भक्तपुर नगरपालिकामा आजबाट दुई दिने सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सुरु

विशेष समाचार समाचार

भक्तपुर, ४ पुस


भक्तपुर नगरपालिकाको आयोजना शुक्रबारदेखि दुई दिने सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सुरु भयो । तालिमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरे ।
सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम उपलब्धीपूर्ण होस् भन्ने शुभेच्छा व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरु बैंक तथा वित्तीय संस्थाभन्दा फरक ढंगले अगाडि बढ्नपर्ने बताए । उनले जनता र समुदायमा आधारित रहेर संस्थाका सदस्यहरुको हितमा काम गर्न प्रेरित गर्नुहुँदै सिद्धान्तबाट चिप्लिएका संस्थाहरुबाट विकास सम्भव नभएको बताए ।
विदेशी संघ–संस्थाहरुले तालिमको नाममा करोडौं पैसा खर्चिरहेको तर उपलब्धीपूर्ण नभएको बताउँदै उनले सहकारी संस्थाहरुबीच सिद्धान्त र कामको तालमेल हुनु आवश्यक छ भने ।


पैसाको कारोबार हुने संस्थामा भ्रष्टाचार तथा आर्थिक अनियमितता पनि हुनेतर्फ सजग हुनुपर्ने बताउँदै प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले आर्थिक पारदर्शिता कायम राखी देशकै नमुना सहकारीको रुपमा विकास गर्नु आवश्यक भएको बताए ।
आर्थिक समितिका संयोजक हरिप्रसाद बासुकलाले नगरभित्र रहेका १५६ वटा सहकारी संस्थाहरु अनुगमन गर्ने जिम्मा भक्तपुर नगरपालिकाको रहेको बताउदै भक्तपुर नपाभित्रका सहकारी संस्थाहरुलाई व्यवस्थित रुपमा अगाडि बढाउन र व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्न नपाले तालिम सञ्चालन गरेको बताए ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दीपक कोइरालाले बैंक तथा वित्तीय संस्थाहरुले देशको आर्थिक र गरिबी न्युनीकरणको क्षेत्रमा खेलिरहेको भूमिकाबारे प्रस्ट पार्दै सहकारी संस्थाहरुले जनतालाई बचत गर्ने बानीको विकास गर्न सिकाएको छ भने ।
तालिमका प्रशिक्षक तुल्सीहरि प्रजापतिले सहकारी संस्थालाई निश्चित दिशामा सरल ढंगले अगाडि बढाउन र व्यवस्थापकलाई सबलीकरण गर्न तालिमको महत्व रहेको बताए ।
कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य छोरीमैयाँ सुजखुले पनि बोलेको थियो । तालिममा भक्तपुर नपाभित्रका २९ वटा सहकारीका व्यवस्थापकहरुले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *