लकडाउन र निषेधाज्ञाका कारण साना व्यवसायीको उठीबास, ७ प्रतिशत बढीले छाडे पसल कवल

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेटकाठमाडाैं, २९ भदाै

करिव ७ महिनाअघि विश्वभर फैलिएको कोरोना भाइरसको महामारी र यसले विश्वभर निम्त्याएको लकडाउनका कारण विश्वकै अर्थतन्त्र प्रभावित बनेको छ । कोरोनाले नेपालको अर्थतन्त्रमा पनि गम्भीर असर पुर्याएको छ । चैतदेखि यताको नियमित लकडाउन निषेधाज्ञाका कारण सानादेखि ठूला व्यवसायीसम्म प्रभावित बनेका छन् ।

लकडाउनका कारण थोरै पूँजीमा सानो व्यवसाय सञ्चालन गरेर परिवारको जीविका चलाउनेहरु सबैभन्दा बढी प्रभावित बनेका छन् । लकडाउन र निषेधाज्ञाका कारण लामो समय व्यवसाय सञ्चालन गर्न नपाउँदा सटर भाडामा लिएर तथा ठेलामा विभिन्न व्यवसाय सञ्चालन गर्ने साना व्यवसायीहरुको उठीबास भएको राष्ट्रिय व्यवसायी महासंघले बताएको छ ।

लकडाउन र निषेधाज्ञाका कारणे सबैभन्दा ठूलो असर साना व्यवसायी व्यवसायीलाई परेको महासंघ बताउँछ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेयता सबै व्यवसायहरु बन्द भए । व्यवासय बन्द भएपछि उपभोक्ताले चाहिनेजति अर्थात आफूलाई आवश्यक पर्ने बस्तु पनि खरिद गर्न सकेनन् ।

दैनिक खाद्यबस्तुको व्यवसाय केही मात्रामा सञ्चालनमा आएपनि अरु व्यवसाय भने पूरै बन्द हुँदा सामान सटरमै रहन गयो भने घरधनीले घरभाडामा छूट दिने कुरा गरेनन् । यस्तो अवस्थामा अत्यावश्यक सेवाका पसलहरुबाहेक सबै सटर भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीहरु मारमा परेको महासंघको भनाइ छ ।

यसरी व्यापार नभएर आजित भएका व्यवसायीहरुलाई बैंकले कर्जाको किस्ता र ब्याज बुझाउन र घरधनीले घरभाडा बुझाउन ताकेता गर्दा झन अप्ठ्यारो आइलाग्यो । सोहीअनुसार निषेधाज्ञा र लकडाउनको अवधिमा मात्रै करिव ७ प्रतिशत बढी व्यवसायीले आफ्ना व्यापारिक सटर बेचिसकेका राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।

उनका अनुसार पछिल्लो समय कतिपय व्यवसायीहरु निरन्तरको लकडाउन र निषेधाज्ञाले सृजित बन्दबाटै आजित भएर व्यवसाय विक्रीका लागि राखेका छन् भने कतिपयले व्यवसाय विक्री गरिसकेका छन् ।

अझ लकडाउन भन्दा पनि पछिल्लो पल्ट थपिएको निषेधाज्ञाका कारण धेरै व्यवसायीहरुले आफ्नो व्यवसायबाट सन्यास लिँदै सटर बेच्ने गरेको शौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । उनका अनुसार पछिल्लो समय कतिपय व्यवसायीले आफ्ना पसल कवल छोड्दा सिमेन्ट, छडको व्यापार पनि ह्वात्तै घटेको छ ।

‘धेरै साथीहरुले लकडाउन र निषेधाज्ञाकै बीच आफ्ना व्यवसाय बेच्ने, छाड्ने गर्नुभएको छ,’ उनले भने, ‘त्यसैले हाल डन्डी, रड, सिमेन्टलगायतको अर्डरसमेत कम आउन थालेको छ ।’

साथै कोरोना महामारीकै कारण नेपाल प्रवेशका विभिन्न नाकामा मालवस्तुका गाडीहरु रोकिएका छन् । जसका कारण बजारको मागअनुसार मालवस्तुसमेत पसलमा राख्न नपाईएपछि व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कटुवाल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *