नेपालमा अहिलेसम्म ९ जना सुरक्षाकर्मी संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ४ जेठ

कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको फ्रन्टलाइनमा खटिएका ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिको छ।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमित २९१ जनामध्ये ९ जना सुरक्षाकर्मी रहेका छन्।

शनिबार मात्रै तीन जना सुरक्षाकर्मीमा कोरोना भाइरस देखिएको थियो। जसमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी जवान, नेपाली सेनाको मध्यपृतनामा कार्यरत सेनाका एक उच्च अधिकारी र सोही ठाउँमा कार्यरत अर्का एक सैनिकमा कोरोना संक्रमण देखिएको थियो।

अहिलेसम्म सशस्त्र प्रहरी बलका तीन, नेपाल प्रहरीका तीन, नेपाल सेनाका दुई र राष्ट्रिय अनुसन्धान विभागका एक जना गरी ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

कोरोना भाइरस संक्रमण देखिएपछि सबै सुरक्षा निकायले उच्च सर्तकता अपनाउन थालेका छन्। बिदाबाट फर्केकाहरुलाई सेल्फ क्वारेन्टाइनमा राख्नेदेखि फिल्डमा खटिँदा उच्च सर्तकता अपनाएर काम गर्न निर्देशन दिइएको नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए।

बिदाबाट फर्केका सुरक्षाकर्मीको कोरोना जाँच पनि सुरु गरिएको छ। पूर्वगृहमन्त्री भीम रावलका पिएसओ सशस्त्रका जवान बिदाबाट फर्केपछि जाँच गराउँदा कोरोना देखिएको थियो। बिदाबाट फर्केकाले जाँच गराइहालेकाले अन्यमा सुरक्षाकर्मीमा कोरोना संक्रमण फैलन पाएन।

सामूहिक रुपमा ब्यारेकमा बस्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि कोरोनाको उच्च जोखिममा छन। अझ ब्यारेकमा एउटा व्यक्तिमा मात्रै कोरोना देखिएको अवस्थामा त्यसले भयावह रुप लिन सक्ने अवस्था पनि आउँछ। जसकारण सुरक्षाकर्मीहरु आफैं उच्च जोखिममा हुने नै भए। त्यसैको पूर्वसावधानीस्वरुप सुरक्षा निकायले आफ्नो तयारी तीव्र पारेका छन्।

कोरोनाको संक्रमणबाट बच्नका लागि प्रहरी प्रधान कार्यालयले आन्तरिक तयारीलाई तीव्र बनाइको र मातहतका सबै इकाइलाई सर्तकता अपनाउन निर्देशन पनि दिइसकेको छ। यसअघि नै प्रहरी प्रधान कार्यालयले तालिम केन्द्रहरुले दिने गरेको डे र नाइट‚ घण्टे आउटजस्ता बिदा समेत अहिले कटौती गरिएको छ।

प्रदेश प्रमुख, संघीय प्रहरी इकाइ, जिल्ला प्रमुखहरु लगायत प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी अधिकारीलाई अति आवश्यक बाहेक अन्य अवस्थामा ब्यारेक छाडेर बाहिर नजान र बिदा नबस्न पनि निर्देशन दिएको थियो।

कोरोनाको अर्को उच्च जोखिममा ट्राफिक प्रहरी पनि छन्। उनीहरुलाई सकेसम्म पिपिई लगाएर मात्रै फिल्डमा खटाउन थालिएको महानगरीय ट्र्राफिक प्रहरी महाशाखाले जनाएको छ।

नेपाल प्रहरीसँगै कोराना भाइरसको सचेतनाको फ्रन्ट लाइनमा खटिएका सशस्त्र प्रहरी बल र नेपाल आर्मीले पनि उच्च सर्तकता अपनाउन थालेका छन्।

फिल्डमा खटिएका सुरक्षाकर्मीहरुको सकेसम्म कोरोना जाँच गर्न थालिएको छ। शनिबार सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला कोरोनाका कारण मृत्यु भएपछि कोरोना नियन्त्रणको फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुमा त्रास बढेको छ। पर्याप्त मात्रामा सुरक्षित सामग्रीहरु नहुँदानहुँदै पनि फिल्डमा खटिनु परेको उनीहरुको गुनासो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *