इलाम-२ मा ५८ र बझाङमा–१ मा ५० प्रतिशत मतदान

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

इलाम, १५ बैशाख

इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् ।

मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ ।

 त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी गरेका छौं’, प्रजिअ यादवले भने ।

भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्रका रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ । इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ ।

मतपेटिकाको ढुवानी ढिलो भएमा आइतबार मतगणना गर्ने तयारी छ ।

बझाङमा–१ मा ५० प्रतिशत मतदान, आइतबार मतगणना

बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा शनिबार भएको उपनिर्वाचनमा करिब आधा मतदाताले मतदान गरेका छन् ।

अपरान्ह ५ बजे सकिएको मतदानमा ३० हजार ३०० भन्दा बढीले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केही मतदान केन्द्रबाट विवरण नआएकाले यकिन संख्या पत्ता लागेको छैन ।

यद्यपि प्रारम्भिक विवरणमा ४९.१२ प्रतिशतले मतदान गरेको विवरण आएको कार्यालय स्रोतको भनाइ छ ।

यहाँ आइतबार मात्र मतगणना गर्ने तयारी छ । विकट क्षेत्रमा रहेको सैपाल गाउँपालिकाको मतपेटिका आइतबार हेलिकप्टरबाट ल्याइनेछ । त्यसपछि मात्र मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *