अध्यक्ष बिजुक्छेँद्वारा ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औं वार्षिकोत्सव समारोहको उद्घाटन

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २८ मंसिर


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औं वार्षिकोत्सव समारोहको बिहीबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले देश र जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको उद्देश्य रहेको बताउँदै विदेशबाट सिकेर आफ्नै मातृभूमिमा काम गर्ने भावनाबाट नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने बताए ।
राजनीतिक दलहरु कुनै एक निश्चित सिद्धान्त र विचारबाट सञ्चालन हुने विषय जोड्दै उनले सरकारले माफियाहरुसँग मिलेर शिक्षा र स्वास्थ्यमा ठूलो व्यापार गरिरहेको बताए ।
उनले शिक्षा र स्वास्थ्यमा दलीय भागबण्डा बन्द गर्न जरुरी रहेको बताउँदै देशको शैक्षिक क्षेत्रमा संकटग्रस्त अवस्था निम्तिनुमा विदेशी विश्वविद्यालयहरुको ठूलो प्रभाव रहेको बताए ।
इजरायलले प्यालेष्टाइनमाथि गरिरहेको बर्बर हमलाको विरोधमा नेमकिपाले देशका विभिन्न जिल्ला र शहरहरुमा विरोध ¥याली तथा सभाहरु गरिरहेको बताउँदै अध्यक्ष बिजुक्छेँले अमेरिकी साम्राज्यवादको आडमा इजरायलले प्यालेष्टाइनमाथि गरिरहेको हमलाको विरोधमा संसारका विभिन्न देशहरुमा पनि प्रदर्शनहरु भइरहेको बताए ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान र योग्य प्राविधिकहरु तयार गर्ने उद्देश्यले स्थापना भएको ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने नेपालकै उत्कुष्ट कलेजको रुपमा विकास भइरहेको बताए ।
शैक्षिक क्षेत्रमा सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा विद्यार्थीहरु विदेश पढ्न जाने क्रम बढ्दै गइरहेको बताउँदै उनले विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमासमेत बारम्बार बन्द, हड्ताल र तोडफोड, आगजनी जस्ता अराजनैतिक गतिविधि हुनाले पनि विद्यार्थीहरुमा निराशा छाएको बताए ।
भारतले नेपालका ठाउँ ठाउँमा योग केन्द्र, बाल विकास केन्द्र, विद्यालय भवन, रक्त सञ्चार केन्द्र, कृषि तथा पूर्वाधार निर्माणमा सोझै खर्च गर्दै नेपालको सार्वभौमिकता र स्वतन्त्रता माथिको हस्तक्षेपको कार्य गर्दै आएको प्रष्ट पार्दै प्रमुख प्रजापतिले भने ‘विदेशी शक्तिलाई लगानीमा छुट दिनुको अर्थ सरकार विदेशी शक्तिको कठपुतली बन्नु हो ।


बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले शिक्षा, स्वास्थ्य जस्ता जनताका आधारभूत विषयमा निजीकरण र उदाहरीकरणको नीतिले जनताको कहिल्यै हित नहुने बताउँदै जनताको निःस्वार्थ रुपमा सेवा गर्ने उद्देश्यले स्थापना भएका भक्तपुर नपाद्वारा सञ्चालित कलेजबाट देशभरिका विद्यार्थीहरुले सस्तोमा गुणस्तरीय शिक्षा हासिल गर्नु सुखद् पक्ष भएको बताए ।
युवा— विद्यार्थी विदेश पलायन हुनुमा मुख्य जिम्मेवार देशका शासक र विश्वविद्यालयहरु स्वयम् भएको बताउँदै म्यानपावर कम्पनीका दलालहरुबाट देश सञ्चालन भएकै कारण देशले आजको नियति भोग्नुपरेको उनले प्रष्ट पारे ।
युवा—विद्यार्थीविहीन नेपालको विकास कति सम्भव छ भन्ने प्रश्न तड्कारो रहेको बताउँदै सांसद गोसाइँले देशलाई आजको अवस्थामा पुर्याउनुमा शासक दल र कर्मचारीतन्त्र दोषी रहेको बताए ।
प्यालेष्टाइनी जनताप्रति ऐक्यबद्धता जनाउँदै सांसद गोसाइँले न्यायप्रेमी जनताले प्यालेष्टाइनी जनतामाथि भइरहेको नृशंस हत्या, बमबारी र अत्याचारको विरोध गर्नुपर्ने बताए ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले दक्ष जनशक्ति उत्पादनमा भक्तपुरका शैक्षिक संस्थाहरुको ठूलो भूमिका रहेको बताउँदै भक्तपुरको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा नपाले जोड दिँदै आएको बताए ।
भक्तपुर नपाले सञ्चालन गरेका शैक्षिक संस्थाहरुका कारण भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रको रुपमा विकास गर्न मद्दत पुगेको बताउँदै नगरपालिकाले नगरबासीहरुको सामाजिक स्तर सँगसँगै सांस्कृतिक स्तर उकास्न पहल गर्दै आएको बताए ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन सुशिल बज्राचार्यले नेपालमा इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुको संख्या उत्साहजनक रहेको बताउँदै विदेश गएर अध्ययन गर्ने बाध्यतालाई अन्त्य गर्न इन्जिनियरिङ अध्ययन संस्थानले विद्यार्थीको माग र रुचिअनुसारका विभिन्न विषयहरु सञ्चालन गरिरहेको बताए ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले कलेजको उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै स्वदेशमै गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने र देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना भएका कलेजहरु देशकै लागि नमुना भएको बताए ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बि.सं. २०५८ देखि हालसम्ममा स्नातक र स्नातकोत्तर तहमा देशभरिका ४, ८४० विद्यार्थी अध्ययनका लागि भर्ना भइसकेका र हाल ७१ जिल्लाका ९७४ जना विद्यार्थीहरु स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुमा अध्ययन रहेको बताए ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म मनाङ र धनकुटा जिल्ला बाहेक ७५ जिल्लाका २,४२४ जना विद्यार्थीहरुले अध्ययन गरिसकेको र हाल यस कलेजमा ७२ जिल्लाका ७१४ जना विद्यार्थीहरु अध्ययनरत रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले दुवै कलेजमा १० वर्ष र २० वर्ष सेवा अवधि पूरा गरेका प्राध्यापक तथा प्रयोगशाला÷कर्मचारीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको थियो भने अतिथिहरुले कलेजको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई मेडल तथा सम्मान पत्र प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *