पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्न

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३० जेठ

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २४औं वार्षिक साधारणसभा शनिवार भक्तपुर बैंक्वीटमा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिका महासचिव राम प्रसाद दाहालले अहिलेको सरकारले सूचनाको पहूँचलाई ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा जस्तो पुर्‍याएको बताउँदै यो साधारणसभालाई आन्दोलनको सभाका रुपमा अघि बढाउनुपर्ने औंल्याए । उनले पत्रकारिता क्षेत्रप्रति सरकारको मनै दूषित रहेको बताउँदै सञ्चार संस्था र श्रमजीवी पत्रकारप्रति गरेको प्रेस स्वतन्त्रताको हनन् प्रति खेद व्यक्त गरे । मिडियासँग सरकार आतंकित भएको र सरकारले पत्रकारको सूचना सम्प्रेषण गर्ने कार्यमा बाधा व्यवधान गरेकाले नेपालको संविधान, २०७२ बाट स्थापित पूर्ण प्रेस स्वतन्त्रता कुन्ठित भएको बताए । उनले पूर्ण प्रेस स्वतन्त्रता र पत्रकारको हकहित र सुरक्षाका लागि यहि असार ५ गते काठमाडौं उपत्यका केन्द्रीत कडा आन्दोलन गर्ने चेतावनी दिए ।

अर्का केन्द्रीय सदस्य सूर्य सुवेदीले पत्रकार हक हितका लागि महासंघको केन्द्रले गरेका विभिन्न गतिविधिको बारेमा उल्लेख गर्दै केन्द्रले गरेका हरेक गतिविधिमा सबै श्रमजीवी पत्रकारले साथ दिनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशका कार्यवाहक अध्यक्ष रोजीना थापा, नेपाल पत्रकार महासंघ, भक्तपुरका पूर्व अध्यक्ष नारायणसुन्दर किलम्बु, वरिष्ट पत्रकार कविर राणा, नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, नेपाल पत्रकार महासंघ, ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीलगायतले शुभकामना दिएको उक्त साधारणसभामा हरिसुन्दर छुकां, नविना खर्बुजा, मदन ढुंगाना, आशिष पौडेल, रोशन शिल्पकार, पुष्करराज बुढाथोकीले बोलेका थिए ।


महासंघका कोषाध्यक्ष रामगोपाल तमखुले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र सहसचिव दिनेश कार्कीले प्रस्तुत गरेको कार्यसमितिको प्रतिवेदन आवश्यक छलफलपछि पारित गरेको उक्त साधारणसभाको सभापतित्व ग्रहण गर्दै सुन्दर शिल्पकारले महासंघले पत्रकारिता क्षेत्रलाई छापा माध्यमबाट डिजिटल माध्यममा लान विभिन्न तालिम तथा कार्यक्रमहरुको आयोजना गरेको स्पष्ट पारे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *