अस्पतालको गम्भीर लापरवाही, मृतक कोरोना पोजिटिभ

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

वीरगञ्ज, १२ जेठ

जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका–७ उम्जनका ७० वर्षीय पुरुषको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

तर मृतकको ८ दिन अगाडि नै अन्त्येष्टि भइसकेको छ ।

यसमा उनको उपचार गरिएको नेशनल मेडिकल कलेजले गम्भीर लापरवाही गरेको पाइएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणको रिपोर्ट शंकास्पद आएकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट नआउादासम्म शव परिवारलाई बुझाउन मिल्दैनथ्यो । किनकी कोरोनाबाट मृत्यु भएको भए अन्त्येष्टिको छुट्टै प्रोटोकल छ, त्यसअनुसार सुरक्षा उपाय अपनाएर मात्र अन्त्येष्टि गर्नुपर्छ ।

तर अस्पतालले केही नभए जसरी शव परिवारलाई बुझाएको पाइएको छ ।

मृतकका छोरा भन्छन् : अस्पतालले केही भनेन

मृतकका चार छोरा, एक छोरी, एक बुहारी र एक नातिनी छन् । बहिनी ज्वाईंको घर वीरगञ्जमा थियो, त्यसैले उपचारका जेठा र कान्छा छोरा मात्र आएका थिए ।

४ गते निधन भएपछि शव बुझे र एम्बुलेन्समा राखेर फेरि गाउँ लगे । आफ्नो धार्मिक परम्परा पुरा गर्दै घरबाट झण्डै डेढ किलोमिटर दुरीमा रहेको घाटमा अन्त्येष्टि गरे । ५० भन्दा बढी मलामी गएका थिए ।

स्थानीयको भनाइ उधृत गर्दै वडाध्यक्ष बृज चौधरीले बताएअनुसार मृतकको शव बाँध्ने बोक्ने प्रक्रियामा छोराहरु नै सहभागी भएको पाइएको छ । मलामीहरुले सामाजिक दुरी कायम गरेको बताएका छन् ।

चार भाइ छोरा अहिले किरिया बसेका छन् । भोलि दशौं दिनमा काम सक्ने तयारी भइरहेको छ । तर सोमबार विहान ११ बजेतिर एक्कासी खबर आयो, बुवाको कोरोना पोजेटिभ आयो !

मृतकका जेठा छोराले भने, ‘हामीले बुबाको मृत्यु कोरोनाले भएको होला भनेर कल्पना पनि गरेका थिएनौं । बुबाको शव ल्याउने तयारी गर्दा पनि अस्पतालले केही भनेन ।’

उनकाअनुसार केही दिन अघि मात्र अस्पतालबाट फोन आएको थियो । ‘परीक्षणका लागि स्वाब कलेक्सन भएको रहेछ । तपाईंको बुबाको निधन भएको ४ गतेको हो कि ८ गतेको भनेर सोध्यो’ उनले भने, मैले ४ गतेको भनिदिएँ । परीक्षणका लागि स्याम्पल पठाउनु छ, त्यही भएर कल गरेको भनेर फोन राखिदियो । यसबाहेक अस्पतालले हामीलाई केही भनेको छैन ।’

तर एकाएक कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि शोकमा रहेको परिवार थप अन्यौलमा परेको छ । उनले भने, ‘दशौं दिनको दिन भोलि बुबाको काम सक्ने तयारी गरिरहेका थियौं । अब भोलिको काम कसरी सम्पन्न गर्ने भन्ने अन्यौलमा परेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *