कोभिडको बीचमा सलह

अर्थ/वाणिज्य विचार विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, १४ असार

एकातिर आज विश्व कोभिड १९ कोरोना भाइरसको कारण आक्रान्त भइरहेको छ । अर्कोतिर दक्षिण एशियाका विभिन्न मुलुकमा सलह आएर बाली नष्ट पार्ने क्रम पनि जारी रहेको छ । त्यसमा पनि गत असार १३ गते शनिबार हाम्रो देशका विभिन्न जिल्लाहरुमा पनि सलह देखा परेका कारण कृषकहरु आँटिएको स्थिति छ ।

कोभिड १९ का कारण अन्य ब्यापार ब्यवसाय केही गर्न नपाएपछि बाध्य भएर कृषि क्षेत्रलाई प्राथमिकता दिएर अन्न उत्पादनतिर लागेर आत्मनिर्भर बन्न गइरहेका हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरु आफ्नो बालीलाई समूल नष्ट गर्न सक्ने यी फटेंग्रा जातिको कीरा सलहका कारण कतिको नोक्सान गर्ने हुन् भनी आकलन गर्न थालेका छन् । आजभन्दा ६५ वर्ष अगाडि पनि एकपल्ट उपत्यकाको गोदावरी तथा काठमाडौंका केही क्षेत्रहरुमा यी सलहका कारण बाली नष्ट पारेका थिए। खास गरी आफ्नो तौल दुई ग्राम बराबर बाली नष्ट गर्न सक्ने यी कीराले बालीमा बस्न पुगेपछि पात र डाँठ समेत नष्ट गर्ने भएकाले खतरनाक छ ।

यसपाली भारतका विभिन्न स्थानहरुमा आजभन्दा दुई महिना पहिले नै यी सलहको प्रभाव देखा परेको थियो । त्यो बेलामा नै नेपालमा पनि यो वर्ष सलहको प्रभाव बढ्न सक्ने अनुमान भने गरिसकेकै थियो । त्यसैले पनि नेपाल सरकारको तर्फबाट उच्चस्तरीय अध्ययन टोली नै गठन गरी अध्ययन गरी त्यसको प्रभाव नेपालमा नपर्ने भनी एउटा प्रतिवेदन तयार गरेको थियो । तर शनिबार आएको सहलको कारण प्रतिवेदन फेल भएको छ । नेपालमा पसेका सलहका कारण अहिले नै यति नोक्सान भयो, उति नोक्सान भयो भनी कुनै तथ्यांक निस्केको छैन । भारतबाट लाखौं करोडौैंको संख्यामा यता उता जाने क्रममा हजारौंको संख्यामा मात्रै सलह नेपालभित्र प्रवेश गरेको हुनसक्ने अनुमान गरेको छ । नेपालमा बैज्ञानिक अध्ययन पर्याप्त नभएकाले र सीमित स्रोत र साधनको आधारमा अध्ययन गर्नुपर्ने बाध्यताका कारण अध्ययनहरु परिपक्व हुन नसकेको धेरै उदाहरणहरु छन् । सो क्रममा यो समय भारतमा देखा परिसकेको उक्त सलहको प्रकोप नेपाल भित्रन सक्ने अनुमान पनि त्यसैगरी अपरिपक्व देखापर्ने गरेको छ । यस्ता किराहरु विभिन्न चरणमा हुर्कने बढ्ने र बच्चा बेला झन् खन्चुवा भएर धेरै बाली नोक्सान गर्न सक्ने बैज्ञानिकहरुको मत छ ।

अत्यन्तै तागतिलो हुने भएकाले मानिसहरुले यी सलहहरुलाई पक्रने र बेच्ने पनि गरेका छन् । भारतमा बोराका बोरा सलह पक्रेर ब्यापार पनि सञ्चालन गरिरहेको समाचार प्रकाशमा आएको छ । नेपालमा पनि एउटा स्थानीय निकायबाट सलह पक्राऊ गरी बेच्यो भने एक किलो बराबर बीस रुपैयाँ राहत दिने घोषणा गरिसकेको छ । यस हिसावले अत्यन्तै भिटामिन भएको र दाना बनाएर बेच्न पनि सकिने यी सलहलाई बेलुकी बालीमा बास बस्ने बखत पक्राऊ गर्ने पनि थाहा भएको छ । पानी पर्दा, अँध्याराृे छँदा र हावा चल्ने बेला वा अत्यन्तै ठूलो आवाज आउने बखत उनीहरु एक स्थानबाट अर्को स्थानमा सर्छन् । जब उड्ने गर्दछ, उनीहरुलाई पक्राऊ गर्न सकिन्न । यी सलहहरु बास बसेको स्थानबाट पक्राऊ गरी बोरोका बोरा भुटेर खाने, बेचिदिने वा मासुको रुपमा उपभोग गर्ने हो । कीरा नै भएपनि यो उपयोगी बदमास कीरा हो । बाली नष्ट गर्ने नै यो किराको प्रमुख विशेषता हो ।

उनीहरुलाई जाली फिजाएर पनि पक्रन सकिन्छ । ठूल ठूलो स्वरले कराएर वा धुँवा निकाली धपाउन सकिन्छ । बेमौसमि खेती गर्ने बखत धेरै जसो यी कीराहरु रहन सक्ने भएकाले बालीमा जाली राख्ने वा अन्य कुनै पनि सुरक्षाको विधि अबलम्वन गर्नु आवश्यक छ । उनीहरुलाई मार्नै पर्ने भएमा विभिन्न खालका विषादीको पनि प्रयोग गरिन्छ । तर विषादी प्रयोग गरी मारेका सलहको मासु खानु हुन्न । भारतका विभिन्न स्थानहरुमा हाल हेलिकोप्टर, ड्रोन वा गाडीबाट पनि ठूलो क्षेत्रमा विषादी छरेर बालीलाई सहलबाट बचाउने उपायहरु अपनाउने गरेका छन् । मानव वस्ती र खानेपानी रहेका स्थानहरुमा विषादीबाट बच्ने उपाय अपनाएर संवेदनशील क्षेत्रमा विशेष साबधानी अपनाएर काम गर्न सकेको खण्डमा यो कीराबाट बच्न सकिन्छ । कृषकहरुको लागि अत्यन्तै शत्रु यो बाली नोक्सानी गर्ने सलहलाई पैसाठी वर्ष अगाडि बोराका बोरा पक्राउ गरी खाएका थियौं भन्ने जमात अहिले पनि जिउँदै छन् । यो वर्ष भने पाकिस्तान र भारतका विभिन्न स्थान भएर बाटो बिराएर मात्रै यिनीहरु नेपाल प्रवेश गरेको हुन सक्ने अनुमान गरेको छ । गर्मी वा सुक्खा मौसम हुने बखत सलहले बढी दुःख दिने गर्दछ । त्यसो भनेको यस्तो बखत उनीहरु अत्यन्तै सक्रिय भएर एक स्थानबाट अर्को स्थानमा बसाई सर्दै बाली नष्ट गर्ने गर्दछन् । विश्वमा जलवायु परिवर्तनका कारण तापमान बढी हुने र गर्मी मौसममा यिनीहरु बढी सक्रिय हुने गर्दछन् । हाल नेपालमा मनसुन शुरु भइसकेको छ । यही कारण यहाँ सलहको प्रकोप हुँदैन भन्ने प्रतिवेदन तयार भएको थियो । तर त्यसो भएन । बारा, पर्सा, रुपन्देही र सर्लाही जस्ता तराईका जिल्लाहरुको केही भागमा शनिबार देखा परेका यी सलहहरु भारततिर फर्के वा फेरि पनि नेपाल भित्रिएर अन्य जिल्लामा पनि देखा पर्ने हुन् यो हेर्न बाँकी छ ।

मरुभूमिमा पाइने यो कीरा जातिको प्राणी सलहहरु करोडौं करोडको संख्यामा आकाशमा उड्ने गर्दछन् । अनि बाली जहाँ जहाँ हरियो भयो त्यतातिर रहने गर्दछन् । बाली पूर्णरुपमा नष्ट गरिदिने गर्दछन् । यही विशेषताका कारण कृषकहरु डराउनु परेको हो । अण्डा, लार्भा वा प्यूपा अथवा पूर्ण बयस्क अवस्था मध्ये लार्भा अवस्थामा भने झन् बढी पात खाएर नोक्सान गर्न सक्षम हुने गर्दछन् । त्यसैले पनि हाल नेपालका धेरै भूमिमा हरियो धान लगाइसकेको अवस्थामा यसले नोक्सान पर्न सक्ने पूर्व अनुमान गर्ने गरेको हो । एकै दिन दुई हजार पाँच सय मानिसले खाएको खाना सरह सलहले बालीमा हरियो पात र डाँठ नोक्सान पार्न सक्ने भएकाले पनि यो कृषक वर्षको लागि जातीय सत्रु नै हो । यी कीराहरु आएको भनेको अन्य रैनाथे कीराहरु जस्तो होइन ।

यिनीहरु मरुभूमि क्षेत्र रहेका देशहरु अफगानीस्तान, इरान, इराकबाट भारत र पाकिस्नान भएर नेपाल भित्रिएका हुन् । कोभिड १९ को महामारीको कारण जनता आक्रान्त भइरहेको यही घडीमा पुनः कृषि उत्पादनलाई समूल नष्ट बनाउन सक्ने सलहको प्रकोप नेपालमा भित्रियो भने यो जस्तो दुर्भाग्य अरु के पो होला र ? त्यसैले समयमै सावधानी अपनाएर यो सलह नियन्त्रणका उपयुक्त उपायबारे समयमै छलफल गरी ज्ञान प्राप्त गर्नु आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *