ३ सयभन्दा बढीले श्रमदान गरे ।
श्रमदानमा सहभागी महिलाहरूलाई भक्तजनहरूले अघिल्ला दिनमा दही, जुस, जेरी–स्वारीलगायत अन्य खाजाको सहयोग गरेका थिए ।
स्थानीय वडा सदस्य पूर्णभक्त राजचलले पाँचतले मन्दिर जीर्णोद्धारको निम्ति कार्तिक २० गते बाँस काट्ने काम सुरू गरी मंसिर ७ गतेबाट खट बाँध्ने शुरू भएको बताए ।
मंसिर २५ गते विधिसम्मत तरिकाबाट पूजा–पाठ गरी झिङ्गटी झिक्ने काम गरिएको थियो । फागुन १७ गते मन्दिरको गजुर झिकी वैशाख २४ गते जीर्णोद्धार गरी पुनः जडान गरिएको थियो । मन्दिरको पाँचौँ तलामा वैशाख १८ गते झिङ्गटी झिक्ने काम भयो भने वैशाख ३१ गते उक्त तल्लामा झिङ्गटी छाउने काम सम्पन्न भयो ।
जेठ ६ गते चौथो तलामा छाना छाउने काम शुरू भई ७ गते सम्पन्न भयो । तेस्रो तलामा जेठ १३ गते छाना छाउने काम शुरू भई १७ गते सम्पन्न भयो । त्यस्तै जेठ २८ गते दोस्रो तलामा शुरू भएको छाना छाउने काम असार ३ गते सम्पन्न भयो भने असार १३ गते पहिलो तलामा सुरू भएको झिङ्गटी छाउने काम असार १८ गते सम्पन्न भयो ।
वडा सदस्य राजचलका अनुसार झिङ्गटी सफा गर्न १५ समूहबाट ३२१ जनाले श्रमदान गरेका थिए । असार १७ गतेसम्म छाना छाउने काममा टोल–टोलका विभिन्न सामाजिक सङ्घ–संस्था तथा समूहबाट ३१२२ जनाले श्रमदान गरेका थिए ।
सो मन्दिर जीर्णोद्धारको निम्ति जेठ मसान्तसम्म रू. ३२ लाख खर्च भइसकेको वडा सदस्य राजचलले जानकारी दिए । उक्त खर्चमा नपा र चन्दाबाट प्राप्त सहयोग पनि समावेश छ ।
असार १८ गते सम्ममा नियमित काम गर्ने डकर्मी, सिकर्मी, ज्यामीसमेत गरी २,२१२ जनालाई ज्याला दिइसकेको उनले बताए । उनका अनुसार नपाबाट रू. ३० लाख पेश्की लिइसकेको छ ।
पाँचतले मन्दिरमा झिङ्गटी छाउने काममा निरन्तर लागिरहेका डकर्मीहरूमा दुरूकाजी सुवाल, हरिभक्त बाटी, विष्णुभक्त बाटी, सुरेश ग्वाछा, विश्वराम कर्माचार्य, मोहनकुमार कासुला, ध्रुव बाटी, कृष्ण मारिखु, नारायणकृष्ण खाइतू, सुसन राजचल, रामप्रसाद सुवाल, तुल्सीराम लागे आदि रहेका छन् ।
स्मरणीय छ, उक्त मन्दिर जीर्णोद्धारको लागि २०७६ कार्तिक ७ गते केशव तमखूको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति, बलराम न्हिसुतूको संयोजकत्वमा अनुगमन समिति र ख्वप इन्जिनियरिङ्ग कलेजका पूर्वप्राचार्य चन्द्रकिरण कवांको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको थियो ।
उक्त मन्दिर जीर्णोद्धारको लागि रू. ६५ लाख १३ हजारको लगट इष्टिमेट भएको थियो । छाना छाउने काम सकिए पनि झिङ्गटी इँटामा सरसफाइ गर्ने, बाँस झिक्ने तथा अन्य केही कामहरु बाँकी छन् । मौसमको कारण छाना छाउने काम नियमितरूपमा हुननसक्दा काममा केही ढिलाइ भएको स्थानीयको भनाइ रहेको छ ।(स्राेतः अनलाइनमजदुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *