Tuesday, April 30, 2024

भक्तपुरमा गर्भवती महिलामा संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, २० जेठ

भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलका ३० वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा चाँगुनारायण नगरपालिकाकी महिलामा संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।

चाँगुनारायण नगरपालिका वडा नं ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालका अनुसार झौखेलमा बसोबास गर्दै आएकी गर्भवती महिला चेकजाँचका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा आउजाउ गर्ने गर्थिन् । चिकित्सकका सल्लाह अनुसार प्रसुतिको समय नजिक आएकाले उनको जेठ १५ गते कोरोना परीक्षणका लागि स्वाब परीक्षण गरिएको थियो ।

परीक्षणको रिपोर्ट भने आज मंगलबार आएको थियो । उनको रिपोर्टमा पोजेटिभ देखिएको थियो । आजै केएमसी अस्पतालका ४ जना चिकित्सकलाई पनि संक्रमण पुष्टि भएको छ । संक्रमित महिलालाई पनि अस्पतालबाटै सरेको आशंका गरिएको छ ।

अहिले संक्रमित महिला बसोबास गर्ने क्षेत्रमा सिल गर्ने तयारी भैरहेको र संक्रमित महिलालाई अस्पताल लैजाने तयारी भैरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

संक्रमित महिलासँग सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्ने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *