आज कुशेऔंशी, पिताको सम्मान र सम्झना गरिँदै

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ३ भदाै

आज कुशेऔंशी । घरघरमा पवित्र वनस्पति कुश ग्रहण गर्नुका साथै जन्म दिने पिताको सम्मान गरी यो पर्व मनाइँदै छ । साथै आजै नेपाली साहित्यका युवाकवि मोतिराम भट्टको जन्मजयन्ती पनि मनाइँदैछ ।

भाद्रकृष्णपक्षको औंशी तिथिलाई लोकमा कुशेऔशी भन्ने गरिन्छ । यस दिनमा देवकार्य र पितृकार्यमा नभईनहुने कुश ग्रहण गरिन्छ । आज विधिपूर्व काटेर घर भित्र्याइएको कुश वर्षभरि प्रयोग गर्न सकिने विधान छ । कुश पवित्र वनस्पति हुनुका साथै रोगकीरा भगाई वातावरण शुद्ध राख्न समेत प्रयुक्त भएको पाइन्छ ।

कुशेऔंशीलाई पितृसम्मान पर्व वा बुबाको मुख हेर्ने दिनका रुपमा पनि मनाउने गरिन्छ । यस अवसरमा पितृ देवो भवः भन्ने वैदिक आदर्शलाई आत्मसात गरी पिताको सम्मान गरिन्छ । पितासँग भेटघाट गर्ने, उपहार दिने र मीठा परिकार खुवाउने गरेर बुवाको सम्मान गरिन्छ । पिता दिवंगत भएका सन्तानले पितृमोक्षको कामनाले तीर्थमा पितृतर्पण गरी श्राद्ध गर्ने गर्दछन् ।

कुशेऔशीमा काठमाडौको उत्तरपूर्वमा पर्ने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृश्राद्ध गर्नेको घुइँचो लाग्दछ । वाग्मती नदीको उत्तरवाहिनी तटमा पर्ने यस तीर्थमा कुशे औशीका दिन पितृका नाममा श्राद्ध गरी पिण्डदान गरेमा पितृले पनि मोक्ष प्राप्त गर्छन् भन्ने विश्वास छ । तर यस वर्ष कोभिड–१९ का कारण यो पर्व प्रभावित भएको छ ।

आज नेपाली साहित्यका युवाकवि मोतिराम भट्टको जन्मजयन्ती मनाइँदै छ । कुशे औशीका दिन जन्मेका मोतीराम भट्टको ३० वर्षको उमेरमा यसै तिथिमा निधन भएको थियो । गीत गजल, कविता, प्रवन्धलगायतका विधामा कलम चलाएका युवाकवि भट्टका पीकदूत, गजेन्द्रमोक्ष लगायतका पुस्तक प्रकाशित छन् । मोतिराम भट्टलाई नेपाली साहित्य इतिहासको माध्यमिक कालका प्रतिनिधि कवि मानिन्छ । उनलाई नेपाली साहित्यका श्रृङ्गारिक कवि पनि भनिन्छ ।

आफ्नै सकृयतामा स्थापित छापाखानामा उनले आदिकवि भानुभक्त आचार्यद्वारा रचित भानुभक्तीय रामायण छपाएर नेपालीमाझ पुर्‍याएका थिए । मोतिराम भट्टकै सहयोगले गर्दा आदिकवि भानुभक्त आचार्य नेपालीसमाजमा परिचित भएको भन्दै उनको योगदानको कदर गरिन्छ । युवा कवि भट्टको जन्मजयन्तीका अवसरमा आज नेपाली साहित्यिकक्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *