हाटबजारका तरकारीको पनि विषादी अवशेष परीक्षण

समाचार स्वास्थ्य

खस्यौली, ९ मङ्सिर


रुपन्देहीमा स्थानीय हाटबजारमा आउने तरकारी तथा फलफूलको समेत विषादी अवशेषको परीक्षण हुनथालेको छ । केही महीनादेखि बुटवल र भैरहवाको हाटबजारमा आउने तरकारीको विषादीको अवशेष परीक्षण भइरहेको विषादी अवशेष द्रूत एकाइ विश्लेषणका प्रमुख तथा बाली विकास अधिकृत रामबहादुर खत्रीले जानकारी दिए ।

उनले तरकारी उत्पादन क्षेत्रबाट समेत नमूना परीक्षण गर्न लागेको उल्लेख गर्दै जनशक्तिको व्यवस्थापन नहुँदा केही कठिनाइ आएको बताए । “बेमौसमी र हिउँदे उत्पादनमा सबैभन्दा बढी विषादीको प्रयोग देखिएको र परीक्षण भएका नमूनामा ३४ प्रतिशतमा केही न केही विषादीको अवशेष देखिएको छ”, बाली विकास अधिकृत खत्रीले भने ।

उनले एक वर्षको अवधिमा परीक्षण भएका नमूना परीक्षणमध्ये लौका, भान्टा र भेँडेखुर्सानी प्रयोग गर्न अयोग्य देखिएको जानकारी दिँदै फलफूलमा केरा र आँपमा पकाउनका लागि प्रतिबन्धित रसायन प्रयोग गरेको पाइएकाले नष्ट गरिएको बताए । खासगरी बालीनालीमा प्रयोग हुने कीटनाशक औषधिको पर्खनुपर्ने समयलाई ध्यान नदिँदा किसान मारमा परेका छन् ।

बुटवलमा भारत, चितवन, धादिङ, हेटाैडा, पाल्पा, सल्यानबाट तरकारी बुटवल भित्रिने गर्छ भने फलफूल भारत र चीनबाट आउने गर्छ । बुटवल कृषि थोक सञ्चालक समितिका अध्यक्ष कलाधर पन्थीले विषादी अवशेषको परीक्षण हुन थालेपछि कृषक सचेत भएको उल्लेख गर्दै विषादी प्रयोगको मात्रा बढी भेटिएमा नष्ट गर्ने काम भएको बताए । बुटवलमा दैनिक रु दुई करोड बराबरको ४०० देखि ४५० टन तरकारी तथा फलफूल भित्रिने गर्छ ।

‘फोटो स्पोक्टोमिटर’ नामक प्रविधिको प्रयोग गरेर तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गरिन्छ । एउटा उत्पादनको नमूना परीक्षण गर्न रु ४०० देखि रु ५०० खर्च हुने बताइएको छ । सरकारले एउटा प्रदेशका लागि एउटा शहरमा विषादीको अवशेष परीक्षण गर्ने प्रयोगशाला स्थापनाको लक्ष्य लिएपछि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा यो परीक्षण विसं २०७४ भदौमा स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *