उपत्यकामा जोरविजोर लागू, सार्वजनिक यातायात पनि चल्ने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २४ भदाै

यातायातमा जोरविजोर, व्यवसायमा बार तोकियो

तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् । निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ । सार्वजनिक सवारी  साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ । मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन  । पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा निश्चित बार  मात्र खोल्न पाइने व्यवस्था गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको  बताए । उनले भने, ‘अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व हो ।’

भदौ ४ गतेदेखि लगातार दुई हप्ता अत्यावश्यक सेवामात्र सञ्चालन गर्न दिइएको काठमाडौं उपत्यकामा भदौ १७ गतेदेखि २४ गतेसम्म भने टेक अवे, होम डेलिभरी र निर्माण सामग्रीका पसल पनि सञ्चालन गर्न दिइएको थियो ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई थप फैलिनबाट रोक्न भन्दै प्रमुख जिल्ला अधिकारीहरुले नागरिकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएका थिए । तर निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको दिन भदौ २४ गते काठमाडौं उपत्यकामा ४६४ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा मात्र ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ संक्रमित भेटिएका छन् ।

रोगबाट जोगाउन भन्दै सरकारले मानिसलाई काम गर्नसमेत जान नदिई घरभित्रै सीमित गर्दा कमाइ खाने वर्ग भोकभोकै पर्ने स्थिति आएको भन्दै विरोध हुँदै आएको थियो । त्यस्तै उद्योगी व्यापारीले पनि कोरोना स्वास्थ्य सावधानी अपनाएर व्यवसाय खोल्न नदिए अर्थतन्त्र जटिल मोडमा पुग्ने भन्दै निषेधाज्ञामा पुनर्विचार गर्न आग्रह गर्दै आएका थिए ।

हेर्नुहोस् काठमाडौं जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञाको आदेशको पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *