निषेधाज्ञा अझै एक हप्ता लम्बिने, काठमाडौं उपत्यकामा अहिलेकै प्रावधान जारी रहने

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १३ असार

कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर जारी निषेधाज्ञा अझै थपिने भएको छ। काठमाडौं उपत्यकाका ३ जिल्लासहित देशका ७५ जिल्लामा जारी निषेधाज्ञा अझै (कम्तीमा पनि) १ हप्ता थपिने भएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय संक्रमण दर घट्दै गएकाले केही जिल्लामा निषेधाज्ञा खुकुलो गर्ने तयारी छ। तर, पूर्ण रुपमा खुला भने हुनेछैन। सार्वजनिक सवारीका साधन, मन्दिर (भक्तजनहरुको दर्शन तथा पूजा), सिनेमा हल, पार्टी प्यालेस, समारोह तथा सभाहरुमा लगाइएको प्रतिबन्ध कायमै रहने जनाइएको छ।

सार्वजनिक यातायातका साधन सञ्चालनका लागि व्यवसायीहरुले ध्यानाकर्षण गराउँदै आएको भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘आग्रहअनुसार’ तत्कालै सार्वजनिक यातायातका साधन सञ्चालन गर्न नसकिने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

‘निषेधाज्ञा जारी रहने वा हटाउने विषयमा निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नै छ। तर, हामीले रिर्पोटिङ गर्ने र आवश्यक सुझाव दिने गरिरहेका छौं,’ गृह मन्त्रालयका ती अधिकारीले भने, ‘अहिलेसम्म प्राप्त रिपोर्टका आधारमा निषेधाज्ञा हट्ने भन्ने अवस्था छैन। हाल लागू भएका जिल्लामा निषेधाज्ञा जारी नै रहन्छ। केही जिल्लामा खुकुलो हुनसक्छ।’

काठमाडौं उपत्यकामा पछिल्लोपटक पुनः एक साताका लागि निषेधाज्ञा थपिएको थियो। पछिल्लो पटक निजी सवारीका साधनहरु जोरबिजोरमा सञ्चालन गर्ने गरी निषेधाज्ञा जारी राखिएको छ। सवारीका साधनहरु जोरबिजोरमा सञ्चालन गर्दा पनि संक्रमणको जोखिम बढ्नेसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन अनुरोध गर्दै आएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अहिलेकै अवस्थामा पुनः एक साताका लागि निषेधाज्ञा जारी रहनसक्ने जानकारी दिए। निषेधाज्ञाका विषयमा निर्णय गर्न आइतबार तीनवटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको प्रजिअ निरौलाले जानकारी दिए।

सार्वजनिक सवारीका साधन पनि सञ्चालन गर्नुपर्ने भनेर यातायात व्यवसायी माग गर्दै आएपनि अहिलेकै अवस्थामा सार्वजनिक यातायातलाई खुला गर्न नसकिने प्रजिअ निरौलाको भनाइ छ।

काठमाडौं उपत्यकामा पछिल्लो पटक एक हप्ताका लागि थपिएको निषेधाज्ञाको अवधि असार १४ गते सकिँदैछ। त्यसअघि नै आइतबारको बैठकले निषेधाज्ञा लम्ब्याउनेबारे निर्णय लिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *