न्यूज अपडेट संवाददाता
भक्तपुर, २४ जेठ

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारीहरुलाई लक्षित गरी सदस्य सम्बन्ध र नेतृत्व विकास विषयमा एकदिने तालिम शनिबार होटेल घ्याम्पेडाँडामा सम्पन्न भएको छ ।
प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार रत्न प्रसाद प्रजापतले कर्मचारीहरुले सदस्यसँग सरल, सभ्य र नम्र भएर व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले तालिमको उद्घाटन गर्दै तालिमले संस्थाको संस्थागत विकासमा टेवा पुग्ने बताए । संस्थाको ऐतिहासिक विकासबारे जानकारी दिँदै उनले विभिन्न समयमा दिँदै आएका तालिमहरुले संस्थाको प्रगति सम्भव बनेको यथार्थ चित्रण गरे । संस्थाको स्थापनाकालमा संस्थाप्रति समाजले हेर्ने दृष्टिकोण नै फरक भएको बताउँदै उनले हाल राष्ट्रिय सहकारी प्राधिकरणले ल्याएका नीति निर्देशन पहिल्यै आएको भए सहकारीमा त्यति समस्या नहुने स्पष्ट पारे । साथै खराव र सही नै नहेरी सहकारीको दर्तालाई सरकारले जोड दिएकाले सहकारीमा व्याप्त समस्या आएको बताउँदै उनले सहकारीलाई बैंकको जस्तो नीति नियम ल्याउँदा सञ्चालन गर्न कठिन भएको औंल्याए ।

प्रशिक्षार्थी २३ जना कर्मचारीहरुलाई प्रमाणपत्र वितरण गर्दै उनले सरकारले जनतासँग गरेको बाचाभन्दा जनताको ढाड सेक्ने बजेट ल्याएको बताए । उनले सहकारीकर्मीहरुले देशको राजनीतिबारे बुझ्नु आवश्यक भएको बताए ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले तालिमबाट प्राप्त ज्ञान र सिपलाई संस्थाको प्रगतिका लागि उपयोग गर्नुपर्नेमा जोड दिए । उनले संस्थाको कर्मचारीको वृत्ति विकासका लागि सरकारले बाध्यात्मक कानुन ल्याएको भएपनि संस्थाले वार्षिक रुपमा कर्मचारी लक्षित विभिनन कार्यक्रम गरिरहेको बताए । उनले कर्मचारीको जोश र जाँगरलाई उत्प्रेरणा र खुराकका रुपमा प्रयोग गर्न तालिमको महत्व रहेको स्पष्ट पारे । तालिमले व्यवस्थापनमा सहजता ल्याउने र कर्मचारीमा ऊर्जा थप्ने बताउँदै उनले आफ्नो कर्मथलोलाई आस्था र विश्वासको केन्द्र बनाउनुपर्ने औंल्याए । दृढ इच्छाशक्ति नै सफलताको प्रस्थान विन्दु भएको स्मरण गराउँदै उनले उत्पादित सेवालाई हरेक सदस्यसम्म वितरण गर्नुपर्नेमा जोड दिए ।
तालिमका प्रशिक्षक डा. तारा प्रसाद गिरीले हरेक संस्थाका कर्मचारीले आपूmलाई अरुभन्दा फरक शैली र स्मार्ट बनाए मात्र संस्थाको प्रगति बताए । आपूm आफैसँग विश्वस्त नभएसम्म अरुलाई विश्वस्त बनाउन नसक्ने बताउँदै उनले आफ्नो सोचलाई सकारात्मक रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । सिकाइ प्रक्रिया कहिल्यै अन्त नहुने बताउँदै महत्वपूर्ण व्यक्तिले निरन्तर सिकिराख्ने उनको भनाइ छ । साथै समय र परिस्थितिअनुसार आपूmलाई सधै अद्यावधिक गर्दै लानुपर्नेमा जोड दिँदै उनले आपूmलाई परिवर्तन गर्न सकेमात्र नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्न सक्ने बताए ।

सहजकर्ता प्रशिक्षक राधिका अधिकारीले समृद्ध सहकारीका लागि प्रभावकारी नेतृत्व नै आवश्यक हुने बताए । उनले कर्मचारीसँग प्रभावकारी, तार्किक र बौद्धिक प्रस्तुति गर्ने खुवीको विकास हुनुपर्नेमा जोड दिए । सकारात्मक सोच र दृढ आत्मविश्वास नै नेतृत्वको पहिलो खुड्किलो भएको बताउँदै उनले चरित्र, क्षमता र निरन्तरताको संयोजन नै विश्वास रहेको बताए । समयको पालना र योजनाले मान्छेलाई अग्रपङ्क्तीमा ल्याउने उनको कथन छ ।

संस्थाका अध्यक्ष प्रजापतिले अतिथि प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरेको उक्त कार्यक्रममा ऋण अधिकृत अञ्जना छुस्यावाग, कर्मचारीहरु रामप्रसाद वाग, सुभद्रा बोहजुलगायतले पनि तालिमको अनुभव बताएको थियो ।


