भक्तपुर सिकर्मी संघद्वारा भक्तपुर नपाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईज्ञापन

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २० जेठ


भक्तपुर सिकर्मी संघ जिल्ला समितिको आयोजनामा भक्तपुर नपाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र वडाध्यक्षद्वय उपेन्द्र सुवाल, राजकृष्ण गोरा तथा वडा नं। ३ का वडा सदस्य कृष्णगोपाल चौगुठीलाई बधाईज्ञापन कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरको मौलिक प्रविधिको संरक्षण र जगेर्नाले गर्दा भक्तपुरको पहिचान कायम भएको बताउँदै परम्परागत पेशा व्यवसाय जोगाइराख्न पर्यटकलक्षित वस्तुहरुको उत्पादनमा जोड दिनुपर्ने बताए।

सरकारले परम्परागत पेशा व्यवसायलाई प्रवद्र्धन गर्न कर छुट गर्नुपर्ने, अनुदानको व्यवस्था, सहुलियत दरमा ऋण प्रदान र स्वदेशी कच्चा पदार्थको प्रयोगमा सहुलियत दिनुपर्नेमा जोड दिँदै उनले आफूसँग भएको सीप र कला नयाँ पुस्तामा पुस्तान्तरण गर्न विभिन्न तालिमहरु समेत सञ्चालन गर्नुपर्ने बताए ।

भक्तपुर नपाले जनतालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने काम गरिरहेको बताउँदै विचार र सिद्धान्तले समाजलाई बदल्ने उनले बताए । उनले संसारकै नवीनत्तम विचार भनेको समाजवादी विचार हो भन्दै नेपालमा अहिले समाजवादी क्रान्तिको खाँचो रहेको औंल्याए।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले जनताले पुनः नेमकिपाका प्रतिनिधिमाथि विश्वास गरी अत्यधिक बहुमतले विजयी गराएकोमा धन्यवादज्ञापन गर्दै सिकर्मी पेशा देशको कला र संस्कृति संरक्षण गर्ने सम्मानित पेशा भएको हुँदा यस पेशालाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने बताए। भक्तपुरको प्रतिष्ठा आजको उचाइँमा पुग्न यहाँका मौलिकता, मूर्त र अमूर्त सम्पदा संरक्षणले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले जनताको साथ पाएमा जस्तोसुकै चुनौती सामना सजिलैसित हुने बताए।

भनपा वडा नं। ३ का वडाध्यक्ष राजकृष्ण गोराले नेमकिपाले विचार र सिद्धान्त आधारमा चुनाव जित्दै आएको बताउँदै राजनैतिक कार्यकर्ताहरु सैद्धान्तिक रुपमा प्रतिबद्ध रहनुपर्ने धारणा राखे। भनपा वडा नं। ४ का वडाध्यष उपेन्द्र सुवाल भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणमा गरेको उल्लेखनीय कार्यको आज सिंगो देशले उच्च प्रशंसा गरिरहेको बताउँदै नेमकिपाको उद्देश्य देश र जनताको सेवामा निहित रहेको बताए।

संघका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्व भएको उक्त कार्यक्रममा वडा सदस्य कृष्णगोपाल चौगुठी, संघका सल्लाहकार विष्णुभक्त कुसी, उपाध्यक्ष रामसुन्दर सुवाललगायतले आ–आफ्नो धारणा व्यक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *