विविध व्यक्तित्वलाई सम्मान गर्दै भक्तपुर बचतको रजत वर्ष महोत्सव सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २७ कात्तिक


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को रजत वर्ष महोत्सव कार्यक्रम शनिवार विविध व्यक्तित्वहरुलाई सम्मान र स्मारिका विमोचन गर्दै सम्पन्न भएको छ ।

प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)बाट उद्घाटन भएको उक्त कार्यक्रममा उनले समाजवादी देशहरुले सहकारीलाई उत्पादनसँग स्रोतसँग जोड्ने तर पूँजीवादी देशले नाफा र फाइदाका मात्र हेर्ने बताए । यसले अहिलेका सहकारीहरु पूँजीवादतिर धल्केको उनले स्पष्ट पारे ।

सहकारीले बैंक र फाइनान्सको जस्तो नाफाका लागि मात्र काम नगरी बहुसंख्यक जनताको हितमा काम गर्दै जानुपर्ने विजुक्छेँको तर्क छ । सरकारले सहकारीका ठग र अपराधीहरुलाई बचाउने काम गर्ने भएकाले सरकारले के गर्छ भन्दापनि सरकारले खराव काम गर्छ भनेर बुझ्नु जरुरी भएको बताए । साथै उनले संसद सदस्य बस्ने ठाउँमा अपराधीहरु बस्ने भएकाले त्यस्ता अपराधीबाट देश र जनताको हित कहिल्यै नहुने बताए । उनले पूँजीवादी देशमा गरिव जनताको पैसा धनी मान्छेका लागि पोस्ने भएकाले गरिव जनताको हितमा सहकारी संस्था नरहने र त्यस्ता सहकारीमा पैसा राख्न नहुने स्पष्ट पारे ।

कार्यक्रममा बाग्मती प्रदेश सभासद् सृजना सैजूले जनताको सांस्कृतिक र आर्थिक स्तर उकास्न सहकारीको प्रमुख भूमिका हुने बताए । उनले सहकारीभित्र पनि वर्ग र विचार हुने बताउँदै देश र जनताको हकहितका लागि सहकारी आन्दोलन अघि बढ्नुपर्ने बताए । साथै देशको तेस्रो आर्थिक खम्बा सहकारी भएकाले एमसीसीको विरोध सहकारीहरुबाट हुनुपर्ने उनको तर्क छ । उनले एमसीसी संकटहरुको बाकस भएको स्पष्ट पार्दै अमेरिकाको कुटिल चालभित्र आफै फसेका बताए । देशभक्तिपूर्ण आन्दोलनमा सहकारीहरुको उपस्थिति हुनु आवश्यक भएको बताउँदै उनले देशलाई बर्वादीतर्फ लाने एमसीसीको निरन्तर विरोध गर्नुपर्ने बताए ।

पूर्व न्यायाधिश गौरी बहादुर कार्कीले घरजग्गा र हाउजिङ्ग कम्पनी चलाउनेहरुले खोलेका सहकारीहरु बढी जोखिमपूर्ण रहेको बताए । ठूला पार्टीका सांसदहरुले चलाएका सहकारीहरुमा आफू अनुकूल नीति नियम बनाउँदै लगेको बताउँदै उनले त्यस्ता सहकारीले अझ बढी ठग्ने डर हुने स्पष्ट पारे ।

शुभकामना मन्तव्यको क्रममा शिक्षासेवी एवं नेमकिपाका कोषाध्यक्ष मोहनप्रसाद प्रजापतिले सहकारीभित्र बसेर नराम्रो काम व्यक्तिलाई समयमै चिन्नुपर्ने बताए । उनले व्यवस्थित र समुदायमा आधारित सहकारीमा सदस्य हुनुपर्ने औंल्याए ।

भ.न.पा.९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाका विविध गतिविधिबारे स्पष्ट पार्दै जनताका हरेक पक्षलाई इमान्दारिपूर्वक काम गरेको बताए । उनले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको र नेमकिपाको घोषणापत्र अनुसार लगभग सबै काम पूरा गरेको पनि स्पष्ट पारे ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्दा लाखाले समुदायमा आधारित संस्था कहिल्यै नभाग्ने भन्दै ब्याजदर बढी लिएर लोभ देखाउने सहकारी तथा बहुउद्देश्यीय सहकारीप्रति सचेत हुनुपर्ने बताए । उनले साधारणसभामा नबोलाउने, नियमित रुपमा प्रगति प्रतिवेदन प्रकाशन नगर्ने र शेयर सदस्य नबनाइ लाभांशको भागिदार नबनाउने सहकारी संस्था समुदायमा आधारित नभएको प्रष्ट पारे ।

संस्थाका अध्यक्ष बलराम प्रजापतिले सहकारीमा देखा परेका विकृति विसंगतिविरुद्ध लाग्न जोड दिँदै उनले दिवाकालीन डाक्टर र नर्ससहितको व्यवस्थित आदर निकेतन निकट भविष्यमा सञ्चालन गर्ने स्पष्ट पारे । समाज, समुदाय र सदस्य हितका लागि यस संस्था तत्पर रहेको उनले औंल्याए ।

उपाध्यक्ष निर्मल प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिबाट शनिवार नै सम्पन्न कसिमला पाय् प्रतियोगिताका विजयी प्रथम श्याम प्रजापति, द्धितीय सेते बहादुर कुस्मा, तृतीय लक्ष्मीभक्त कोजू र सान्त्वना शिवशंकर भुजुलाई मेडल, प्रमाणपत्रसहित क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार प्रदान गरेका थिए । साथै उनले सफाइ मजदुर लक्ष्मी भक्त कोजू, कलासंस्कृति बचाउन क्रियाशील जगतबीर शिल्पकार, र कोरोना हिरो राजेश गााइजूलाई संस्थाबाट नगद रु.१५ हजारसहित दोसल्ला ओढाई सम्मान गरेको थियो ।

कार्यक्रममा संस्थाका ४० जना संस्थापकहरुलाई खाडा प्रमुख अतिथिबाट खाडा ओढाई सम्मान गरेको उक्त कार्यक्रममा स्वागत स्वरुप लक्ष्मी नारायण दुवालको लेखन र प्रेम प्रजापतिको संगीतमा सहकारी गान प्रस्तुत भएको थियो । संस्थाका सचिव लक्ष्मी प्रसाद कुसी, सदस्य रामेश्वरी कोजू, डा. पुष्करलगायतले बोलेको उक्त कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको छ । त्यस्तै संस्थाका अध्यक्ष बलराम प्रजापतिले अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा संस्थाबाट प्रशिक्षित बाजाहरूकाे प्रस्तुती देखाइएकाे थियाे ।

तस्विरः प्रेम प्रजापति

 

 

तस्विरः प्रेम प्रजापति

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *