का राेहितद्वारा करिव एक अर्बको बहुप्रतिक्षित अरनिको सभाभवन शिलान्यास

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यून अपडेट संवाददाता
भक्तपुर, २१ वैशाख


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले करिव एक अर्ब रुपैयाँको लागत इस्टिमेटमा बहुप्रतिक्षित अरनिको सभाभवनको शुक्रबार भक्तपुर नपा वडा नं. ६ देकोचामा शिलान्यास गरेको छ ।
सभाभवन शिलान्यास गर्दै अध्यक्ष बिजुक्छेँले मानव सभ्यताको इतिहास र विकासक्रम अध्ययनको लागि भवन शिलान्यासको क्रममा राखिएका सामाग्रीहरुले महत्वपूर्ण तथ्यको रुपमा भूमिका खेल्ने बताउँदै जगलाई बलियो बनाउन सके त्यसमा निर्माण हुने भवन स्वतः बलियो हुने विचार व्यक्त गरे ।
सुविधासम्पन्न अरनिको सभाभवनको निर्माण गर्ने उद्देश्यले भक्तपुर नपाले देकोचामा जग्गा अधिग्रहण गरेको बताउँदै स्थानीय निकाय भंग हुँदा देश कयौं वर्ष पछाडि धकेलिएको उनले बताए ।
सरकारको भरमा देशलाई विकास गर्ने सोच राखे हामी कहिल्यै अगाडि बढ्न सक्दैनौं भन्दै उनले व्यक्ति, समाज र देशले आत्मनिर्भरताको बाटो अँगाल्नुपर्नेमा जोड दिए ।


नयाँ पुस्तालाई राजनीतिमा अगाडि ल्याउन सके उनीहरुको सांस्कृतिक स्तर पनि माथि उठ्ने बताउँदै उनले सार्वजनिक पदमा रहेका पदाधिकारीहरुले आफ्नो शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदाको लागि प्रयोग गर्दा देशमा भ्रष्टाचारजस्तो अपराधिक गतिविधि मौलाउँदै गइरहेको बताए ।
जनतालाई इमानदारीपूर्वक काम गर्न हामीले सँधै प्रेरित गर्नुपर्ने बताउँदै उनले शासक दलहरुले इमान गुमाउँदा देशलाई घात भइरहेको बताए ।
कार्यक्रममा बोल्दै नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले अरनिको सभाभवन र ख्वप कलेज निर्माणको निम्ति जग्गा प्रदान गर्ने नगरबासीहरुलाई धन्यवादज्ञापन गर्दै उनले कुनै पनि ठूल्ठूला योजनाहरु निर्माण गर्दा निर्माण सामाग्रीको गुणस्तरको विषयमा ध्यान दिनुपर्ने बताए ।
अरनिको सभाभवनलाई जनअध्ययन गृहको रुपमा विकास गर्ने विषयमा नगरपालिकाले जोड दिनुपर्ने उनले सुझाव दिए ।


सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय सञ्चालनको लागि नपालाई उपलब्ध गराएको खण्डमा चिकित्सा शिक्षा सस्तोमा अध्ययन गराउने नगरपालिकाको तयारी रहेको बताउँदै उनले पूर्वाधार भएको सक्षम नगरपालिकालाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्नेमा जोड दिए । सोही क्रममा उनले ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदबाट पारित होस् भन्ने जनताको चाहना रहेको उल्लेख गरे ।
संसदका गतिविधिबारे प्रष्ट पार्दै सांसद सुवालले भारतको इसारामा चल्ने नेपाल सरकार भारतको कठपुतली सरकार सावित हुँदै गएको बताउँदै अस्पतालहरुलाई स्वास्थ्य बीमाको रकम समयमै उपलब्ध नहुँदा स्वास्थ्य बीमा बन्द हुने अवस्था सिर्जना भएको बताउनुभयो ।
शासकहरुले संसदमा जनताका प्रतिनिधिलाई बोल्न बन्देज लगाउने जनविरोधी कार्य गरिरहेको बताउँदै उनले सहर, बस्तीको बीचमा धेरै विद्युत बग्ने हाइटेन्सन लाइन राख्नु गलत कार्य भएको स्पष्ट पारे ।


कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले अरनिको सभाभवन भक्तपुर नगरपालिकाको एक महत्वपूर्ण नगर योजना भएको बताउँदै योजनालाई समयमै सम्पन्न गर्न सबैको तर्फबाट सहयोगको अपेक्षा रहेको बताए । अरनिको सभाभवन निर्माण कार्यलाई तीव्रता दिन नगर प्रमुखको संयोजकत्वमा निर्माण समिति गठन गरी काम अगाडि बढाइसकेको बताउँदै उनले अरनिको सभाभवन निर्माणले विद्यालय, कलेज र विभिन्न संघ संस्थाहरुको कार्यक्रमहरु गर्न सहज हुने बताए ।

२०५८ सालमै तत्कालीन जनप्रतिनिधिहरुले अरनिको सभाभवन बनाउने उद्देश्यले देकोचामा जग्गा अधिग्रहण गरेको स्मरण गर्दै जगनाथ क्षेत्र सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण र उत्खनन् गर्नुपर्ने भएकोले अरनिको सभाभवन नयाँ ठाउँमा बनाउनुपरेको उनको भनाइ छ ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले अरनिको सभाभवन निर्माण नगरबासीहरुको निम्ति मात्र होइन भक्तपुर जिल्ला र देशकै साहित्यिक र सांस्कृतिक गतिविधिको लागि समेत महत्वपूर्ण उपलब्धी सावित हुने विश्वास व्यक्त गरे ।

नेपाली वास्तुकार ‘अरनिको’ कलाकार, आर्किटेक्ट र वैज्ञानिकको रुपमा संसारसामु चिनिएको बताउँदै उनले सभाभवनको आवश्यकता र अभावपूर्ति हुने दिनको रुपमा आजको दिनलाई स्मरण गर्नु उचित हुने बताए । उनले अरनिको सभाभवन निर्माणले साहित्यिक, सांस्कृतिकका साथै शैक्षिक र बौद्धिक गतिविधिमा समेत टेवा पुग्ने बताउँदै भक्तपुरको सामाजिक, सांस्कृतिक र राजनीतिक विकासमा समेत यसले सकारात्मक भूमिका खेल्ने बताए । सांसद गोसाईले अरनिको सभाभवन निर्माणमा पनि जनश्रमदान जुटाएर अगाडि बढ्न सकेको खण्डमा सुनमा सुगन्ध थपिने सोही अवसरमा बताए ।

सभाभवन निर्माणको निम्ति बागमती प्रदेश सभासमक्ष पनि सहयोगको लागि अनुरोध गरेको स्मरण गर्दै उनले बागमती प्रदेश सरकार जनताका गतिविधि र समाजको विकासमा उदासिन रहेको उल्लेख गरे । उनले भने, ‘सभाभवन निर्माणको लागि बागमती प्रदेशबाट बजेट विनियोजन भइसकेको स्थिति थियो तर फेरि पनि त्यसमा आनाकानी र असहयोग गर्ने स्थिति देखिएको छ ।’

त्यस्तै उपप्रमुख रजनी जोशीले भक्तपुरको गौरवको आयोजनाको रुपमा अरनिको सभाभवन निर्माण कार्य अगाडि बढाइएको बताउँदै सभाभवन निर्माणस“गै नगरबासीहरु लाभान्वित हुने बताए । कार्यक्रममा ज्योतिषाचार्य विरेन्द्रप्रसाद कायष्ठले पनि बोल्नुभएको थियो भने भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले स्वागत मन्तव्य र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सम्पूर्ण सहभागीहरुलाई धन्यवादज्ञापन गरे । उक्त भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बालेको थियो ।

भक्तपुर नपा वडा नं. ६ देकोचामा निर्माण भइरेको अरनिको सभाभवनको वास्तुकला र संरचनाको डिजाइन भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले गरेको थियो भने सभाभवनको मुख्य अडिटोरियम (मुख्य हल) ११०० जनाको क्षमताको रहेको छ । सभाभवनमा बहुउद्देश्यीय हल १२८ जना, श्रव्य दृश्य ९६ जना, ४ वटा रिहर्सल कक्ष रहनेछ । सभाभवनको प्रदर्शनी कक्ष १०६२.९९ व.मि., बेसमेन्ट पार्किङ ४६ गाडी र २३१ मोटरसाइकल अट्ने क्षमताको रहेको छ भने खुल्ला थियटर ६०० जनाको क्षमताको रहेको छ । सभाभवनको प्लिन्थ एरिया ३२०१ व.मि रहेको छ भने फोहरासहितको बगैंचाको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *