भक्तपुरमा कोरोनाका बाबजूट पनि दशै शान्तिपूर्ण र सौहार्दपूर्ण रुपमा सम्पन्न

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, १० कात्तिक


प्रत्येक वर्ष लाखौंको भक्तजनको उपस्थिति रहने भक्तपुरमा यसपालि कोरोना भाइरसको महामारीका बीच पनि शान्तिपूर्ण र सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ । दशैको पहिलो दिन घटस्थापनादेखि नै पूर्व तयारीका साथ भक्तपुर नगर पालिकाले स्वयम्सेवकहरु खटाएर भीड नियन्त्रण गरेका थिए ।

जमरा रोप्नका लागि बालुवा लिनेलाई स्वयम्सेवक तथा स्काउटका भाइवहिनीहरुले सहयोग गरेका थिए । ब्रम्हायणी स्थलमा मन्दिर वरिपरि बासका बार राखेर मन्दिरमा पूजा गर्न दिइएन । त्यसरी नै अन्य पीठहरुमा पनि स्वयम्सेवककै सहयोगमा हुल तथा भीड नियन्त्रण गरिरहेका थिए ।

सबैले सोचेका थिए, नवरातका दिन त त्यस्तो गर्छ, अष्टमी, नवमी र दशमीमा कसरी गर्छ ? प्रश्न उठिरहेका थिए । तर नगरपालिकाकै पहलमा स्वयम्सेवकहरूको नियमित भेलाबाट त्यसको पनि समाधान निकालेरै छाड्यो । अष्टमीका दिन पूजाआजालाई सामान्यीकरण गर्दै स्वयम्सेवकहरुले नियन्त्रण गरे भने नवमीका दिन नवदुर्गा द्यो छेँबाट ब्रम्हायणीस्थानसम्म राँगो जात्रा (खँ मे जात्रा) गर्नुपर्ने त्यसलाई विहान ५ः०० बजे नै सय डेढसय मान्छेका बीच मात्रै सीमित गरेर सम्पन्न गरियो । त्यस्तै सबैभन्दा ठूलो भीड हुने विजया दशमीका दिन पनि भक्तपुर नगरपालिकाले आह्वान गरे अनुसार औपचारिकतामा सीमित गर्ने निर्णय अनुसार नै नवदुर्गा गणको गर्नुपर्ने कार्य चाँदे नै सम्पन्न गरेको पाइन्छ । दिनभरजसो नै कोरोनाको कहरबाट बच्न र बचाउनका लागि माइकिङ गरिरहे भने स्वयम्सेवकहरु पनि दिनभर जसो नै खटेर भीड नियन्त्रण गर्न बसे ।

यसप्रकार दिउँसो २ः०० बजे नै नवदुर्गाको सम्पूर्ण काम सकाएर ब्रम्हायणी स्थलबाट तलेजु प्रस्थान भए र दिउँसो ४ः०० बजेतिर नवदुर्गागण आफ्नो निवासमा पुग्न सफल भए । यसरी भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायतका संघसस्थाहरुबीच भएको निर्णय दशै औपचारिकतामा सीमित गर्ने भन्ने कुरा पूरा भएको छ । विभिन्न क्षेत्रहरुबाट सहयोग गर्नुहुनेहरुप्रति भक्तपुर नगरपालिकाले आभार प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *