असार १ अगावै लकडाउन खुल्ने संकेत, गहन परामर्शमा सरकार !

विचार विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, २१ जेठ

उच्चस्तरीय समिति र प्रधानमन्त्री नै अलग अलग छलफलमा

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै लकडाउनको ७२ औं दिनसम्म आइपुदा जनजीवन कोरोनाले भन्दा लकडाउनका कारण सिर्जित समस्याले प्रभावित बनेको भन्दै सरकारलाई लकाडाउन खोल्न ठूलो दबाब परेको छ ।

एकातिर कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भै राखेको छ भने अर्कोतिर लकडाउनलाई अनिश्चितकाल लम्ब्याउने बाहेक सरकारले कोरोना नियन्त्रणमा उदासीन बनेको भन्दै नागरिक तहबाटै राजधानी काठमाडौमा समेत विरोध प्रदर्शन समेत भएको छ । अहिले विरोधको स्वरुप सानो भएपनि लकडाउन निरन्तर कायम रहे नागरिक स्तरबाटै बिरोध हुनसक्ने जोखिम प्रती सरकार पक्कै जानकार छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सरकारको निति तथा कार्यक्रममा लकडाउन कम गर्ने उल्लेख गरेपनि पछिल्ला दिनमा कोरोना संक्रमितको संख्यामा लगातार वृद्धि भएसँगै जेठ ३२ सम्म लकडाउन निरन्तर गर्ने निर्णयमा पुगेका थिए । तर नयाँ आर्थिक वर्षको सुरुवात र पुरानो आर्थिक वर्षको अन्त्यमा समेत आर्थिक गतिविधि ठप्प रहेको र यसरी देश तथा सरकार समेत चल्न कठिन हुने भन्दै आर्थिक गतिविधि ठप्प नपार्न दबाब परेपछि प्रधानमन्त्री ओली पनि लकडाउन क्रमश खुकुलो गर्नुपर्ने पक्षमा रहेको उच्च राजनैतिक स्रोतको दावी छ ।

मंगलबार मात्रै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले पनि लकडाउनको मोडल परिवर्तन गर्ने सन्दर्भमा सिंहदरबारमा निजि क्षेत्रका उद्योगी तथा पेशा व्यवसायका प्रतिनिधि साथै सामाजिक संघ संस्थाका प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव संकलन गरेको थियो । छलफलमा आएका सुझावलाई समेटेर प्रतिवेदन तयार गरी प्रधानमन्त्री बुझाउने उच्चस्तरीय समितिको तयारी छ ।

उक्त छलफलमा सहभागी प्रतिनिधिहरूले अनिश्चितकाल सम्म लकडाउन कायम राख्न भन्दा रेड, एल्लो र ग्रिन जोन छुट्याएर लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समितिलाई सुझाव दिइएको छलफलमा सहभागी प्रतिनिधिहरूले जानकारी दिएका छन् । छलफलमा सहभागी एक प्रतिनिधिका अनुसार ‘जोखिमको तह र क्षेत्रलाई वर्गीकरण गरी विस्तारै लकडाउन खुकुलो बनाउँदै अर्थतन्त्र र जनजीवनलाई सामन्य पार्नतर्फ सरकारले ठोस कदम चाल्नुपर्ने सुझाव’ छलफलमा सहभागी अधिकांश प्रतिनिधिहरूले दिएको जानकारी दिए ।

छलफलको अध्यक्षता गरिरहेका उपप्रधान तथा रक्षामन्त्री एंव उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले स्वास्थ क्षेत्रका विज्ञलगायत सरोकारवाला निकायसँगको गहन छलफलपछि सरकारले उपयुक्त निर्णय गर्ने विश्वास दिलाउँदै सरकार निजिक्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै लकडाउन खुकुलो गर्ने विषयमा प्रधानमन्त्री ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आर्थिक, सामाजिक तथा स्वास्थ क्षेत्रका विज्ञहरूसँग छलफल गर्दै लकडाउन खुकुलो गर्दा हुनसक्ने संक्रमणको जोखिम र लकडाउन निरन्तर गर्दा हुनसक्ने अन्य जोखिमको बारेमा परामर्श गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी विज्ञहरूले समेत कोरोना संक्रमण तथा नियन्त्रणको लागी लकडाउन एउटा विकल्प मात्रै भएकोले त्यसैमा मात्रै भर नपर्न सुझाव दिएको जनाइएको छ ।

यो सँगै ३२ जेठ अगावै लकडाउन खुकुलो हुनसक्ने सम्भावना रहेको उच्च राजनैतिक स्रोतले दावी गरेको छ । दुई जनामा कोरोना संक्रमण हुँदा सुरु भएको लकडाउनकै अवधीमा कोरोना संक्रमितको संख्या २१ सय नाघ्नुले पनि कोरोना नियन्त्रण तथा रोकथाममा लकडाउन मात्रै विकल्प नभएको स्पष्ट हुने भन्दै सरकारको लकडाउनको विकल्प सोच्न बाध्य भएको स्रोतले जानकारी दियो ।

यो सँगै ३२ जेठ अगावै लकडाउन खुकुलो हुने सम्भावना भने रहेको स्पष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *