सेनालाई तयारी अवस्थामा रहन चिनियां राष्ट्रपति सी को निर्देशन

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ५ असार

चिनियां राष्ट्रपति सी जिनपिङले सेना र सुरक्षा बललाई तयारी हालतमा रहन निर्देशन दिएका छन् । भारत चीनबीच सीमा क्षेत्रमा तनाव बढिरहेका बेला उनले सेनालाई मजबूत बनाउनको लागि सैन्य व्यवस्थापनमा सुधार तथा तालिमको गतिविधि बढाउन निर्देशन दिएका हुन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाकाअनुसार सशस्त्र बललाई सेनाका सर्वोच्च कमाण्डर समेत रहेका सीले कान्फरेन्समार्फत रणनीतिक प्रशिक्षण दिंदै महत्वपूर्ण निर्देशन दिएका छन् । उनले प्रशिक्षणमा सेना र सुरक्षा बलको आधुनिकीकरणमा जोड दिएका हुन् ।

भारत र चीनबीच वास्तविक नियन्त्रण रेखामा तनाव जारी रहेको वेला चिनियां राष्ट्रपति सीको भनाइ सार्वजनिक हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । भारतीय संचारमाध्यमले भने यसलाई चीनले युद्धको तयारी गरिरहेको रुपमा व्याख्या गरेका छन् ।

उनले सशस्त्र बलको लागि १३ औं पंचवर्षीय योजना पूरै लागू गर्न तथा सैन्य विकासको लागि १४ औं पंचवर्षीय योजनाको रुपरेखालाई अघि बढाउन आवश्यक भएको बताएको सिन्ह्वाले जनाएको छ ।

चीनले यो वर्ष रक्षा बजेट बढाउने निर्णय गरेको थियो । अघिल्लो वर्ष १७७ अर्ब डलरको रक्षा बजेट रहेको चीनको यो वर्ष १७९ अर्ब डलर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *