राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियानबारे अन्तरक्रिया

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, १७ साउन


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभाग र भक्तपुर नगरपालिकाको संयुक्त आयोजनामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियानसम्बन्धी शुक्रबार अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय परिचय पत्र वितरण नागरिकतासँग जोडिएको संवेदनशील विषय भएको हुँदा नक्कली नागरिकता र दोहोरो परिचय पत्र लिनेहरुबाट सचेत हुन जरुरी रहेको बताए ।
परिचयपत्र वितरणमा प्राविधिक कारणले पनि समस्या हुन सक्नेतर्फ पञ्जीकरण विभाग र सम्बन्धित कार्यालयहरु सजग हुनुपर्ने भन्दै प्रमुख प्रजापतिले परिचयपत्र वितरणमा खटिने कर्मचारीहरु भाषा र व्यवहार जान्नेहरु भए काम गर्न सजिलो हुने बताए ।

जनतालाई बिस्थापित गर्ने, ऐतिहासिक र सांस्कृतिक सम्पदा म्हास्ने र खेतीयोग्य जमिन नष्ट गर्ने स्मार्ट सिटीको अवश्यकता नरहेको बताउँदै प्रमुख प्रजापतिले उपत्यकालाई सांस्कृतिक केन्द्र र आदर्श नगरको रुपमा स्थापित गर्नु आवश्यक भएको बताए ।


भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालयमा साउन १ गतेदेखि राष्ट्रिय परिचय वितरणको लागि स्टेशन खडा गरी परिचय पत्र अद्यावधिक कार्यको थलानी गर्ने बताउँदै सोको लागि खटाइने कर्मचारीहरु नेपालभाषा पनि जानेको भए उपयुक्त हुने बताइन् । उनले भक्तपुर नगरपालिका र वडाहरुसँगको आपसी समन्वयमा परिचयपत्रको विवरण संकलन अभियान समयमै सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गरिन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले पञ्जीकरण विभागको समष्टिगत कार्य प्रक्रिया र अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासामाथि प्रष्ट पारिन् । उनले डिजिटल प्रणालीमार्फत संकलन गरिने राष्ट्रिय परिचयपत्रको विवरण अभियान नयाँ पद्धति भएको हुँदा केही समस्या हुन सक्ने बताउँदै नेपाली नागरिकको सही पहिचान गर्न यो प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सदस्य शिवराम जोशीले राष्ट्रिय परिचय पत्रबारे प्रस्तुतीकरण दिँदै व्यक्तिको पहिचान गराउने आधार नागरिकको प्रमाणपत्र भएको हुँदा राज्यले अब डिजिटल प्रणालीको अवधारणालाई अगाडि सारेको बताए । कार्यक्रममा भक्तपुर नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नपाका शाखा प्रमुख र वडाका सचिवहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *