उद्योगीले पाउने डेडिकेटेड र ट्रंकलाइनको व्यवस्था खारेज

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ३ असार

सरकारले विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन व्यवस्था खारेज गरेको छ । विद्युत नियमन आयोगले नयाँ महसुलदर जारी गर्दै अब डेडिकेटेड र ट्रंक लाइनका नाममा महंंगोमा विजुली बेच्न नपाइने व्यवस्था गरेको हो ।

अब औद्योगिक ग्राहकको लागि तोकिएको लाइनहरुमा तोकिएको दर रेटमा मात्रै प्राधिकरणले बिलिङ गर्न पाउने आयोगका सदस्य रामप्रसाद धितालले जानकारी दिए । ‘अब हामीले डेडिकेटेड र ट्रंक लाइन चिन्दैनौं, कुनै पनि नाममा अब पि्रमियम शुल्क लगाएर विजुली बेच्न पाइँदैन,’ धितालले भने ।

यसअघि प्राधिरकणले २४ घण्टासम्म लाइन पाउने यस्ता लाइन लिने ग्राहकबाट तोकिएको औद्योगिक महसुलभन्दा ६५ प्रतिशत बढी महसुल लिने गरेको थियो । डिजेल जेनरेरटर चलाउनुभन्दा महंगो शुलक तिर्दा नाफा हुने भएपछि लोडसेडिङको समयमा प्राधिकरणका हाकिमको तोकआदेशका भरमा केही उद्योगहरुलाई २४ घण्टा नै विजुली उपलब्ध पाउने गरेका थिए । प्राधिकरणले यस्तो लाइन लिएका उद्योगपतिबाट अहिले पनि १५ अर्बभन्दा बढी लाइनको महसुल उठाउन बाँकी छ ।

कतिपय उद्योगीले आफैंले मागेर उपयोग गरेको यस्तो लाइनको महसुल तिर्न आनाकानी गरेका छन् भने कतिपय क्षेत्रमा प्राधिकरणले भुलबस लोडसेडिङ व्यवस्थापनको लागि लाइन मिलाउने क्रममा डेडिकेटेड लाइन जोडिदिँदा केही उद्योगीले खपत नगर्दा पनि मार भोग्नु परेको छ ।

सर्वसाधारणले १८ घण्टासम्म लोडसेडिङ ब्यहोर्दा विभिन्न उद्योग, व्यवसायिक प्रतिष्ठान, सरकारी अस्पताल र सामुदायिक खानेपानी र सिञ्चाइका आयोजनाले डेडिकेटेड र ट्रक लाइन सुविधाका नाममा २४ घण्टा नै उपयोग गर्ने गरेका थिए । तर, ट्रंक लाइन सुविधा लिएर पनि पि्रमियम ट्यारिफ तिर्न धेरै ग्राहक तयार नहुँदा यसमा विवाद छ ।

प्राधिकरणले २०७५ असार मसान्तसम्म डेडिकेटेड फिडर र ट्रकलाइन सुविधामा ३१५ मेगावाट बराबरको विजुली विभिन्न उद्योग प्रतिष्ठानलाई दिएको थियो ।

यस्ता सुविधा लिएका ग्राहकले प्राधिकरणको पि्रमियम ट्यारिफको ‘बिलिङ’ अनुसार महसुल नतिर्ने भन्दै विरोध जनाउँदै आएका छन् । अधिकांश उद्योग अदालत गएकोमा धेरैजसो मुद्दामा अदालतले प्राधिकरणको पक्षमा फैसला गरेको छ । केही मुद्दा अझै अदालतमा विचाराधीन छ ।

२०७५ मा तयार भएको एक प्रतिवेदन अनुसार प्राधिकरणबाट २३० ग्राहकले डेडिकेटेड र ६७ वटाले ट्रंकलाइन सुविधा लिएका छन् । डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका २९२ ग्राहकमध्ये १८४ वटामाथि पि्रमियम ट्यारिफ लगाइएको थियो भने ५८ वटा ग्राहकलाई लगाइएको थिएन । समितिले पि्रमियम ट्यारिफ नलगाइएका ग्राहकलाई पनि डेडिकेटेड सरहकै महशुल उठाउन सिफारिस गरेको थियो ।

प्राधिकरणका अनुसार तत्कालीन विद्युत महशुल निर्धारण आयोगले २०७३ असारमा सर्वसाधारणलाई ६ घण्टाभन्दा बढी लोडसेडिङ भएको अवस्थामा २० घण्टाभन्दा बढी विद्युत लिएको भए डेडिकेटेड सरहको बिलिङ गर्न निर्देशन दिएको थियो ।

त्यसैअनुरुप बनेको प्राधिकरणको विनियमावलीमा ट्रंकलाइनका सुविधा दिने गरी व्यवस्था गरेको थियो । प्राधिकरणले ट्रंक लाइन लिएका सबै ग्राहकलाई डेडिकेटेड सरहको बिल पठाएपछि उद्योगी व्यवसायीले तिर्न नसक्ने भन्दै विरोध जनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *