न्यूज अपडेट संवाददाता

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि नक्सा विपरित सञ्चालनमा रहेका फार्मेसी पसलहरु हटाउने तयारी गरेको छ। वीर अस्पतालको नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले ती पसलहरु हटाउन लागेको हो।
महानगरले वीर अस्पताल क्षेत्रमा माइकिङ गर्दै स्वतःस्फुर्त रुपमा टहरा हटाउन भनेको छ। स्वतःस्फुर्त रुपमा टहरा नहटाए डोजर लगाएर हटाउने महानगरले चेतावनी दिएको छ।
महानगरका नगर प्रहरीका उपरीक्षक दिनेश अर्यालले एउटा नक्सा पास गरेर अर्कै प्रयोजनमा प्रयोग गरेको देखिएकाले टहरा हटाउन माइकिङ गरिएको बताए। महानगरले ती संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको र औषधि पसल जस्तो संवेदनशील सेवा सञ्चालन भएकाले माइकिङ गरेर समय दिइएको उनको भनाई छ।
वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भूपेन्द्र कुमार बस्नेतका अनुसार अस्पतालले पनि ती पसलहरु हटाउने तयारी गरेको थियो। तर पसल हटाउँदा औषधि सार्नका लागि विकल्प दिनुपर्ने भएकाले ढिलाई भएको उनको भनाई छ।