न्यूज अपडेट संवाददाता
भक्तपुर, ५ जेठ
नेपाल मजदुर किसान पार्टी ९ वडा समितिको प्रथम सम्मेलन शनिवार सम्पन्न भएको छ । उक्त सम्मेलनबाट कृष्णभक्त लवजुको अध्यक्षतामा १७ सदस्यीय ९ वडा समिति निर्विरोध निर्वाचित भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमति प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले नयाँ नेतृत्वले नयाँ पुस्तालाई बाटो देखाउनुपर्नेमा जोड दिए । उनले आलोचना, आत्मालोचना, समीक्षा, सिंहावलोकन कम्युनिष्ट पार्टीको हतियार बताउँदै कमी कमजोरीसँग कहिल्यै डराउन नहुने र गल्ती वा कमजोरीलाई निरुपण गर्नुपर्ने बताए ।
उनले कामदार वर्गको हकहितमा पार्टी स्थापना गर्नु निकै चुनौतीपूर्ण भएपनि सहर्ष स्वीकार गरी बहुसंख्यक जनताको पक्षमा निरन्तर संघर्ष गर्ने बताए । उनले समाजवाद र पूँजीवादको द्वन्द अमेरिकाले मचाएको बताउँदै अमेरिकाले शान्ति नचाहेको बताए । वेइमानी गर्नुलाई राजनीति नभन्ने भन्दै उनले नेपालमा सत्तासिन पार्टीहरु बेइमानी कार्यलाई उत्साहित पारेको बताए । निरन्तर संघर्ष गरे समाजवाद ल्याउन असम्भव नभएको उनको भनाइ छ ।
शुभकामना मन्तव्य दिँदै पार्टी के्रन्द्रीय सदस्य एवं ९ वडा अध्यक्ष रवीन्द्र ज्याख्वले दिमागलाई बलियो, धारिलो र अब्बल बनाउन सम्मेलनको महत्व हुने बताउँदै पार्टीले विगतमा किसान र मजदुरको जीवनस्तर उकास्न गरेको कार्यको मूल्यांकन गर्दै पार्टी अगाडि बढेको स्पष्ट पारे । उनले अहिलोको पुस्तालाई विगतका पार्टी कार्यकर्ताको योगदानबारे जानकारी दिनुपर्ने र उनीहरुको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । पार्टीले राम्रो संस्कार सिकाएकै कारण पार्टी राम्रो बनेको बताउँदै उनले अबको नयाँ पुस्तालाई राम्रै संस्कार आवश्यक भएको बताए ।
केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभा सदस्य सृजना सैंजुले चीन र अमेरिकाबीच व्यापार युद्ध र अर्थतन्त्रबारे तुलनात्मक प्रस्तुती दिँदै अमेरिकाले चीनको विकासलाई पछि पार्न नसकेको बताए । उनले अमेरिकाले अर्थतन्त्रको राजनीति गरेपनि चीनले विचारको राजनीति गरेकै कारण अगाडि बढेको बताए । उनले अमेरिकी साम्राज्यवाद पटनको संघारमा पुगेको बताउँदै चीनले लिएको विचारको युद्धकै कारण विश्वमै अघि बढेको बताए ।
पार्टी नगर समितिका अध्यक्ष नारायण बहादुर दुवालले सांगठनिक संरचनाबारे स्पष्ट पार्दै जनताको सेवा गर्दा व्यक्तिगत रुपमा नोक्सान हुनसक्ने बताए । उनले माक्र्सवाद, लेनिनबाद र माओत्सेतुङ विचारधारा अनुसार पार्टी अगाडि बढ्ने भएकाले नियमित अध्ययनको आवश्यकता रहेको बताए । भक्तपुरका हरेक क्षेत्रको विकास राजनीतिक चेतनास्तरकै कारण भएको बताउँदै उनले पार्टीले लिएको विचार र सिद्धान्त सबैबीच पुर्याउनुपर्ने बताए ।
नेक्रामहिला संघ ९ वडाका अध्यक्ष एवं भक्तपुर नगरपालिकाको कार्यपालिका सदस्य छोरीमैया सुजखुले नेमकिपाले गरेको कामहरुबारे जानकारी दिँदै कामदार वर्गको हकहितमा सधै समर्पित रहेको बताए ।
नेक्राशिसंघको केन्द्रीय अध्यक्ष एवं ९ वडा पार्टी समितिका उपाध्यक्ष ज्ञानसागर प्रजापतिले पार्टीको विधान, सिद्धान्त र विचारमा अदान कायम गर्न सके मात्र पार्टी रहने बताए । उनले जनतालाई राजनीतिक चेतना दिएर मात्रै भोट मागेको बताउँदै देशलाई स्पष्ट बाटो देखाउने काम नेमकिपाले गरेको स्पष्ट पारे । साथै सरकारमा जाने पार्टीहरुमा सैद्धान्तिक पटन भएको औंल्याउँदै नेमकिपाका कार्यकर्तामा सैद्धान्तिक विचलन नआएको स्पष्ट पारे ।
आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामेश्वरी कोजु, अन्जु ग्वाछा, नातिभाइ ह्योम्बालगायतले बोलेको थियो ।
कार्यक्रमको दोस्रो चरणमा प्रशिक्षण दिँदै पार्टी केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले सडक र सदनमा पार्टीले गरेको संघर्षबारे स्पष्ट पार्दै देशैभर युवा विद्यार्थी पुग्नुपर्ने र वास्तविक सन्देश पुर्याएर पार्टीको विस्तार गर्नुपर्नेमा जोड दिए । देशमा नेमकिपा नरहे देशै नरहने दावी गर्दै सरकारलाई हरेक कुरामा प्रतिपक्षको भूमिकामा काम गरिरहेको बताए ।
त्यस्तै केन्द्रीय समितिका सदस्य एवं भक्तपुर नगर पालिकाका प्रमुख सुनिल प्रजापतिले कम्युनिष्टका गुणहरुको बारेमा स्पष्ट पार्दै पार्टी अनुशासनमा सबै पार्टी सदस्य बस्नुपर्ने बताए । व्यक्तिगत स्वार्थ र साम्प्रदायिकताभन्दा माथि उठेर देश र जनताका कुरामा पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । राजनीतिक रुपमा सचेत र अध्ययनशील व्यक्ति कहिल्यै विचलित नहुने बताउँदै उनले अन्य पार्टीमा तुरुन्तै विचलन आएको बताए ।