एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित 

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, ३२ जेठ

 एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक फेरि स्थगित 

अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज ४ बजेका लागि बोलाएको सचिवालय बैठक फेरि स्थगित गरेको छ । यसअघि बोलाइएको सचिवालय बैठक पनि स्थगित गरिएको थियो ।

नेकपाले गत २७ गते पनि सचिवालय बैठक आह्वान गरेको थियो । अमेरिकी अनुदान सहायता प्रस्ताव मिलेनियम च्लालेन्ज कम्प्याक्ट (एमसीसी) नै मुख्य कार्यसूची बनाइएको त्यस दिनको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।  सदनमा संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाले बैठक सार्नुपरेको बालुवाटार स्रोतले बताएको थियो । तर अहिले किन बैठक स्थगित गरियो भन्ने बारेमा केही बताइएको छैन ।

“आज बोलाइएको सचिवालय बैठक स्थगित भयो,” नेकपा सचिवालय सदस्य झलनाथ खनालले बाह्रखरीसँग भने, “खोइ प्रधानमन्त्री बिरामी भएर हो कि किन हो बैठक स्थगित गरिएछ  । कारण केही खुलाइएको छैन । अहिले बैठक स्थगित गर्नुपर्ने कुनै कारण देखिँदैन ।”

परियोजना लागु गर्नुपर्ने समय नजिकिँदै जाँदा एमसीसी संसद्ले अनुमोदन गर्ने कि नगर्ने भन्ने विवाद छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि नै पारित गर्न ध्यानाकर्षण गराइसकेको छ । कांग्रेस सरकारको पालामा (२०७४ भदौ २९ गते) अनुदान सम्झौतामा हस्ताक्षर भएकाले यो सरकारले एमसीसी बिनासर्त पास गर्नुपर्ने उसको मत छ । पूर्ववर्ती सरकारले गरेका निर्णय सरकारले कार्यान्वयन गर्नुपर्ने कांग्रेसको धारणा रहिआएको छ ।

सत्तारूढ दल नेकपा भने विभाजित भएको छ । सचिवालयमै मतैक्य छैन । स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा एमसीसीका केही प्रावधान र एमसीसीसँग सम्बन्धित पूरक सम्झौताहरू असमान, राष्ट्रहित विपरीत रहेको निष्कर्ष निकाल्दै जस्ताको तस्तै पास गर्न नहुने मत बलियो भएको थियो ।
उता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने पछिल्लो दिनमा प्रधानमन्त्रीलाई केही धपेडी भएको हुनाले आजको बैठक स्थगित गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *