प्रहरी समाचार

समाचार

 ६३औं प्रहरी दिवस २०७५ का अवसरमा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं, १३ असोज

६३औं प्रहरी दिवस २०७५ का अवसरमा प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईको प्रमुख आतिथ्यमा शनिबार नारायणचौर नक्साल क्षेत्रको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नारायणचौर आसपासको झारपात, फोहर सरसफाई गरियो । सशस्त्र प्रहरी गण नं. १ नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र नक्साल, हिमाल अस्पतालले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेको हो ।

सरसफाई कार्यमा वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू, स्थानीय नागरिक, विभिन्न स्कूलका विद्यार्थीहरु, विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ 

सिन्धुपाल्चोक, १३ असोज

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पाँचपोखरी थाङपाल गाउँपालिका-४ कोटगाँउ बस्ने २२ वर्षीय बासुदेव वाईबालाई प्रहरीले पक्राउ गरेको छ । वाईबाले शनिबार सोही ठाउँको धानबारीमा ५५ वर्षीया मनमाया तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको खवर प्राप्त भएपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 जुवातास खेल्ने पक्राउ 

काठमाडौं, १३ असोज

भक्तपुर र झापामा जुवा तास खेल्ने २३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर मध्यपुरठिमी नगरपालिका-७ नगदेश बस्ने साबित्री श्रेष्ठको चिया पसलमा जुवातास खेलिरहेका १४ जनालाई नगद ९४ हजार ७ सय ३० रुपैयाँ र २ बुक तास सहित महानगरीय प्रहरी बृत्त ठिमीको प्रहरीले पक्राउ गरेको छ ।

झापा भद्रपुर नगरपालिका-१० स्थित खरखरे होटलमा जुवातास खेलिरहेका सोही नगरपालिका-७ बस्ने ५७ वर्षीय शिव चौधरी सहित ९ जनालाई नगद १ लाख ३९ हजार ७ सय ७० रुपैयाँ र ३ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

काठमाडौं, १३ असोज

जवरजस्ती करणी गरेको अभियोगमा सुनसरी र ओखलढुंगाबाट १/१ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी धरान उपमहानगरपालिका-६ पानमारी सिमलचोक बस्ने १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा केरावारी गाउँपालिका-५ देवीटार बस्ने २७ वर्षीय अशु कामीलाई प्रहरीले पक्राउ गरेको छ । कामीले बालिकालाई जवरजस्ती करणी गरेको भन्ने पीडित परिवारको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगा सुनकोशी गाउँपालिका-७ केउरीनी बस्ने ३६ वर्षीय पुरुषलाई  प्रहरीले पक्राउ गरेको छ । अभियुक्तले छोरीलाई जवरजस्ती करणी गरी भागेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सोही ठाउँस्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 अवैध मरिच र मोवाइल सहित पक्राउ 

धनुषा, १३ असोज

नगराईन नगरपालिका-९ घोडघाँसस्थित बजारबाट ज.१ ज ३९१ नम्बरको जिपमा अवैध रूपमा ल्याएको मरिच १ हजार ५ सय किलो र विभिन्न कम्पनीका मोवाइल ५ सय थान सहित जीप चालक  जनकपुर उपमहानगरपालिका -१ बस्ने २५ वर्षीय सुजित कुमार कापरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 सवारी दुर्घटनामा मृत्यु तथा घाइते 

काठमाडौं, १३ असोज

सिन्धुली, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) धादिङ, ओखलढुंगा, कपिलबस्तु, उदयपुर र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

सिन्धुली सुनकोशी गाउँपालिका-७ निगाले कामिडाँडास्थित मजुवा-कानढुङग्री कच्ची सडकमा ना.५ त ६५३१ नम्बरको ट्याक्टरमा सवार सोही गाउँपालिका-६ बस्ने ४५ वर्षीया तारा देबी दर्लामीको शनिबार ट्याक्टरबाट खस्दा चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका-१६ पतरेखोला नजिक ना.६ ख ७७१९ नम्बरको ट्रक र ना.७ ख ५६२९ नम्बरको बस शनिबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार चालक बाँके कोहलपुर नगरपालिका-४ बस्ने २३ वर्षीय सुरज बिक र कपिलवस्तु बाणगंगा नगरपालिका-२ बस्ने २४ वर्षीय लक्ष्मण थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको कालीगण्डकी अस्पताल कावासोतीमा उपचारको क्रममा मृत्यु भएको हो । बसमा सवार अन्य ३१ जना घाइते भएकाले ११ जनालाई मेडिकल कलेज भरतपुर चितवन, १८ जनालाई कालीगण्डकी अस्पताल कावासोती र २ जनालाई मध्यबिन्दु अस्पताल कावासोतीमा पठाइएको छ । फरार ट्रक चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

धादिङ गजुरी गाउँपालिका-२ मझुवा डाँडास्थित सडकमा शनिबार हाल नाम, थर, वतन नखुलेका अंदाजी ३५ वर्षीय पुरुष नम्बर नखुलेको सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला परेका छन् । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

ओखलढुंगा मानेभञ्जयाङ गाउँपालिका-१ मोलीने पानेस्थित भित्री सडकमा को.२ त ४६८० नम्बरको ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय दशरथ राईको शुक्रबार ट्याक्टरबाट खस्दा घटनास्थमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

            कपिलवस्तु बाणगंगा नगरपालिका-४ स्थित राजमार्गमा लु.१ख ६७९२ नम्बरको ट्रकले लु.३७ प ९२५० नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिंदा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका-१० बस्ने १९ वर्षीय मोहन काउछा र कंचन गाउँपालिका-५ बस्ने १७ वर्षीय निश्चल थापा गम्भीर घाइते भएकोले उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा निश्चल थापाको मृत्यु भएको छ । मोहन काउछालाई थप उपचारको लागि क्रिमसन अस्पताल बुटवल लगिएको छ ।  ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदपयुर चौदण्डीगढी नगरपालिका-३ स्थित रामपुर-फत्तेपुर सडक खण्डमा को.१९ प ६१६८ नम्बरको मोटरसाइकल शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ४० वर्षीय आशिष चौधरी गम्भीर घाइते भएकोले फत्तेपुर मोडल अस्पतालबाट थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा  बाटोमै मृत्यु भएको छ ।

धनुषा कमला नगरपालिका-५ लक्कडस्थित कमला नदीको बाँधमा शुक्रबार ज.१ त ७९४५ नम्बरको ट्याक्टरमा सवार सोही नगरपालिका-६ सखुवा मडान बस्ने ६० वर्षीया मुकुनदेबी साह ट्याक्टरबाट लड्दा गम्भीर घाइते भएकीले उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार ट्याकटर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

 घर माथिबाट खसेर तथा सटरले लागेर मृत्यु 

काठमाडौं, १३ असोज

काठमाडौं, भक्तपुर र झापामा शुक्रबार काम गर्ने क्रममा घर माथिबाट जमिनमा खसेर तथा सटरले लागेर ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं तारकेश्वर नगरपालिका-५ स्थित घरमा प्लाष्टर गर्ने क्रममा खसेर झापा दुर्गापुर गाउँपालिका-७ का ३५ वर्षीय श्याम मुर्मुको मृत्यु भएको छ । कृष्णहरि फुयाँलको घरमा प्लाष्टर गर्ने क्रममा ३ तलामाथिबाट खसेर गम्भीर घाइते भएका श्यामको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमीला शाक्यको घरको झ्यालको शिसा सफा गर्ने क्रममा जमीनमा खसेर मृत्यु भएको छ । शनिबार आफ्नै पाँचतले घरको झ्यालको शिसा सफा गर्ने क्रममा जमीनमा खसेर गम्भीर घाइते भएकी शाक्यको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा भद्रपुर नगरपालिका-६ गिरी चोक बस्ने ४० वर्षीय निर्मल चौधरीको सटरले टाउकोमा ठोकिएर मृत्यु भएको छ । आफ्नै दाजुको फर्निचर पसलको सटर उठाउने क्रममा सटर अनब्यालेन्स भई टाउकोमा ठोकिदा गम्भीर घाइते भएका चौधरीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 माटोको ढिस्कोले पुरिएर मृत्यु तथा घाइते 

म्याग्दी, १३ असोज

घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर बेनी नगरपालिका-२ ज्याम्रुकोट बस्ने ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको छ । ढिस्कोले पुरिएर अन्य ३ जना घाइते भएका छन् ।

सोही ठाउँस्थित छेटारमा शुक्रबार माटो खन्ने क्रममा ढिस्कोले पुरिएका उनीहरुलाई स्थानीय बासिन्दाले उद्धार गरी उपचारको लागि धौलागिरी अंचल अस्पताल बाग्लुङ पठाएकोमा उपचारको क्रममा कल्पनाको मृत्यु भएको हो ।

घाइतेमध्ये सोही ठाउँ बस्ने २३ वर्षीया सृजना थापा र बाग्लुङ नगरपालिका-५ मालिका बस्ने २४ वर्षीया निशा सापकोटालाई थप उपचारको लागि मनिपाल अस्पताल पोखरा पठाइएको छ भने ५० वर्षीया देबकुमारी घिमिरे उपचार पश्चात घर फिर्ता भएकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 करेन्ट लागेर मृत्यु 

कास्की, १३ असोज

माछापुच्छ्रे गाउँपालिका-१ भराभुरे बस्ने १२ वर्षीय राकेश पुनको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार चङ्गा उडाउने क्रममा चङ्गा बिद्युतको पोलमा अड्किएकोले निकाल्न पोलमा चढेको अवस्थामा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 मृत अवस्थामा फेला 

काठमाडौं, १३ असोज

कालीकोट, सिराहा, कास्की, पर्सा र मकवानपुरमा गरी ५ जना मृत अवस्थामा फेला परेका छन् । मृत फेला परेकामध्ये ३ जनाको सनाखत हुन सकेको छैन ।

कालीकोट रास्कोट नगरपालिका-५ स्थित लडेखोलाको जंगलमा सोही नगरपालिका-१ बस्ने २६ वर्षीय निरबहादुर शाही शनिबार मृत अबस्थामा फेला परेका छन् ।

सिराहा कल्याणपुर नगरपलिका–७ भेडिया बस्ने १८ वर्षीया शोभाकुमारी साह कलवार आप्mनै घरमा शनिबार मृत अबस्थामा फेला परेकी छिन् ।

कास्की पोखरा महानरपालिका-२६ बुढीबजारस्थित सिसौको रुखमुनी जोगीको भेषमा रहेका हाल नाम, थर, वतन नखुलेका अंदाजी ६५ वर्षीय पुरुष शनिबार मृत अबस्थामा फेला परेका छन् ।

पर्सा ठोरी गाउँपालिका-३ सिकारीबास भन्ने ठाउँमा हाल नाम, थर, वतन नखुलेकी अंदाजी ५५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

मकवानपुर बाग्मती गाउँपालिका-१ स्थित बाग्मती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अंदाजी ४० वर्षीय पुरुषको शव सडेगलेको अवस्थामा शनिबार फेला परेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोतः केन्द्रीय प्रहरी समाचार कक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *