कोरोनाका कारण मृत्यु भएकी सुत्केरीको नवजात शिशु धुलिखेल अस्पतालको आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ४ जेठ

श्रीमान्, सासु र बहिनी पनि अस्पतालकै आइसोलेसनमा, अस्पतालको सेवा सुरु

कोरोना भाइरस कोभिड-१९का कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरीको नवजात शिशु सहित ४ जना धुलिखेल अस्पतालको आइसोलेसनमा छन्।

अस्पतालका प्रवक्ता डा सुमनराज ताम्राकारका अनुसार नवजात शिशु, मृतकका श्रीमान्, सासु र बहिनीलाई आइसोलेसनमा राखिएको छ। उनीहरुको अवस्था सामान्य छ।

आइसोलेसनमा रहेका सबैको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइएको डा ताम्राकारले जानकारी दिए।

मृतकको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको पनि स्वाब संकलन गरिएको छ। उनीहरु सबैलाई अस्पतालकै क्वारेन्टाइनमा राखिएको डा ताम्राकारले जानकारी दिए।

डा ताम्राकारका अनुसार सुत्केरीको मृत्यु भएपछि शवको व्यवस्थापन र त्यसपछिका प्रक्रियाका कारण शनिबारदेखि रोकिएको अस्पतालको सेवा आइतबारबाट पुन सुरु भएको छ।

‘अस्पतालमा डिसइन्फेक्ट गर्ने लगायतका कामले गर्दा रोकिएको सेवा आजबाट पुन: सुरु भएको छ,’ उनले भने।

सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। उनी कोभिड १९ का कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ती हुन्।

उनको शनिबार नै पशुपतिमा दाहसंस्कार गरिएको छ। शनिबार उनको शवलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगी दाहसंस्कार गरिएको हो।

त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते सुत्केरी भएकी उनी २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक बाह्रबिसे गएकी थिइन्। तर श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बाह्रबिसेको प्राथमिक स्वास्थ्य केन्द्र र त्यसपछि धुलिखेल अस्पताल ल्याइएको थियो।

मन्त्रालयका अनुसार अस्पताल ल्याउने क्रममा उनको निधन भएको हो।

अस्पतालमा उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले उनको स्वाबको थप परीक्षणका लागि टेकु पठाइएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि उनमा कोरोना पोजेटिभ देखिएपछि मन्त्रालयले कोरोनाका कारण मृत्यु हुने पहिलो व्यक्ति भएको आधिकारिक जानकारी गराएको थियो।

बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनका अनुसार ती महिला सिन्धुपाल्चोक राम्चेकी हुन्। कोरोना संक्रमणका कारण उनको मृत्यु भएपछि नगरपालिकाले उनको गाउँ र स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी तथा उनको सम्पर्कमा आएकाहरुको खोजी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *