न्यूज अपडेट

बिहीबार भक्तपुर जिल्लामा ३३ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । कोभिड–१९ संक्रमितमध्ये २३ जना मध्यपुर थिमि नपा, ८ जना भक्तपुर नपा र १ जना सुर्यबिनायक नपाका बासिन्दा भएको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले जानकारी दिएको छ ।
भक्तपुर नगरपालिका वडा नं ९ तुमचो दुगुरे आवास क्षेत्रका एकै परिवारका तीन जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये ३५ र १४ वर्षका दुई महिला र ८ वर्षका एक बालक रहेका छन् । त्यस्तै सोही क्षेत्रका ४८ वर्षका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसअघि सोही क्षेत्रका एक जना पुरुषमा कोभिड १९ पुष्टि भए पछि कन्ट्याक्ट ट्रेसिङको क्रममा बिहीबार थप व्यक्तिमा कोभिड–१९ भेटिएको हो ।
भक्तपुर नपा वडा नं भार्वाचो गणेशस्थानका एक जना ६० वर्षकी महिलामा पनि कोभिड पुष्टि भएको छ । यसअघि सोही स्थानका एक जना कोभिड–१९ पुष्टि भए पछि कन्ट्याक्ट ट्रेसिङको क्रममा उनीमा संक्रमण पुष्टि भएको हो ।
भक्तपुर नपा वडा नं ३ देगमनाका २८ वर्षका एक जना पुरुषमा पनि कोभिड पुष्टि भएको छ । उनी एनआइसी एसिया बैंक सातदोबाटो शाखाका कर्मचारी भएको खुलेको छ ।
सोही वडाको बाराही उकालो निवासी ४२ वर्षका एक महिलामा पनि संक्रमण देखिएको छ । उनमा यसअघि सोही क्षेत्रमा देखिएको कोभिड संक्रमणको कन्ट्याक्ट ट्रेसिङको क्रममा भाइरसको संक्रमण देखिएको हो ।
भक्तपुर नपा वडा नं ४ लैकोका एक जना ४६ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
बोडेमा देखियो धेरै संख्यामा संक्रमित
मध्यपुर थिमि नपा बोडेमा बिहीबार उल्लेख्य संख्यामा कोभिड–१९ संक्रमित फेला परेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले दिएको जानकारीअनुसार बोडेमा ३ महिनाको एक जना शिशुमा पनि कोभिड १९ को संक्रमण देखिएको छ । बोडेकै २८ वर्षकी महिला, २२ वर्षकी महिला, १३ वर्षकी बालिका, २९ वर्षको पुरुष, ३९ वर्षको पुरुष, १२ वर्षको बालक, ५० वर्षकी महिला, ४० वर्षकी महिला, ११ वर्षकी बालिका र ६४ वर्षको पुरुषमा कोभिड संक्रमण पुष्टि भएको छ ।
त्यस्तै मध्यपुर नपा वडा नं ५ का २७ वर्षकी महिला, ३४ वर्षका पुरुष, ३४ वर्षकी महिला, २२ वर्षका पुरुष, ६५ वर्षका पुरुषमा पनि कोभिड संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमि नपा लोकन्थलीका ५७ वर्षकी महिला र २८ वर्षका पुरुषमा पनि कोभिड पुष्टि भएको छ । जडिबुटीका ३२ वर्षका महिला, गठ्ठाघरका २५ वर्षकी महिला, नगदेशका ३६ वर्षकी महिला, राधेराधे क्षेत्रकी २३ वर्षकी महिला, पुरानो थिमिका ५४ वर्षका पुरुषमा कोभिड पुष्टि भएको हो ।
सुर्यबिनायक नपाअन्तर्गत जगातीमा पनि एक जना ३३ वर्षकी महिलामा कोभिड पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा भक्तपुरबाट ४१ जना संक्रमित भनेकोमा २ जना अन्य जिल्लाको अभिलेख भक्तपुरमा परेको र ४ जनाको स्थायी ठेगाना भक्तपुर भए पनि हाल उनीहरूको बसोबास काठमाडौं र ललितपुर जिल्लामा भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले बताएको छ । दुई जना संक्रमित भने यसअघि नै संक्रमित भई पुनः परीक्षणको क्रममा पोजेटिभ देखिएको हो ।
