देशभरका सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १३ असाेज

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या हरेक दिन बढ्दो क्रममा छ। पछिल्ला दिनमा औसत रुपमा एक हजारभन्दा बढी संक्रमित देखिन थालेका छन्।

देशभर संक्रमितको अवस्था हेर्दा संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाका तीन जिल्लामा देखिन थालेका छन्।

स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार देशभर भेटिएका १ हजार ३५१  संक्रमितमध्ये ८१७ संक्रमित काठमाडौं उपत्यका मात्र थिए।

यसरी हेर्दा सोमबारसम्म देशभर रहेका १९ हजार ६२४ संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी अर्थात् १० हजार ४२८ जना सक्रिय सक्रिय संक्रमित काठमाडौं उपत्यकामा रहेका छन्।

मृत्युको हिसाबमा पनि उपत्यकाका तीन जिल्लामा १३४ जना संक्रमितको मृत्यु भएको छ। उपत्यकामा संक्रमितको जिल्लागत अवस्था हेर्दा काठमाडौं जिल्लामा सबैभन्दा बढी संक्रमित छन्।

काठमाडौंमा हालसम्म पुष्टि भएका १८ हजार १३० संक्रमितमध्ये अहिले ८ हजार ४५९ सक्रिय संक्रमित छन्। हालसम्म ९२ जना संक्रमितको मृत्यु भएको छ भने ९ हजार ५७९ संक्रमित निको भएका छन्।

ललितपुरमा अहिलेसम्म २ हजार २३२ संक्रमित पुष्टि भएकामध्ये हाल १ हजार ५० जना सक्रिय संक्रमित छन् भने २१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ललितपुरमा १ हजार १६१ जना संक्रमित निको भइसकेका छन्।

भक्तपुरमा हाल ९१९ संक्रमित संक्रमित रहेका छन्। हालसम्म २१ जना संक्रमितको मृत्यु भएको भक्तपुरमा हालसम्म भेटिएका १ हजार ९६४ संक्रमितमध्ये १०२४ संक्रमित निको भइसकेका छन्।

देशभर ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामध्ये उपत्यका तीन जिल्ला पनि हुन्।   ती बाहेक मोरङमा ९५१, सिरहामा ६६४, चितवनमा ७१० र रुपन्देहीमा ७७४ सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा संक्रमितको संख्या बढ्न थालेको बताउँदै थप सर्तक हुनुपर्ने बताएका छन्।

उनले उपत्यकामा देखिएका संक्रमितमध्ये सबैभन्दा बढी फ्रन्टलाइन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, बैंक तथा फाइनान्स कम्पनीको काउन्टरमा काम गर्ने व्यक्तिमा संक्रमण धेरै देखिएको जानकारी दिए।

उनले भने, ‘६० वर्ष उमेर पुगेका, क्यान्सर, उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका रोगी, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु घरबाट बाहिर ननिस्कनुहोला। निस्कनै परेमा अनिवार्य मास्क लगाउन, २ मिटरको दूरी कायम गर्न र घरमा फर्केपछि राम्रोसँग साबुनपानीले हात धुन नबिर्सनुहोला।’

उनले सानो कामले घर बाहिर निस्कँदा ठूलो रोग लिएर फर्कने जोखिम बढी भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरे।

देशभरको हालसम्म पुष्टि भएका ७४ हजार ७४५ संक्रमितमध्ये ५४ हजार ६४० संक्रमित निको भइसकेका छन्। मुस्ताङ, मनाङ, मुगु, डोल्पा र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *