भक्तपुर नपाको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ९ असार


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको बाह्रौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको   छ । सभामा नगर प्रमुख प्रजापतिले नीति तथा कार्यक्रममाथि छलफलमा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै सभाबाट आएका सुझावहरु सकारात्मक रहेको बताए ।

उनले हनुमन्ते खोला र कासाङ खोला तथा विभिन्न घाटहरूको सुधार गर्न प्रयासरत रहेको बताउँदै हनुमानघाट सुधारको गुरुयोजना तयार भइसकेको बताए । प्रमुख प्रजापतिले सम्पदा पुनःनिर्माण र संरक्षण आफैमा एउटा विकास भएको बताउँदै ‘हाम्रो सम्पदा नै हाम्रो सम्पत्ति’ हो र नगरका ऐतिहासिक पोखरी जीर्णोद्धार र संरक्षणले नगरको सौन्दर्यलाई अभिवृद्धि गरेको बताए ।

नीति तथा कार्यक्रममाथि भएको छलफलमा सभासद् हरिरत्न गोर्खाली, इन्द्रबहादुर प्याठ, मन्जुमैंया लाखा र श्यामसुन्दर मातांले पुरानो नगरभित्र बन्ने निजी घरहरुलाई मौलिक शैलीमा पुनःनिर्माण गर्न जोड दिनुपर्ने, बहुउद्देश्यीय सहकारी संस्थाहरु बन्द गरिनुपर्ने, नगर प्रवेश गर्ने नाकाहरुमा हरियाली व्यवस्थापन गर्नुपर्ने, सामुदायिक विद्यालयहरुमा ईसीडीको कोटा थप गर्नुपर्ने, सहिद स्मृति खेलमैदानलाई कभर्ड हल बनाउनुपर्नेलगायतका धारणा राखे ।


त्यस्तै सभासद् कृष्णगोपाल चौगुठीले, कृष्णनारायण दुमरु, हेरा ख्याजु, पुरुषोत्तम तमखू, नारायणप्रसाद त्वानाबासु, सूर्यप्रसाद श्रेष्ठ र गोविन्द दुवालले हनुमन्त्ते खोला सुधारमा विशेष योजनाहरु आवश्यक भएको, नगरकोटको खानेपानी स्रोत संरक्षणको लागि पहल गर्नुपर्ने, वडा वडामा वधशाला निर्माण गर्ने नीति अगाडि सार्नुपर्ने, कृषकहरुको लागि सहुलियत दरमा ऋणको व्यवस्था मिलाउनुपर्ने, गोरखनाथ मन्दिर संरक्षण गर्नुपर्ने, शारीरिक व्यायामशालालाई स्तरोन्नति, मर्मत सम्भार गर्नुपर्ने, रसायनिक मल समयमै उपलब्ध गराउन पहल गर्नुपर्ने, अरनिको सभाभवन पुनःनिर्माणमा जोड दिनुपर्ने बताए ।

नगरसभाको अर्को बैठक असार १० गते शुक्रबार बिहान ७ः३० बजे बस्नेगरी स्थगित भयो भने सो बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०७९/८० को बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी गराए ।

भक्तपुर नगरपालिकाको बाह्रौं नगरसभाबाट पारित भक्तपुर नगरपालिकाको (आ.व. २०७९/८०) नीति तथा कार्यक्रम) का केही महत्वपूर्ण बुँदाहरु:
– ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्दै जाने र यस आर्थिक वर्षमा विश्वविद्यालय सञ्चालन गर्न विज्ञहरूको टोली गठन गरी आवश्यक तयारी गरिनेछ । वर्तमान शिक्षामन्त्रीले नगरपालिकाबाट सर्वसाधारण जनताको १५ लाख रुपैयाँमा एमबीबीएसको अध्यापन गराउन लिखित पत्र नपठाएको भनी विधेयक पारित गर्न विलम्ब गरेकोले विश्वविद्यालय विधेयक पारित गर्न विशेष पहल गरिनेछ ।
– भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार केन्द्रहरूलाई थप व्यवस्थित र स्तरीय सेवा प्रदान गर्दै वडा—वडामा विस्तार गर्दै लगिनेछ । शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेका विद्यालयहरूलाई प्रोत्साहित गर्न अनुदानको नीति लिइनेछ ।
– भक्तपुरलाई ज्ञान—विज्ञानको केन्द्रको रूपमा विकास गर्न नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा नयाँ विषयहरू थप गर्दै लगिनेछ । विद्यार्थीहरूका माग र चाहनालाई ध्यानमा राखेर आवश्यकताअनुसार नयाँ कलेजहरू स्थापना गर्न पहल गरिनेछ ।
– कुनै पनि नगरबासी विद्यार्थी आर्थिक कारणले उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नहोस् भन्ने उद्देश्यले प्रदान गर्दै आएको शैक्षिक ऋणलाई निरन्तरता दिँदै समयानुकूल ऋण रकमको सीमा बृद्धि गरिनेछ ।
– कक्षा ५ र ८ को नगरस्तरीय परीक्षाको व्यवस्थासँगै शैक्षिक क्यालेण्डरअनुसार विद्यालय सञ्चालन गरिनेछ । साथै एस.ई.ई. पूर्व परीक्षा लिने व्यवस्था मिलाइने छ । तोकिएको मापदण्डका आधारमा उत्कृष्ट ठहर भएका विद्यालय र विद्यार्थीहरूलाई पुरस्कृत गरिनेछ ।
– ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्षदेखि सिटी स्क्यान सेवा सञ्चालनमा ल्याइनेछ र आवश्यकताअनुसार बिशेषज्ञ सेवा थप्दै लगिने छ । ख्वप अस्पतालमा प्रसुती सेवा सञ्चालन गरिनेछ ।
– घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाउँदै लगिनेछ । घरदैलोमा खटिने नर्स र स्वास्थ्य स्वयम्सेविकाहरूमार्फत नगरबासीहरूको स्वास्थ्य विवरण (प्रोफाइल) तयार गरिनेछ ।
– गम्भीर रोग लागेका बिरामीहरूलाई दिइँदै आएको आर्थिक सहयोग रकमलाई निरन्तरता दिइनेछ । मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई नेपाल सरकारले तोकेबमोजिम मासिक भत्ताको व्यवस्था गरिनेछ ।
रगत आवश्यक पर्ने बिरामी नगरबासीहरूको लागि निःशुल्क रगतको व्यवस्था गरिनेछ ।
– भक्तपुरको जनजीवन झल्किने साँस्कृतिक म्युजियम (सङ्ग्रहालय) निर्माणको कार्यलाई अगाडि बढाइनेछ ।
– भक्तपुरको प्राचीन सम्पदा र संस्कृतिलगायत विभिन्न विषयहरूमा नगरपालिकाको स्वीकृति लिई खोज, अध्ययन तथा अनुसन्धान गर्नेहरूका लागि आर्थिक अनुदानको व्यवस्था गरिनेछ ।
– दाफा, भजन र गुठीहरूको अभिलेख व्यवस्थित गर्न नगरपालिकामा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।
– महेश्वरी खेलमैदानलाई स्तरोन्नति गरी राष्ट्रियस्तरको खेलकुद प्रतियोगता गर्न मिल्ने रङ्गशालाको रूपमा विकास गर्न पहल गरिनेछ ।
– भनपा वडा नं. १० मा निर्माणाधीन टेबुलटेनिस कभर्ड हल निर्माण सम्पन्न गरी प्रयोगमा ल्याइनेछ । उपयुक्त ठाउँहरूमा नयाँ खेलकुद कभर्ड हलहरू निर्माणको लागि आवश्यक व्यवस्था गरिनेछ ।
– भक्तपुर नगरको सौन्दर्यता अभिवृद्धि गर्न पुरानो शहरको मूल सडकको दायाँबाँया हरियाली प्रबद्र्धनको नीति लिइनेछ । त्यसको लागि घरधनी र पसलधनीहरूसँग समन्वय गरिनेछ ।
– हनुमानघाट र सल्लाघारीमा निर्माणाधीन फोहर पानी प्रशोधन केन्द्रलाई शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउन जोड दिइनेछ ।
– नयाँ आवासीय क्षेत्रमा घर बनाउने घरधनीहरूलाई नक्सापाससँगै रुख रोप्न प्रोत्साहित गरिनेछ ।
– भक्तपुरको खानेपानीको मुहान क्षेत्र नगरकोटलाई जलाधार क्षेत्र घोषणा गराउन प्रयास गरिनेछ । खानेपानीको स्रोत विस्तारको लागि आवश्यक पहल गरिनेछ ।
– मेलम्चीको पानी नगरबासीहरूको घर—घरमा वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
– किसानहरूबाट उत्पादित कृषिजन्य वस्तुहरूको सुरक्षाको लागि चिस्यान केन्द्र स्थापना गरिनेछ ।
– नगरको उपयुक्त ठाउँमा तरकारी बजारको व्यवस्था गरिनेछ ।
युवाहरूलाई रेफ्रिजेरेटर, वासिङ मेसिन, मोटरसाइकल, मोबाइल, विद्युतीय उपकरण मर्मत लगायतका सीपमूलक तालिमहरू क्रमशः दिइनेछ । त्यसैगरी वाइरिङ, प्लम्बिङ, डकर्मी, सिकर्मी, लोहँकर्मीलगायतका तालिमहरू दिइनेछ ।
– सहकारी संस्थाको ऋण लगानीको निश्चित प्रतिशत रकम गरिब तथा जेहेनदार विद्यार्थीहरूका लागि शैक्षिक ऋण र युवा उद्यमशील ऋणमा लगानी गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
– पर्यटकीय क्षेत्रहरूमा नक्सासहित सङ्केत बोर्डहरूको व्यवस्था गरिनेछ । सम्पदाहरूको सङ्क्षिप्त जानकारीसहितको बोर्डहरूको व्यवस्था गरिनेछ ।
– भक्तपुर आउने आन्तरिक र बाह्य पर्यटकहरूका लागि फेमिली स्टे र होम स्टे सञ्चालन गर्न नगरबासीहरूलाई प्रोत्साहित गरिनेछ ।
– भनपा वडा नं. ७ हनुमानघाटस्थित निर्माणाधीन सुधारिएको शवदाह गृह सञ्चालनमा ल्याइनेछ ।
नगरभित्र छरिएर रहेका सार्वजनिक जग्गाको अभिलेख तयार गरी त्यसको संरक्षण गरिनेछ ।
– अनलाइनबाट कर तिर्ने र अनलाइन नक्सापासको प्रक्रिया अगाडि बढाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *