गाईजात्रा पर्व सुरक्षित र औपचारिकतामा सीमित गरी मनाउन वडाबासी भेला

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, १७ साउन


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा विश्व महामारी रुपमा फैलिरहेको कोभिड १९ संक्रमण दिन प्रतिदिन बढिरहेको हालको समयमा २०७७ सालको गाईजात्रा पर्वलाई सुरक्षित र औपचारिकतामा सीमित गरी मनाउने सम्बन्धमा शुक्रबार वडाबासी भेला कार्यक्रम भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका ऐतिहासिक र सांस्कृतिक रुपमा धनी शहर भएको हुँदा यहाँ मनाइने हरेक पर्वहरुको आफ्नै महत्व रहेको बताए ।
समुदायस्तरमा कोरोना संक्रमित देखिन थालेको वर्तमान अवस्थामा रोग संक्रमण फैलिन नदिन भक्तपुर नगरपालिकाले नजिकिंदै गरेको गाईजात्रा पर्वलाई औपचारिकतामा सीमित गरी मनाउन नगरबासी जनता र सरोकारवाला पक्षलाई अनुरोध गरिरहेको र सोही जात्रामा प्रदर्शन हुने घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनीहरु नगर्न अपिल गरेको छ ।
जनता र समुदायको हितको निम्ति गरेको निर्णयमा नगरबासीहरुको साथ र सहयोग रहने अपेक्षा गर्दै उनले कोरोना महामारी आएमा भयावह स्थिति आउन सक्नेतर्फ सचेत पारे । उनले क्षणिक मनोरञ्जनबाट हुन सक्ने खतराबारे अवगत गराउँदै स्वास्थ्य जस्तो संवेदनशील विषयमा हेलचेक्र्याइँ गर्न नहुने बताए ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले कोभिड १९ को विषम परिस्थितिमा जात्रालाई सुरक्षित ढंगले मनाउने कार्यमा नगरबासीहरु नै सचेत हुनुपर्ने बताउँदै यस पटकको गाईजात्रामा बाजागाजा र घिन्ताङघिसी नलाने ढंगले मनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा भनपा ४ वडा समन्वय समितिका संयोजक एवम् भक्तपुर नपाका कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले नेपाल–भारतबीचको खुला सीमानाका कारण दिनप्रतिदिन कोरोना संक्रमित थपिंदै गएको बताइन् ।
कार्यक्रममा नेमकिपा ४ नं. वडा समन्वय समितिका सदस्यद्वय उपेन्द्र सुवाल र न्हुछेराम भेले, भक्तपुर नपा वडा नं. ४ का वडा सदस्य राजेन्द्र माक, ४ नं. वडा इकाइ समितिका हरिसुन्दर सुवालले पनि गाईजात्रा सभ्य र सामाजिक दुरी कायम गरी मनाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *