पहिरोपीडितको पुनर्स्थापना र स्थानान्तरणको कार्ययोजना बनाउन समिति

विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, ३० भदौ

सिन्धुपाल्चोक लगायतका जिल्लामा पहिरोकाे जाेखिम रहेका बस्तीहरुको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनर्स्थापना र आगामी दिनमा जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने समन्वयलगायतका कार्यबारे बृहत् छलफल भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा भर्चुअल माध्यमबाट भएको छलफलमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, भूसंरक्षण तथा आवाससँग सम्बन्धित सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सिन्धुपाल्चोकका जनप्रतिनिधि एवं यी विषयगत क्षेत्रका विज्ञहरुको सहभागिता थियो । छलफलपछि पहिरोपीडितको पुनर्स्थापना र स्थानान्तरणको कार्ययोजना बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्बन्धित सहसचिव, सिंचाइ विभागका उपमहानिर्देशक, वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक, जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सम्बन्धित सहसचिव, सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख, प्रदेश सरकारको सम्बन्धित मन्त्रालयका प्रतिनिधि एवं सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रहका छन् ।

समितिले १५ दिनभित्र जोखिम बस्तीको पहिचान गर्नेछ भने संरक्षण गर्न सकिने बस्तीका लागि संरक्षण सम्बन्धी कार्ययोजना बनाउनेछ । त्यसैगरी, बस्ती स्थानान्तरण गर्नुपर्ने भए सुरक्षित स्थानसहित त्यसको कार्यतालिका र कार्ययोजना पनि प्रस्ताव गर्नेछ । साथै, त्यसका लागि आवश्यक बजेट एवं त्यसको स्रोत, जनशक्ति, विद्यमान कानूनी व्यवस्था र एकीकृत प्राविधिक निर्देशिका पनि तयार गर्नेछ ।
त्यस्तै, समितिले यसका लागि संविधानमा तोकिएको तहगत सरकारको जिम्मेवारीका आधारमा कार्य विभाजन गर्न पनि सिफारिस गर्नेछ । भदौ पहिलो साता मन्त्रिपरिषद्ले हालैका बाढी तथा पहिरोबाट विस्थापित बस्तीको स्थानान्तरणको काम गृह मन्त्रालयको संयोजनमा शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्ने निर्णय गरेकाले त्यसका लागि प्रष्ट कार्ययोजना सम्बन्धमा पनि सुझाव दिनेछ ।
समितिले तयार गरेको यस्तो एकीकृत कार्ययोजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकमा प्रस्तुत हुनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राकृतिक प्रकोपसँग जोडिएका क्षेत्रमा काम गर्ने निकायहरुबीच बृहत समन्वयको आवश्यकता देखिएकोले छलफल आयोजना गरिएको बताए । शहरी बिकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिपद् हेर्ने विभिन्न सरकारी निकाय एवं तहगत सरकारहरु बीच बृह्त समन्वय गर्नु उपर्युक्त हुने धारणा राखे ।

छलफलमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङ, सिन्धुपाल्चोककै जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ र सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालको सहभागिता थियो । उहाँहरुले सिन्धुपाल्चोकमा यस बर्ष प्राकृतिक प्रकोपका कारण भएको क्षतिको जानकारी गराउँदै जोखिम बस्तीहरुको पहिचानका लागि यथाशीघ्र उच्चस्तरीय प्राविधिक टोली परिचालन गर्नुपर्ने बताए। यसका लागि आगामी एक हप्ताभित्र जिल्ला विपद् व्यवस्थापन समितिले सिन्धुपाल्चोकको समग्र अवस्थासहित बस्ती स्थानान्तरणका लागि स्थानीय जनतालाई पायक पर्ने सुरक्षित वैकल्पिक स्थानहरुको पहिचान गरी प्रारम्भिक प्रतिवेदन पेश गर्नेछ ।
छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य ध्रुवप्रसाद शर्मा सहभागी भए। शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक चक्रवर्ती कण्ठ, वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक बद्रिराज ढुंगाना, खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक राजेन्द्र भण्डारीले यी कार्यका लागि आ–आफ्ना निकायको संगठनात्मक, जनशक्ति एवं बजेट अवस्थाबारे जानकारी दिए।

जल तथा मौसम विज्ञान विभागकी बरिष्ठ मौसमविद् अर्चना श्रेष्ठले यो बर्ष हिउँददेखि नै औसतभन्दा बढी पानी परेको जानकारी दिँदै विगत बर्षहरुमा असोजको पहिलो साता बर्षा अन्त्य हुने गरेको भए पनि यो वर्ष केही पछि धकेलिने सम्भावना देखिएकोले सावधान हुने पर्ने बताए ।
छलफल कार्यक्रममा विज्ञहरु डा.तारानिधि भट्टराई, प्रा.मेघराज धिताल, डा.जगत बस्नेत र मधुकर उपाध्यायले यसै बर्ष गएका पहिरोलाई २०७२ को भूकम्पसँग मात्र जोडेर हेर्न नमिल्ने र अबका दिनमा सबै खालका पहिरोको जोखिमबारे अध्ययन गर्न सुझाव दिए। उनीहरुले हरेक स्थानीय तहमा सुरक्षित स्थानको पहिचान गरी जोखिम क्षेत्रको प्राथमिकताअनुसार क्रमशः बस्ती सार्दै जानुपर्ने सुझाव पनि दिए ।
यसअघि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भदौ ८ गते संघीय सरकारका मन्त्रीहरु, प्रदेश मुख्यमन्त्री, जनप्रतिनिधिहरु एवं राष्ट्रिय पुनर्निर्माण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुखहरुको उपस्थितिमा सिन्धुपाल्चोक जिल्लामा बाढी र पहिरोबाट विस्थापितहरुलाई अस्थाई बसोबासको व्यवस्था, जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन र सुरक्षित स्थानमा स्थायी स्थानान्तरणका लागि उच्चस्तरीय छलफल भएको थियो ।

त्यसअघि, भदौ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘देशका विभिन्न भागमा बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुलाई यथाशीघ्र सुरक्षित स्थानमा स्थानन्तरणको कार्य सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्ने । सोको समन्वय गृह मन्त्रालयले गर्ने ।’ निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *