चाँगुनारायणको बजेट १ अर्ब ४८ कराेड, नगरपालिकाले अब आफ्नै भवन बनाउने

राजनीति विशेष समाचार समाचार
न्यूज अपडेट
भक्तपुर, १२ असार
करोडबाट अर्ब पुग्यो चाँगुनारायणको बजेट, नगरपालिकाले अब आफ्नै भवन बनाउने

चाँगुनारायण नगरपालिकाले  आर्थिक वर्ष २०७७/७८ का लागि बजेट अर्बमा पुर्याएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा रु. ९६ करोड २८ लाख ७९ हजारको बजेट बनाएको नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि भने रु. १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सयको बजेट सार्वजनिक गरेको छ ।

बुधबार नगरपालिकाको सातौं नगरसभामा उपप्रमुख वीणा वास्तोलाले सो रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटले ५५ दशमलब ८० प्रतिशत अर्थात् रु. ८१ करोड २५ लाख ९० हजार पूँजीगतमा र ४५ दशमलब २० प्रतिशत अर्थात् रु. ६७ करोड १ लाख १३ हजार विनियोजन गरेको उपप्रमुख वास्तोलाले जानकारी दिइन् ।

उपप्रमुख वास्तोलाले बजेट प्रस्तुत गर्दै आगामी साढे दुई वर्षभित्र बन्ने गरी नगरपालिकाको आफ्नै भवनका लागि समेत रकम विनियोजन गरेको छ । ‘चाँगुनारायण नगरपालिकाले नगर कार्यपालिकाको आफ्नै भवन निर्माणका लागि रु. १० करोड विनियोजन गरेको छु । आगामी साढे दुई वर्षको समयावधिमा सम्पन्न हुने सो नयाँ भवनबाटै सेवा प्रवाह हुने व्यवस्था मिलाएको छु ।’ उपमेयर बास्तोलाले भनिन् ।

उनका अनुसार सो भवन वडा नंं ५ को घुमाउनेमा बन्नेछ । भवन बनाउन ठेक्का आह्वान भइसकेको छ ।

विनियोजित बजेटमध्ये नगरमा रहेका बेरोजगार युवालाई लक्षित गरी मेयरसँग उद्यमशीलता अन्तर्गत युवाको सम्वर्दन, उद्यमशीलता प्रवर्दन कार्यक्रमका लागि ३ करोड, नगरभित्रका मुख्य सडकहरुमा बिजुली बत्तीको व्यवस्थापन गरी उज्यालो चाँगुनारायणका लागि रु. ५० लाख, नगरपालिकाको सडक तथा यातायात क्षेत्रको विकासका लागि रु. २८ करोड विनियोजन गरेको छ ।

त्यस्तै नगरपालिकाले एक घर एक धारा कार्यक्रमको अवधारणा सार्वजनिक गरेको छ । सो कार्यक्रमका लागि रु. ४ करोड, सामुदायिक विद्यालयमा छात्राहरुको शिक्षा, बालविवाह निरुत्साहन र किशोरीहरुको सुरक्षित भविष्य निर्माणमा सहयोगका लागि तय गरिएको बचत खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रमका लागि ५० लाख र शिक्षामा ३ करोड विनियोजन गरेको छ ।

सभाले नगरपालिकालाई सफा नगर बनाउन रु. १ करोड ११ लाख, डम्पिङ साइट निर्माणका लागि रु. १ करोड, विपद् व्यवस्थापनका लागि रु. १ करोड, सूचना प्रविधिको विकासका लागि १ करोड ६२ लाख विनियोजन गरिएको छ ।

वडाध्यक्षदेखि वडा सदस्यसम्मको गुनासो !
नगरसभामा प्रस्तुत भएको बजेटप्रति भने नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा सदस्यहरुले मिश्रित प्रतिक्रिया दिँदै नगरपालिका र मेयर सोमप्रसाद मिश्रप्रति गुनासो गरेका छन् ।

बजेटको आकार बढे पनि खासै खुशी हुन दिन नसक्ने टिप्पणी गर्दै वडा नंं ५ छालिङका वडाध्यक्ष जयन्द्र खड्काले बजेटमाथि मेयरको हस्तक्षेप समेत हुने गरेको बताए । उनले मेयरले आफ्ना नजिकका मान्छे तथा पार्टी निकट व्यक्तिलाई भनसुनका आधारमा बगलीबाट योजना दिँदै आएको बताउँदै उक्त कार्य रोक्नुपर्नेमा जोड दिए ।

उनले नगरको समानुपातिक विकास गर्नतिर समग्र नगरपालिकाले ध्यान दिन जरुरी समेत औंल्याए ।

त्यस्तै वडा सदस्य सोम प्रधानले बजेट कार्यकर्तामुखी हुँदा समस्या निम्तिएको बताए । उनले नगरपालिकामा सञ्चालनमा रहेका इँटा उद्योगहरुको विषयमा नगरपालिकाले ठोस कदम चाल्नुपर्ने पनि माग गरे ।

छलफलमा वडा नं. १ का वडासदस्य उद्धव खड्काले कर्मचारी संयन्त्रलाई नगरपालिकाले नै उचित अनगुमन गर्नुपर्नेमा जोड दिए । उनले बजेट पूर्व नै नगरपालिकाले जारी गर्ने विभिन्न नीति तथा विधेयकको अध्ययन गर्नुपर्ने भए पनि नगरपालिकाले त्यसको समय नदिएकोमा गुनासो गरे ।

छलफलका क्रममा वडा सदस्य विद्यापति थापाले योजना सञ्चालन पहुँच र सम्बन्धका आधार नभएर भूगोलको आवश्यकता हेरेर गनुपर्ने चर्चा गर्दै ताथलीको हलाल गाउँको विकासका योजनाहरुका लागि बजेट आवश्यक भएको बताए ।

वडाध्यक्ष बुद्धिलाल महर्जनले वडामा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाउनुपर्ने, खेलमैदान निर्माणको कााम अघि बढाउनुपर्ने उल्लेख गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर पुग्ने सडकको स्तरोन्नतिका लागि बजेट माग गरे ।

वडा नं. ६ नगरकोटका वडा सदस्य धनबहादुर लामाले नगरपालिकाले सञ्चालन गरेको एक करोडका ठूला योजनाहरुको प्रभावकारीतामा प्रश्न उठेको बताउँदै वडा सदस्यको भूमिकालाई पनि प्रष्ट बनाउनुपर्ने जनाए ।

वडाध्यक्ष शिवहरि केसीले नगरपालिकाले गरिरहेका काम कारबाहीबारे यर्थाथ जानकारी दिन र लिन नगरपालिकाले बनाएको लेखा समितलाई सक्रिय बनाउन ध्यानाकर्षण गरेका थिए । उनले नगरपालिकामा रहेका कर्मचारीहरुको उचित व्यवस्थापनका लागि आवश्यक कार्यविधि समेत बनाउनुपर्ने जनाए ।

महिला वडा सदस्य कमला गिरीले नागरिकता तथा देशको स्वाभिमानमा आँच आउने कामविरुद्ध सबै एक भएर लाग्न जरुरी रहेको बताइन् । उनले ज्येष्ठ नागरिकहरुको सम्मानलाई अझ प्रभावकारी बनाउन तथा लक्षित बर्गका लागि विनियोजन कार्यक्रम वडातहमै सञ्चालन गर्नुपर्ने बताइन् ।

३ नं. वडाका अध्यक्ष श्यामसुन्दर धिमालले झौखेलको विकासका लागि जनप्रतिनीधिहरु ीदनरात नभनी लागिरहेको जानकारी दिँदै गर्ने इच्छाशक्ति भएको खण्डमा दिगो विकासमा टेवा पुग्ने बताए । उनले विकासका लागि जनप्रतिनीहरुले मिहिनेतका साथ वडावासीहरुप्रति प्रतिवद्ध हुनुपर्ने बताउँदै सुशासन कायम गर्नुपर्ने बताए ।

छलफलमा उठेका विभिन्न विषयका बारेमा मेयर सोमप्रसाद मिश्रले जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *