भक्तपुर बचतमा नगदे तथा धानबाली रोगसम्बन्धी अभिमूखीकरण

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २६ जेठ

भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको कृषि उपसमितिको आयोजनामा शनिवार नगदे बाली तथा धानबालीमा लाग्नसक्ने रोगसम्बन्धी स्थानीय कृषकहरुबीच अभिमूखीकरण कार्यक्रम भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाबाट आएको नाफाको आंशिक भाग सामाजिक कार्यमा प्रयोग गर्नुपर्छ भन्ने मान्यताअनुसार स्वास्थ्य, सांस्कृतिक, शैक्षिक र कृषि क्षेत्रमा विभिन्न तालिम तथा कार्यक्रमहरु गर्दै आएको औंल्याए । उपभोगका हरेक वस्तु कृषिमा निर्भर हुने भएकाले कृषि क्षेत्र राम्रो बनाउन सकेमात्रै देश बन्ने उनको भनाइ छ ।

संस्थाका सञ्चालक सदस्य एवं कृषि उपसमितिका संयोजक रामलक्ष्मी दुवालले देशमा कृषि उत्पादनको क्षेत्र घट्दै गएको र त्यसमा पनि राम्रो उत्पादन गर्न नसकेको बताए । साथै उनले बजारको विषादीयुक्त तरकारी उपभोग गर्नुभन्दा आफै स्वस्थकर तरकारी उत्पादन गरी प्रयोग गर्नुपर्नेमा जोड दिए ।


कृषि विज्ञ रमेश बैद्यले समाजबाट कृषि क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलेर युवा पुस्तालाई अभिप्रेरित बनाउनुपर्ने बताए । उनले बेमौसमी तरकारी खेती गर्न सके राम्रो आम्दानी गर्न सक्ने बताए । रासायनिक मल, कम्पोष्ट मल र निकास मिलाउन सके बर्खे बाली राम्रो हुने उनको भनाइ छ । उनले पाकेको कम्पोष्ट मलको प्रयोग गर्न जोड दिँदै नपाकेको मलबाट रोगब्याधी लाग्ने बताए । उनले विभिन्न धान तथा त्यसमा लाग्ने रोग र किराहरुको बारेमा जानकारी दिई रोकथामका उपायसमेत बताए ।

कृषि उपसमितिका सदस्य बालकृष्ण कुसीले कार्यक्रमको औचित्यबारे प्रष्ट्याएको उक्त कार्यक्रम अन्तरक्रियात्मक रुपमा सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *