भक्तपुरमा प्रहरी उपरीक्षक तारादेवी थापालाई स्वागत

समाचार

भक्तपुर, १६ असार


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७७ असार ८ गतेबाट भक्तपुर जिल्लामा सरुवा भई आएकी प्रहरी उपरीक्षक तारादेवी थापालाई पुष्पगुच्छा र भक्तपुरको प्रसिद्ध मयुर झ्याल प्रदान गरेर भक्तपुर नगरपालिकामा स्वागत गरे ।


नगर प्रमुख प्रजापतिले प्रहरी उपरीक्षक थापालाई सांस्कृतिक, पर्यटकीय र प्राचीन नगर भक्तपुरमा नगरपालिका परिवार र सिंगो नगरबासीहरुको तर्फबाट स्वागत गरे ।


भक्तपुरको सम्पदा संरक्षण र शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनको भूमिका अपरिहार्य भएको बताउदै भक्तपुर नपाले अनियमित, भ्रष्टाचार र अनैतिक काम गर्नेहरुको पक्ष कहिल्यै नलिने उनले बताए ।
भक्तपुर नगरपालिकाले नेपालकै प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धार कार्य जनश्रमदानमार्फत गरिरहेको अवगत गराउदै प्रमुख प्रजापतिले कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउनको समयमा जनप्रतिनिधि र प्रशासनले खेलेको भूमिकाबारे प्रष्ट पारे ।


उनले आफ्नो कार्यक्षेत्रमा इमानदारीपूर्वक काम गरी जनमानसमा सकारात्मक प्रभाव पार्न शुभकामना दिन्दै भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको बारेमा पनि अवगत गराए ।
कार्यक्रममा प्रहरी उपरीक्षक थापाले भक्तपुर देशकै सानो जिल्ला भएर पनि सांस्कृतिक विविधता बोकेको जिल्ला भएको हुँदा सुन्दर नगरी भक्तपुरमा सरुवा भएर कार्य गर्न पाउँदा निकै उत्साहित भएको बताए ।
भक्तपुरबासीको न्यानो स्वागत र सद्भावप्रति आभार प्रकट गर्दै प्रहरी उपरीक्षक थापाले प्रहरी जनताको सेवामा सँधै खटिरहने र प्रहरीबाट हुने गलत कार्यको पनि निन्दा गर्नु आवश्यक भएको बताए ।
स्वागत कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुरको संक्षिप्त परिचय दिन्दै प्रहरी प्रशासनको तर्फबाट सकारात्मक सहयोगको अपेक्षा रहेको बताए ।
प्रहरी उपरीक्षक सबिन प्रधानको ठाउँमा प्रहरी उपरीक्षक तारादेवी थापा भक्तपुरको प्रहरी प्रमुखको रुपमा आएको हो । उनी काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सरुवा भई भक्तपुर जिल्लामा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *