भोलिदेखि लकडाउन खुकुलो हुने, छोटो दुरीका सार्वजनिक सवारी सहित उद्योग सञ्चालन

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडौं, २४ जेठ

देशमा लगातार कोरोना संक्रमितको संख्या बढीरहे पनि लगातार ७४ दिनदेखि जारी लकडाउनले जनजीवन प्रभावित भएको भन्दै आइतबारदेखि लकडाउन खुकुलो गर्ने तयारीमा सरकार लागेको छ ।

व्यापारी / व्यवसायीले मात्रै होइन नागरिक स्तरबाटै लकडाउन उल्लंघन हुँदै जान थालेपछि सरकार अप्ठ्यारोमा परेको छ । यिनै अवस्थालाई दृष्टिगत गरी सरकारले विज्ञहरुसँगको परामर्श पछि लकडाउन खुकुलो गर्ने तयारीमा पुगेको हो ।

मन्त्रिपरिषद बैठकले यसै हप्ता लकाउनको मोडालिटी तयार गर्न कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीलाई जिम्मा दियो । उसले लकडाउन छ चरणमा गरी दुई महिनाभित्र खोल्ने प्रस्ताव तयार गरेको छ । जसलाई मन्त्रिपरिषदले पारित गर्ने गरी तयारी भएको छ ।

लकडाउन खुकुलो बनाउने गरी तयार भएको प्रस्तावमा २५ जेठदेखि यात्रुवाहक सवारी सञ्चालन गर्न दिने र १ असारदेखि उद्दोग व्यवसायदेखि मदिरा पसल खोल्न दिने प्रस्तावहरु समावेश छन् । विभिन्न चरणमा भिन्न क्षेत्रका सेवाहरु सञ्चालनको अनुमति दिइनेछ ।

भौतिक दुरी कायम राखी आवश्यक सरसफाइको प्रोटोकल पालना गरी जेठ २५ देखि नै जिल्ला नकट्ने गरी साधन सञ्चालनको प्रस्ताव गरिएको छ । सवारी साधनमा सिट क्षमताको आधा मात्र राख्न पाइनेछ । जस अनुसार मोटरसाइकलमा एकजना र कारमा दुईजना मात्र चढ्न पाउनेछन् ।

काठमाडौं उपत्यकाको हकमा सवारी साधन तीन जिल्लाभर सञ्चालन हुन पाइनेछन् । प्रस्तावमा दैनिक उपभोग्य सामग्रीबाहेक अन्य सामग्री विक्री हुने पसल तथा डिर्पाटमेन्टल स्टोरहरु, कपाल काट्ने सैलुन, आधामात्र यात्रु एकपटकमा राख्ने गरी छोटो दुरीका यात्रुवाहक सवारी साधनहरु, सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा कार्यालयको कामसँग सम्बन्धित सवारी साधनहरु सञ्चालन गर्न दिइने प्रस्ताव छ । १ असारदेखि धार्मिक स्थलहरु खोल्न दिइनेछ । यसको अर्थ मन्दिर, मस्जिद र चर्च असारदेखि मात्र सञ्चालन गर्न दिइनेछ ।

सबै प्रकारका उद्दोग व्यवसाय, आन्तरिक हवाई सेवा र लामो दुरीका यात्रुवाहक सवारी साधान सञ्चालन गर्न दिइनेछ । यात्रुवाहक सवारी साधनमा क्षमताको आधा सिटमा मात्र यात्रु चढाउन दिइनेछन् ।

मदिराजन्य पद्धार्थ विक्री वितरण गर्ने पसल, सपिङ मल पनि १ असारदेखि खोल्न दिने प्रस्ताव छ । तर, कोभिड १९ को जोखिम कम भएका क्षेत्रमा मात्र लकडाउन खुकुलो हुनेछ । जोखिम बढी भएको स्थानलाई सिल गरी लकडाउन गरिने प्रस्तावमा उल्लेख छ ।

सार्वजनिक सवारी साधन असारमा सञ्चालन गर्न दिइनेछ । जसमा मध्यम र लामो दुरीलाई मापदण्ड तोकी सञ्चालन गर्न दिइनेछ । भाडाका सवारी साधन असारमा सञ्चालन गर्न दिइएपनि रोकथामको उपायसहितको नियम पालना गर्नुपर्नेछ । यसको नियमन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *