निषेधाज्ञाबीच एमसीसी पारित गर्ने निर्णय जनभावना रोक्ने सत्तासीनको चाल

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २८ भदाै

शुक्रबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले अमेरिकी सहस्राब्दी चुनौती परियोजना(एमसीसी) पारित गर्ने निर्णय गर्‍यो । एमसीसी पारित गर्ने निर्णय गर्नुअघि नेकपाले आफ्ना नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा ‘मनपरी लेख्न’ मनाही गर्‍यो । एमसीसीसम्बन्धी निर्णयको नेकपाभित्रै ठूलो सङ्ख्यामा नेता कार्यकर्ताबाट हुने विरोध रोक्न सामाजिक सञ्जालमा पार्टीको विरोधमा लेख्न नपाइने नियम पहिल्यै पारित गरेर उसले ‘आत्मरक्षा’ गरेको प्रस्ट छ । एमसीसी पारित गर्ने पार्टी निर्णयको विरोधमा सामाजिक सञ्जालमा लेख्ने वा टिप्पणी गर्ने नेता–कार्यकर्तालाई ‘अनुशासनहीन’ को बिल्ला लगाएर कारबाही गर्ने हतियार सुरक्षित गरेर पार्टीका नेताहरूले यस्तो निर्णय गरेका छन् ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि झण्डै देशैभरि निषेधाज्ञा लागू रहेको अवस्थामा सरकारले एमसीसी जस्तो विवादास्पद सम्झौता पारित गर्ने निर्णय गर्नुले नेकपा एमसीसीप्रति जनताको असहमतिको चर्को आवाज सुन्न चाहँदैन भन्नेमा प्रस्ट छ । यो परियोजनाको विरोधमा सार्वजनिक प्रदर्शन र सभा गर्न नसकिने अवस्थामा यस्तो निर्णय आफैमा जालसाझी हो ।

महामारीकै कारण यतिबेला संसद् बन्द छ । संसदीय समितिका बैठकहरू पनि हुन सकेका छैनन् । कहीँकतै सार्वजनिक सभा सम्मेलन वा गोष्ठी हुनसक्ने अवस्था छैन । यस्तो प्रतिकूल परिस्थितिमा एमसीसी पारित गर्ने निर्णय गर्नु सत्तारुढ दल वैचारिक बहसबाट भाग्न खोजिरहेको प्रस्ट छ । देशको दीर्घकालीन भविष्यसँग गाँसिएको यो परियोजनाको विषयमा नेकपाभित्रै र बाहिर पनि व्यापक छलफल अझ विस्तार गरी जनतासामु सत्यतथ्य ल्याउने प्रक्रियाबाट सत्तारुढ दल डराएको देखिन्छ ।

एमसीसी अमेरिकी सैनिक रणनीतिकै हिस्सा हो । यो सत्यलाई बङ्ग्याएर प्रस्तुत गरिएका सबै तर्कहरू झूटा साबित भएका छन् । एमसीसीकै दस्तावेजहरूमा समेत स्पष्ट शब्दमा यो परियोजना सैन्य रणनीतिकै हिस्सा भएको प्रस्ट उल्लेख छ । तथापि, गोयबल्सका केही शिष्यहरू अझै पनि विकास र समृद्धिको भजन गाउँदै अमेरिकी डलरप्रतिको आशक्ति पोख्ने गरेका छन् ।

नेकपामा कतिपय नेताहरूले एमसीसीको विरोध पनि मन्त्री पदको सौदाबाजीको लागि प्रयोग गर्दै गरेको चर्चा यसअघि पनि चलेको थियो । मन्त्रीमण्डल पुनःगठनको चर्चा उछालेर पार्टीबाट एकमतले एमसीसी पारित गर्नुको अर्थ हिजो एमसीसीको विरोधमा चर्को बोल्ने नेताहरूले मन्त्री पदमा आफूलाई बेचेको आशङ्का स्वाभाविक हो । बैठकको विषयमा अधिकांश सञ्चारमाध्यमले नेकपाको महाधिवेशनबारे बढ्ता प्राथमिकता दिएर एमसीसी पारित गर्ने निर्णय ओझेलमा पार्न खोजेका छन् । एमसीसी पारित गर्नु देशको हितमा भएको पक्षमा देशका केही ‘बिग मिडिया’को आक्रामक प्रचारबाजी सर्वविदित कुरा हो । ती मिडियाहरूले एमसीसीबारे नेकपाको निर्णय छायामा पारेर अन्य आन्तरिक खिचातानीका गौण कुरालाई बढी ध्यान दिइरहेका छन् । सत्तारुढ दल, प्रमुख प्रतिपक्ष, ठूला मिडिया, कथित बुद्धिजीवी सबैको मिलिभगतमा आज एमसीसीलाई नेपाली जनताको भावनाविपरीत लाद्ने प्रक्रिया अघि बढेको छनक पाउन सकिन्छ । स्रोतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *