इब्राहिम रायसीः ५ वर्षमा बाबु गुमाए, सरकारी वकिल हुँदै राष्ट्रपति बने

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ७ जेठ

इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । अजरबैजानमा बाँध उद्घाटन गरेर फर्किने क्रममा उनी सवार हेलिकप्टर दुर्घटना भएको हो ।

एक्कासी मौसम खराब भएपछि आकस्मिक अवतरणका क्रममा हेलिकप्टर दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

को हुन् इब्राहिम रैसी ?

इब्राहिम रैसीको जन्म सन् १९६० डिसेम्बर १४ मा भएको थियो । इरानको मसहदमा जन्मिएका उनी न्यायालय प्रमुख हुँदै मुलुकको राष्ट्रपतिसम्म भए । रैसी मुस्लिम समुदायको सिया समुदायको धार्मिक केन्द्र रहेको स्थानमा जन्मिएका थिए ।

धर्मगुरुको परिवारमा जन्मिएका उनले शिक्षाको सुरूवात १९७५ बाट गरे । रैसीले धार्मिक शिक्षा नै लिएका थिए । इरानको सहर कोममा पढेका उनी विद्रोही चेतका थिए । इरानीहरू मोहम्मद रेजा पहल्वीको शासनबाट असन्तुष्ट रहेको समयमा उनीविरुद्ध विद्रोहको तयारी भइरहेको थियो । यसको नेतृत्व रूअल्लाह खोमिनीले गरेका थिए ।

इब्राहिम रैसी उनको विचारधारमा सहमत हुँदै विद्रोहमा सक्रिय थिए । सन् १९७८-७९ सम्म सत्ता परिवर्तनको लागि भएको अभियानमा रैसी सक्रिय भए । त्यस अभियानले  रेजालाई सत्ताच्यूत गरायो भने इरानमा  खोमेनीको विचारधारामा आधारित राज्यप्रणालीको उदय भयो ।

इरानी क्रान्तिपछि इरानमा धेरै चुनौती आइपरेको थियो । सत्ताच्यूत भएका रेजाका समूहले विभिन्न चुनौती पेश गरेका थिए । त्यसैबेला इराकसँग समेत इरानको तिक्तता बढेको थियो । आन्तरिक प्रतिपक्षबाट आइपरेका चुनौती व्यहोर्न रैसीले आफूलाई इरानको प्रशासनमा केन्द्रित गर्न खोजे । विभिन्न चरणको तालिम पश्चात उनी सरकारी वकिल कार्यालयमा प्रवेश गरे ।

६ वर्षसम्म सरकारी वकिलका रूपमा उनले विभिन्न प्रान्तमा काम गरेका थिए । सन् १९८५ मा उनी मुलुकको उप-अभियोजक बने । सने १९८८ मा इरान र इराकको युद्ध थप चर्कियो । खोमेनीले हजारौँ राजनीतिक बन्दीलाई सफाएको आदेशको दिए । राजनीतिक बन्दीहरूले इराकलाई सहयोग गर्दै मुलुकप्रति गद्दारी गरेको वा नगरेको यकिनका लागि रैसीको नेतृत्वमा समिति गठन भएको थियो ।

सन् १९८९ मा  अलि खामेनी इरानको नेता भएसँगै रैसीको बढुवाको क्रम सुरु भयो । इरानी न्यायिक प्रणालीमा उनी न्यायाधीश हुँदै मुख्य न्यायाधीशसम्म भए । सन् २००९ मा राष्ट्रपतीय निर्वाचनलाई लिएर इरानमा भएको अशान्ति साम्य पार्न रैसीले महत्वपूर्ण भुमिका समेत निर्वाह गरेका थिए ।

सन् २०१६ मा रैसी इरानको ठूलो परोपकारी संस्था अलि अल रिदाको संरक्षक भए । यो संस्थासँग अर्बौंको सम्पत्ति थियो । धर्मगुरु परिवारबाट आएका रैसीले अब विस्तारै व्यापारी समुदायसँग सम्बन्ध विस्तारको अवसर पाउन थाले ।

रैसीले आफ्नो छवि सिद्धान्तनिष्ठ र भ्रष्टाचारविरोधीका रूपमा बनाएका थिए । सन् २०१७ मा उनले हसन रुहानी विरुद्ध राष्ट्रपतीय निर्वाचनमा लड्ने उद्घोष गरे । रूहानीले आणविक हतियार सम्बन्धमा  इरानको हितविपरीतको सम्झौता गरेको आरोप उनले लगाएका थिए । त्यस निर्वाचनमा भलै उनले रूहानीलाई जित्न सकेनन् । तर उनले ३८  प्रतिशत मत भने पाएका थिए । आफ्नो  लोकप्रियताका आधारमा रैसी राजनीतिमा थप सक्रिय भए । आणविक सम्झौताको एकवर्षपछि अमेरिकाले इरानलाई प्रतिबन्ध लगायो । त्यसपछि संकटमा परेको इरानमा धेरैले रैसीलाई रूचाउन थाले ।

रैसीलाइ रूचाउनुको कारणले उनले सरकारी भ्रष्टाचारविरुद्ध चालेका कदमहरु प्रमुख थिए । सन् २०१९ मा न्यायालयको प्रमुख हुने वित्तिकै उनले सरकारी भ्रष्टाचारका मुद्दालाई प्राथामिकता थिए । उनले सरकारी उच्च तहका कर्मचारीदेखि त्यसमा संलग्न व्यापारीहरूलाई न्यायिक दायरामा ल्याए ।

सन् २०२१ मा  रैसी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार भए । उनले आफूलाई भ्रष्टाचारविरोधीका रूपमा चित्रित्र गरिरहे । उनले इरानी हितविपरीत गएर कुनैपनि सम्झौता नहुने अडान लिइरहे । त्यस निर्वाचनमा उनले बाजी मारे ।

राष्ट्रपतीय शासन कालमा उनी आलोचनारहित भने हुन सकेनन् । कोरोना महामारीको समयमा महामारी नियन्त्रणमा भन्दा सत्ता जोगाउन रक्षातर्फको खर्च बढाएको भन्दै उनको आलोचना भयो । उनले कुनैपनि आर्थिक सहुलियतको नीति अघि नसारेको भन्दै आलोचना भएको थियो । उनको शासनकालमा इरानमा महँगी निकै बढेको  थियो भने पानीको हाहाकार समेत भएको थियो ।

आणविक कार्यक्रमबारेको वृहत सम्झौतामा नरम भएको अवस्थामा रैसी प्रशासनलाई केही राहत हुन सक्थ्यो । तर त्यसमा कठोर हुँदै रैसी प्रशासनले चीनसँगको सम्बन्धलाई बढावा दियो । चीनकै पहलमा इरान र साउदी अरबबीचको सम्बन्ध सुधारमा पहल भयो ।

रैसीको शासनकालमा नागरिकमाथि सेन्सरसिप र निगरानी बढेको थियो । महिला तथा जातीय अल्पसंख्यकहरुविरुद्ध दमन बढेको थियो । कुर्दिस महिलाहरुविरुद्ध प्रहरी निकै कठोर भएको थियो ।

हिजाब नलाएको भन्दै जिना मासा अमिनीलाई प्रहरीले मारेपछि इरानमा ठूलै आन्दोलन चर्कियो । आफ्नो सत्तालाइ नै अप्ठ्यारो पार्नेगरी महिला आन्दोलन चर्किएपछि रैसीले विदेशीको इसारामा आन्दोलन चर्काएको आरोप लगाएका थिए ।

भ्रष्टाचारप्रति कठोर रैसीले सुशानका अन्य पक्षमा भने खासै ध्यान दिएका थिएनन् । पश्चिमा गठबन्धनप्रति कठोर रैसी वैकल्पिक गठबन्धन बनाउन समेत सक्रिय थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *