खोला प्रदूषित गरेको भन्दै वीरगंजका १० उद्योगमाथि अदालतमा मुद्दा

विशेष समाचार समाचार

वीरगञ्ज, ११ कात्तिक

पर्सा जिल्ला भएर भारततर्फ बग्ने श्रीर्सिया खोलाको प्रदूषणको सम्बन्धमा कानुनी उपचार खोज्न पर्सा जिल्ला अदालतमा मुद्दा परेको छ।

पर्साका अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले शुक्रबार मुद्दा दर्ता गराएका हुन्।

सार्वजनिक सरोकारको विषय भएकोले हालको कानुनी अधिकारको प्रयोग गर्दै उपचार खोज्न श्रीर्सिया खोला प्रदूषण गर्ने प्रमुख भूमिका निर्वाह गर्ने ११ जनाविरुद्ध मुद्दा दायर गरेको उनले बताए।

कुर्मीले वीरगंज महानगरसँगै पर्सा लिपनीविर्तामा स्थापना भई सञ्चालनमा रहेको सुशील वनस्पति प्रालि, स्टेन्डर लेदर, मरियम लेदर, नेशनल लेदर, नेपाल लेदर, ग्लोबल लेदर, निम्स प्रालि, अरनिका प्रोसेसिङ, अंकिता टेक्सटाइल्स, कन्साई नेरोलेक पेन्टस् गरी ११ जना प्रतिवादी माथि शुक्रबार पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

पहिलेको मुलुकी ऐनमा यस्तो व्यवस्था थिएन। हाल जारी भएको मुलुकी अपराध संहिता ऐन २०७४ मा पानीलाई दुषित गर्नेलाई ६ महिना कैद र ५ हजार जरिवाना तिराउने व्यवस्था रहेकोले श्रीर्सिया खेलालाई प्रदूषणरहित बनाउन अदालतको बाटो रोजेको उनले बताए।

उनले दायर गरेको मुद्दामा महानगरपालिकाको लापरबाही, सम्बन्धित उद्योगको केमिकलयुक्त दुषित पानी, छाला, रौँजस्ता रसायनयुक्त पानी खोलामा खसालिएकोले खोला प्रदूषित भई स्थानीयहरूलाई खोलाको पानी उपभोग्य गर्न निकै कठिनाई हुनुको साथै वातावरणको स्वच्छतामा नकारात्मक असर परेको उल्लेख छ।

‘२० वर्ष पहिले यही खोलाको पानी स्थानीयले गाईबस्तुलाई नुहाउन, कपडा धुन, खोलामा नुहाउन, चार्डपर्वमा खोलालाई उपभोग्य गर्थे। अहिले अवस्था फेरिएको छ, खोलामा खुट्टा मात्रै टेकियो भने खुट्टा भरी घाउ खटिरा तथा चर्म रोगको संङक्रमण फैलिन्छ,’ स्थानीयलाई उद्धृत गर्दै उनले भने।

पानी नफाल्न सिडिओले दिए निर्देशन

तराईको मुख्य चाड छठ पर्व नजिकिँदै जाँदा पर्साका प्रमुख जिल्ला अधिकारीले विगत झै श्रीर्सिया खोला आसपासबाट सञ्चालित उद्योगहरूलाई छठसम्म दुषित पानी नफाल्न निर्देशन दिएका छन्।

उनले सम्बन्धित औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीसँग परामर्श बैठक राखी चाड पर्वको बेला खोला सफा राख्न र सफा पानी मात्र फाल्ने निर्देशन दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *