खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले कसरी चलाइरहेका छन् अर्थमन्त्रालय?

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २८ भदाै

डा. युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थमन्त्रीको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालिरहेका छन्।

ढुकुटीको तालाचाबी लिएर बस्ने अर्थमा दैनिक राजस्व संकलनदेखि रकम निकासासम्मको दबाब रहन्छ। त्यो बाहेक अर्थतन्त्रका विभिन्न आयामहरुका बारेमा समेत अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ भने दैनिक ठूला रकम निकासा गर्नुपर्ने दायित्व हुन्छ।

कोभिड-१९ नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञाका कारण स्रोतमा पनि ठूलो दबाब छ। त्यसैले पनि अहिले अर्थमन्त्रीको भूमिका अझै प्रभावकारी हुनुपर्ने देखिएको छ।

खतिवडाले राजीनामा दिएपछि कसरी अर्थमन्त्रालय चलिरहेको छ ? स्रोतका अनुसार अहिले अर्थबाट हुने दैनिक काम कारवाहीको ब्रिफिङ प्रधानमन्त्री ओलीलाई गरिन्छ। नीतिगत निर्णयका लागि भने अर्थसचिव शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी र सहसचिवहरु फाइल बोकेर बालुवाटार नै गएर सदर गराउँछन्।

सचिव ढुंगाना आवश्यकता अनुसार दैनिक बालुवाटार जाने गरेका छन्। ‘हामीले प्रधानमन्त्रीज्यूलाई नै अर्थमन्त्रालयको काम कारवाहीको बारेमा जानकारी गराइरहेका छौं। अर्थतन्त्रका बारेमा जानकार रहनुभएकाले हामीलाई काम गर्न सहज छ,’ उनले भने, ‘हामीले खासै धेरै ब्रिफिङ गर्नु नै पर्दैन।’

प्रधानमन्त्रीले कमान्ड सम्हाले पनि बजेटमा उल्लेख भएका कार्यक्रम कार्यान्वयनमा भने चुनौती छ। अर्थमन्त्रीको अभावमा कोभिडबाट प्रभावित उद्योग व्यवसायका लागि ल्याइएको ५० अर्बको कोषको कार्यविधिको टुंगो अझै लागेको छैन। बजेटमा विनियोजित पुँजीगत खर्च बढाउन आवश्यक रणनीति बनाउने लगायतका छलफल पनि अगाडि बढ्न सकेको छैन।

त्यो बाहेक कोभिडकै कारण राजस्व संकलनमा समेत प्रभावित बनेको छ। दुई महिना सकिन लाग्दा करिब एक खर्ब मात्रै राजस्व संकलन भएको छ भने अहिलेसम्म ५३ अर्ब ७४ करोड रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

‘प्रधानमन्त्रीले धेरैतिर हेर्नुपर्छ। आफ्नै पार्टीभित्रको राजनीतिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले अर्थ मन्त्रालय अन्तर्गतको राजस्व, खर्चदेखि व्यवसायीका मुद्दासम्म सम्बोधन गर्न सक्ने अवस्था हुँदैन,’ अर्थमन्त्रालयमै काम गरेका एक पूर्व प्रशासकले भने, ‘पार्टीभित्रको राजनीतिक व्यवस्थापन नभइन्जेलका लागि केही समयका लागि मात्रै प्रधानमन्त्रीले हेर्नु ठीकै हो। अब धेरै समय यसरी राख्नु उपयुक्त हुँदैन। र, यस्तो संकटपूर्ण समयमा यसरी नै राखिरहनु आत्मघाती समेत हुनेछ।’

सञ्चार पनि बालुवाटारबाटै

खतिवडाको राजीनामापछि प्रधानमन्त्रीले सूचना मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका छन्। यो मन्त्रालय पनि बालुवाटारबाटै सञ्चालन हुने गरेको छ।

सञ्चार सचिव हरिप्रसाद बस्याल पनि फाइल बोकेर बालुवाटार नै धाउने गरेका छन्। दैनिक गर्नुपर्ने निर्णय र फाइल बोकेर उनी बालुवाटार नै जाने गरेको स्रोतले बतायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *