नयाँ वर्ष २०२० मा बञ्जिजम्प सञ्चालन शुरू हुने

अर्थ/वाणिज्य समाचार

पर्वत, १० मंसिर


कालीगण्डकी नदीमाथी निर्माणाधिन कुश्मा–बलेवा बञ्जिजम्प अंग्रेजी नयाँ वर्ष सन् २०२० संगै सञ्चालन गरिने भएको छ । नयाँ वर्षको उपहारको रुपमा बञ्जिजम्प सञ्चालन गर्ने तयारी भएको हो । नेपाल सरकारले मनाउने तयारी गरेको पर्यटन वर्ष र प्रदेश सरकारले मनाईरहेको आन्तरिक भ्रमण वर्षलाई मध्यनजर गर्दै विश्वकै नमूना यो बञ्जिजम्प नयाँ वर्षमा औपचारिक रुपमा सञ्चालन गरिने भएको हो ।
‘द क्लिफ’ प्रा.लि. मार्फत गरिएको लगानीमा कम्पनीकै नामबाट बन्जी, रिसोर्ट, स्काई साइक्लिङ र स्वीङ सञ्चालन गर्ने तयारी रहेको लगानीकर्ता यूवा राजु कार्किले जानकारी दिए । पर्वतको कुश्मा बाट बागलुङको बलेवा जोड्ने गरि नदीमाथी बञ्जिजम्प बनाईएको छ । लामो प्रतिक्षा पछि नयाँ वर्षमा बञ्जि सञ्चालन गर्ने तयारी गरेका छौँ,कार्किले भने, नयाँ वर्षको उपहारका रुपमा हामी औपचारिक खुल्ला गर्न लागेको जानकारी दिन चाहान्छु ।
करिव २० करोड लगानीमा यो बञ्जिजम्प बनाईएको हो । साहसिक पर्यटनको यो बञ्जि पर्यटनको मुख्य गन्तव्य बन्ने विश्वास गरिएको छ । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल बनिसकेको छ । नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको पुलबाट साढे दुई सय मिटर तल बगेको कालीगण्डकीको बिचमा बन्जी गर्न मिल्नेगरि प्राविधिकहरु निर्माणमा व्यस्त छन् ।
पर्वत जिल्लाका ११ जना यूवाको लगानीमा यो सबै काम भैरहेको छ । कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर २२८ मिटर उचाइबाट बन्जी गर्न मिल्नेगरि व्यवसायीले लगानी गरेका हुन् । लगानीकर्ताहरुले करिव १५ करोड अनुमानमा शुरु गरिए पनि डिजाइन र प्राविधिक कारणले करिव पाँच करोड बढेको जनाएका छन् । ०७३ बैसाखमा शुरु बन्जी सहित रिसोर्टका संरचनाको निर्माणकार्य करिव सकिएको छ । बन्जीसंगै स्काई साइक्लिङ, स्वीङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) र रिसोर्ट समेतको एकैसाथ सञ्चालन तयारी छ ।
यहाँ आउने पर्यटकलाई बास बस्नका लागि रिसोट बनाईदै छ । त्यसका लागि बलेवामा २५ रोपनी जग्गामा संरचना निर्माण भइरहेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा बाट ५७ किलोमिटर उत्तरमा पर्ने कुश्मा मुक्तिनाथको प्रवेशद्धार पनि हो । त्यसले पनि यहाँको वन्जी बिदेशीको रोजाइमा पर्ने सञ्चालक यूवराज जोशीले बताए ।
उत्तर–दक्षिण छिमेकि मुलुक जोड्न निर्माणाधिन कालीगण्डकी करिडोर र मध्य पहाडी राजमार्ग पुर्ण रुपमा सञ्चालनमा आएपछि भारतिय र चिनिया पर्यटक बढी आउने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए ।
पर्वतमा कालीगण्डकी र मोदी नदीमाथी बनेका नेपालका अग्ला झोलुगेँ पुल हेर्न दैनिक दुई सय पर्यटक आउने गरेका छन् । यहाँ गुप्तेश्वर, लालेश्वर, अल्पेश्वर र पार्वती गुफा पनि पर्यटक आकर्षित गरिरहेका छन् । बञ्जिजम्प बनेपछि आन्तरिक र वाह्य पर्यटकहरुको ओईरो लाग्ने अपेक्षा रहेको उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले बताए । बञ्जिजम्प सञ्चालन भएपछि बन्द रहेको बलेवा विमानस्थलमा पनि सञ्चालन गर्ने तयारी छ । यात्रु अपुग रहेको भन्दै हाल विमानस्थल बन्द छ । अहिले विमानस्थलमा कालोपत्रे गर्ने तयारी छ । नियमित रुपमा विमानस्थल समेत ससञ्चालन हुने भएकाले बञ्जिजम्पले पर्वत र बागलुङमा धेरै संभावनाको ढोका खुल्ने अवसर सिर्जना गरेको व्यवसायीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *