व्यवसायिक रुपमै सयपत्री फूल खेती

अर्थ/वाणिज्य समाचार

 

राजविराज, ६ कार्तिक


तिहार लगायत अन्य पर्व तथा उत्सवमा प्रयोग हुने सयपत्री फूलको लागि बार्षिक करोडौ रुपैया बाहिरने गरिरहेको छ । तर,पछिल्लो समय तराई लगायत अन्य क्षेत्रमा समेत फूलको ब्यवसायिक खेती हुन थालेपछि तिहार तथा अन्य पर्वमा पनि स्थानीय फुलको प्रयोग बढन थालेको हो । चाडपर्व लगायतको अवसरमा वार्षिक एक करोडभन्दा बढी रुपैयाँ बराबरको माग हुने गरेको सयपत्री फूलको सप्तरीमा पहिलो पटक व्यवसायिक रुपमै खेती सुरु गरिएको छ ।
कञ्चनरुप नगरपालिका–१२ धरमपुरमा तीन जनाले संयुक्त रुपमा डेढ विघा क्षेत्रफलमा सयपत्री फूलको खेती सुरु गरेका हुन् ।
विवाह, व्रतबन्ध तथा चाडपर्वका बेला जिल्लामा आवश्यक पर्ने फूल भारतको सिलिगुडीबाट आयात गर्नुपर्ने बाध्यता थियो । सोही आवश्यकता पूर्ति गर्न व्यवसायिक रुपमै फूल खेती थालेको व्यवसायी दिपककुमार गुप्ता बताउँछन् । उनका अनुसार तीन महिनाअघि मात्रै लगाएको विरुवामा फुलेको फूलबाट यतिवेला दिपावली, भाइटिका र छठ पर्वलाई लक्षित गरी झण्डै ५० हजार माला तयार गरेर राखिएको व्यवसायीहरुले बताएका छन् । एउटा सयपत्री मालाको बजार मुल्य सरदर ५० रुपैयाँ रहेकोले चाडवाडको बेला मात्रै २५ लाख रुपैयाँ बराबरको कारोवार हुने उनीहरुले लक्ष्य लिएका छन् ।
फूल टिपेर सङ्कलन गरी स्थानीय सप्तकोशी कोल्ड स्टोरेजमा भण्डारण गरिएको अर्का सञ्चालक अनिल प्रधानले जानकारी दिए । फूल टिप्ने कार्य लगभग अन्तिम चरणमा पुगिसकेकोले सबभन्दा पहिला सप्तरी जिल्लाको राजविराज, कञ्चनरुप, फत्तेपुर, भारदह, हनुमाननगर, छिन्नमस्ता, बोदेवसाईन, कल्याणपुरसहितका बजारहरुमा माग अनुसारको आपूर्ति गर्ने उनले बताए ।
यसका साथै सुनसरी, उदयपुर, सिरहा, महोत्तरी, धनुषा लगायतका जिल्लाहरुमा पुर्याउने तयारी भईरहेको जानकारी दिँदै प्रधानले भने ‘सबभन्दा पहिला त हामीले जिल्लालाई नै फूलमा आत्म निर्भर बनाउँदै अन्यत्र समेत व्यापार विस्तार गर्नेछौं ।’ सामुहिक सयपत्री खेतीबाट राम्रै आम्दानी भयो भने यसलाई दोब्बर अर्थात तीन बिगहामा पुर्याउने आफुहरुको सोच रहेको अर्का सञ्चालक पिताम्बर कर्णले बताए । आफ्नै देशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँठाउँमा मेहनत गरेर राम्रो आम्दानी कमाउन सकिने बताउँदै उनले भने ‘शिक्षित यूवाहरुले अरुको मुख ताकेर बस्नुभन्दा आफ्नै गाउँटोलको जग्गा भाडामा लिएर पनि विभिन्न व्यवसायिक खेती, पशुपालन इत्यादी गरेर राम्रो आम्दानी कमाउन सकिन्छ ।’ स्वाभिमान यूवाहरुले उच्च आत्मबलकासाथ कुनै पनि काम थाले सफलता निश्चित रहेकोले जिवनको महत्वपूर्ण समय खेर फाल्नु भन्दा संयमित अगाडि बढे सफलता निश्चित रहेको उनीहरुको सुझाव छ ।
सप्तरी जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा दैनिकजसो हज्जारौं रुपैयाँको सयपत्री फूल खपत हुने गर्दछ । यस अतिरिक्त विवाह, व्रतबन्ध, जन्मदिन, वैवाहिक वर्षगाँठ लगायत विभिन्न समारोहहरुमा सयपत्री फूलको माला सजावटकालागि प्रयोग गरिने अनिवार्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *