सल्यानका ७५ प्रतिशत घरधुरी विद्युतको पहुँच बाहिर

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

सल्यान, २३ भदौ

सल्यानका झण्डै ७५ प्रतिशत घरधुरी विद्युतको पहुँच बाहिर रहेका छन् । जिल्लालाई नै पूर्णरुपमा विद्युतीकरण गर्ने लक्ष्य सहित काम अगाडी बढाए पनि जिल्लामा भने हालसम्म ७५ प्रतिशत घरधुरी अझै विद्युतको पहुँच बाहिर रहेको नेपाल विद्युत्त प्राधिकरण सल्यान वितरण केन्द्रले जनाएको छ ।

जिल्लाभर हाल करिब ५१ हजार घरधुरी संख्या रहेको छ । ती मध्ये करिब १३ हजार घरधुरीमा मात्रै विद्युतीकरण गरिएको सल्यान वितरण केन्द्र प्रमुख अर्जुन पोख्रेलले जानकारी दिए । उनका अनुसार पछिल्लो समय जिल्लामा विद्युतीकरणका लागि काम भइरहेको छ भने जिल्लाभर विद्युतीकरणका लागि करिब ५० प्रतिशत संरचना निर्माण गरिएको छ ।

केन्द्रका अनुसार जिल्लाका दश स्थानीय तह मध्ये सबैभन्दा धेरै शारदा नगरपालिकामा विद्युतीकरण गरिएको छ भने सबै भन्दा कम कालीमाटी गाउँपालिकाका विद्युतीकरण गरिएको छ । शारदा नगरपालिकामा करिब ८० प्रतिशत घरधुरीमा विद्युतीकरण गरिएको प्रमुख पोख्रेलको भनाइ छ । यस्तै कालीमाटी गाउँपालिकामा १० प्रतिशत विद्युतीकरण गरिएको छ ।

यस्तै छत्रेश्वरी गाउँपालिकामा ७० प्रतिशत, कपुरकोट र त्रिबेणी गाउँपालिकामा ६०÷६० प्रतिशत, सिद्ध कुमाख, कुमाख र दार्मा गाउँपालिकामा २५÷२५ प्रतिशत विद्युतीकरण गरिएको छ । यस्तै बागचौर र बन्गाड कुपिण्डे नगरपालिकामा करिब ३५ प्रतिशत विद्युतीकरण गरिएको छ ।

‘जिल्लामा विद्युतीकरणका लागि अहिले धमाधम संरचना निर्माण भइरहेका छन्, केन्द्र, प्रदेश र स्थानीय तहहरुले पनि विद्युतको लागि धेरै वजेट विनियोजन गरेका छन्, यही स्केलमा वजेट विनियोजन भएमा अबको ३ देखि ४ बर्षको बीचमा पूरै जिल्ला विद्युतीकरण हुन्छ’ प्रमुख पोख्रेलले भने । उनले ५० देखि ६० करोड रुपैयाँ बराबरको काम गर्न सकियो भने जिल्लाभर बिद्युत पुग्ने बताए ।

झण्डै ६ प्रतिशत बिद्युत चुहावट घट्यो

नेपाल विद्युत प्राधिकरण सल्यान शाखाले जिल्लामा विद्युत चुहावट झण्डै ६ प्रतिशतले घटेको जनाएको छ । अघिल्लो आर्थिक बर्षमा जिल्लामा १८ प्रतिशत विद्युत चुहावट रहेकोमा आर्थिक बर्ष २०७६÷०७७ मा घटेर १२ दशमलव ७ प्रतिशतमा झरेको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिए ।

उनका अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा केन्द्रले ४ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै ५३ लाख रुपैयाँ पुरानो बख्यौता रकम असुल गरिएको छ । यस्तै कालोसूचीमा परेका ग्राहकहरुबाट २ लाख १९ हजार रुपैयाँ विद्युत बख्यौता उठाउन बाँकी रहेको छ ।

यस्तै एक बर्षको अबधिमा १ सय ८३ किमी लाईन जिल्लाभर बिस्तार गरिएको छ । यस्तै यस अबधिमा २५ वटा ट्रान्सफर्मर जडान गरिएको नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *