सरुवा रोग अस्पतालमा बालबालिकाका लागि ४ बेड आइसीयू र १२ बेडको आइसोलेसन छुट्याइयो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २४ जेठ

कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावना, जोखिममा बालबालिका

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बालबालिकाका लागि ४ बेड आइसीयू र १२ बेडको आइसोलेसन छुट्याइएको छ। कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालमा बालबालिकाका लागि बेड छुट्याइएको अस्पताल निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए।

उनका अनुसार हाल अस्पतालमा कोभिड बिरामीका लागि भनेर समग्रमा ४५ बेडको आइसोलेसन, २८ आइसीयू र २१ भेन्टिलेटर छन्। अस्पतालमा अहिले ८२ जना संक्रमितको उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहर आउन सक्ने र यी लहरमा बालबालिका बढी जोखिममा पर्ने सम्भावना रहेको भन्दै आवश्यक तयारी गर्न अस्पतालहरुलाई निर्देशन दिएको थियो। सोही अनुसार टेकुमा बेड छुट्याइएको हो।

स्वास्थ्य मन्त्रालयले देशभरका सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा अत्याधिक मात्रामा प्रौढ तथा युवाहरु संक्रमित भएको र हालसम्म सबै तयारी उनीहरु लक्षित अवस्थामा रहेको जनाएको छ।

नेपालमा तेस्रो र चौथो लहर आउदा बालबालिकाहरुलाई जोखिम हुने भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई अक्सिजनको व्यवस्थापन सहित २० प्रतिशत शय्या बालबालिकाको लागि उपयुक्त हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *