घरबेटीले पीसीआर रिपोर्ट मागेपछि टेकु अस्पतालमा भीड

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १० असार

1592916388teku_vid.jpg
 टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काेराेना भाइरस परीक्षणका लागि लामबद्ध सर्वसाधारण।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनदेखि भीड बढेको छ। राजधानीबाहिरबाट आएका सर्वसाधारण पीसीआर परीक्षणका लागि अस्पताल जान थालेपछि भीड बढेको हो।

पीसीआर रिपोर्ट माग्न भन्दै परीक्षणका लागि दैनिक चार सयभन्दा बढी आउने गरेको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए।

उनीहरुमध्ये धेरैको गुनासो हुन्छ घरबेटीले कोरोना परीक्षणको रिपोर्ट मागे। लकडाउन खुकुलो भएसँगै बाहिरी जिल्लाबाट उपत्यका आउने मानिसको संख्या बढेको छ।

उनका अनुसार अस्पताल पुग्नेमध्ये ९० प्रतिशतलाई पीसीआर परीक्षण आवश्यक छैन। केही आफैं शंका गरेर पनि परीक्षणका लागि पुग्ने गरेका छन्।

धेरैजसोलाई अस्पतालले पीसीआर आवश्यक नपर्ने भनी रिपोर्ट तयार गरिदिएको डा. बास्तोलाले बताए। कतिपयलाई भने परीक्षण आवश्यक नभएको परामर्श दिइएको छ।

धादिङका रामेश्वर घरबेटीले रिपोर्ट मागेपछि टेकु अस्पतालमा पीसीआर परीक्षणका लागि पुगेका थिए। ‘लकडाउन अवधिमा घरबाहिर गएको छैन, न त संक्रमितको सम्पर्कमा छु तर पनि घरबेटीले परीक्षणको रिपोर्ट मागिरहन्छन् अनि आएको हुँ’, उनले भने।

काभ्रेकी प्रतिमा गत आइतबार काठमाडौं आइन्। घरबेटीले रिपोर्ट मागेपछि लगातार दुई दिनसम्म टेकु अस्पताल पुगिन्। अघिल्लो दिन उनलाई परामर्श दिएर घर पठाइयो। घरबेटीले रिपोर्ट मागेपछि उनी पुनः अस्पताल पुगेकी थिइन्। प्रतिमा न त कुनै संक्रमितको सम्पर्कमा थिइन् न त उनको कुनै ट्राभल हिस्ट्री नै।

आफूलाई परीक्षण गर्न नपर्ने जान्दाजान्दै पनि घरबेटीका कारण अस्पताल आउनुपरेको गुनासो उनको थियो।

कोरोनाको पीसीआर परीक्षण गराइदिन आग्रह गर्दै टेकु अस्पताल पुग्नेको भीड बढेपछि अस्पतालले प्रभावित क्षेत्रबाहेक र शंकास्पद बाहेकका मानिसलाई परीक्षणका लागि नआउन आग्रह गरेको छ।

लक्षण नै नभएका र प्रभावित जिल्ला वा संक्रमितको सम्पर्कमा नआएका समेत अस्पताल पुगेपछि अस्पतालले ओपिडी टिकटमै पीसीआर आवश्यक नपर्ने भनेरे पठाइदिन थालेको छ।

सरकारले कोरोना परीक्षणका लागि निश्चित मापदण्ड बनाएर निर्देशिका सार्वजनिक गरिसकेको छ। निर्देशिकाअनुसार आइसोलेसनमा रहेका, प्रभावित क्षेत्रबाट आएका, संक्रमितको सम्पर्कमा रहेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, शल्यक्रिया गर्नुपर्ने बिरामीलाई प्राथमिकतामा राखिएको छ।

क्वारेन्टिनमा रहेका, संक्रमित भए पनि लक्षण नदेखिएकालाई समेत एक पटकभन्दा धेरै परीक्षण नगर्ने नीति लिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाँदा कोरोना परीक्षणको रिपोर्ट देखाउन आवश्यक नरहेको बताउँदै आएको छ। तर स्थानीय सरकार, स्थानीय बासिन्दा तथा घरबेटीले अर्को जिल्लाबाट आउँदा पीसीआर परीक्षणको रिपोर्ट माग्न थालेपछि अस्पतालमा भीड बढेकाे छ।

अस्पताल नै संक्रमणको स्रोत बन्न सक्छ

अस्पतालमा कोरोना परीक्षण गर्न पुग्नेको संख्या दिनानुदिन बढ्दै गएको छ। प्रवक्ता डा. बास्तोला भन्छन्, ‘अस्पताल नै संक्रमणको स्रोत बन्न सक्छ। अस्पतालमाा अन्य कारणले पुग्ने बिरामीबाट संक्रमणको जोखिम हुन सक्छ। अन्य अन्य बिरामीमा संक्रमण रहेछ भने उनीमध्ये कुनै व्यक्ति संक्रमित भएमा अस्पतालको वातावरण संक्रमित हुन सक्छ।’

बिरामी र स्वास्थ्यकर्मीले मास्कको प्रयोग नगर्दा, वार्डमा इन्फेक्सन प्रिभेन्सन कन्ट्रोलको व्यवस्थापन नगरिँदा, पीपीई लगायतका व्यवस्था नहुँदा र अस्पतालमा डिसइन्फेक्सनको व्यवस्था छैन भने संक्रमण हुन्छ।

अस्पताल मात्र नभई सबैभन्दा पहिला व्यक्ति स्वयं जिम्मेवारी हुनुपर्ने डा. बास्तोला बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *