डब्ल्यूएचओबाट बाहिरिने ब्राजिलको चेतावनी

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, २४ जेठ

Image Not Found

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट बाहिरिने चेतावनी दिएका छन् । कोरोना भाइरस संक्रमितको संख्यामा ब्राजिलले इटलीलाई उछिनेपछि शुक्रवार उनले यस्तो चेतावनी दिएका हुन् ।

कोरोना भाइरसले जनस्वास्थ्यमा पारेको जोखिमले आर्थिक क्षतिलाई उछिनेको भन्दै उनले भर्खरै मात्रै लकडाउन खुकुलो पारेका थिए । सो कदममा डब्ल्यूएचओले असहमति जनाएको थियो । डब्ल्यूएचओले यस्तै व्यवहार गरिरह्यो भने ब्राजिल डब्लुएचओबाट बाहिरिनु पर्ने स्थिति आउने बोल्सोनारोको भनाइ छ ।

राजनीतिक प्रभावमा परेर डब्लुएचओले त्यस्तै खालको भूमिका खेल्न लागेको आरोप पनि उनले लगाएका छन् । लकडाउन खुकुलो पारेपछि ब्राजिलमा कोरोना भाइरस संक्रमितहरुको संख्या अत्यधिक बढेको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको थियो ।

डब्लुएचओले सामाजिक दूरी कायम राख्ने कुरालाई बढी ख्याल गर्न पनि ब्राजिललाई आग्रह गरेको थियो । तर यस विषयमा राष्ट्रपति बोल्सोनारोले लामो समयदेखि असहमति जनाउँदै आएका थिए ।

यस्तै असहमति र फरक मतका कारण उनले तत्कालिन स्वास्थ्य मन्त्रीलाई पनि बर्खास्त गरेका थिए । मन्त्रीले लकडाउनको पक्षमा रहेपनि बोल्सोनारोले भने लकडाउन लगाउन नहुने अडानमा थिए ।

लकडाउन खुकुलो बनाएसँगै संक्रमितको संख्या बढेर ब्राजिल अमेरिकापछि दोस्रो धेरै संक्रमित भएको देशमा बनेको छ । ब्राजिलमा अहिलेसम्म संक्रमितको संख्या करीब साढे ६ लाख पुगेको छ भने ३५ हजार ४७ जनाको मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै संक्रमित रहेको र मानवीय क्षति भएको अमेरिकाले भने यस अघि नै डब्ल्यूएचओको सदस्यता त्याग्दै उसलाई दिँदै आएको सहयोग कटौती गरेको छ । अमेरिकी निर्णयको केही हप्तापछि ब्राजिलले पनि उस्तै चेतावनी दिएपछि यसले विश्वभर तरंग सृजना गरेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *