भोजपुरमा दुई हजारभन्दा बढी घरेलु तथा साना उद्योग उद्योग दर्ता

अर्थ/वाणिज्य पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट
भोजपुर, ५ असोज


भोजपुरमा घरेलु तथा साना उद्योग दर्ता गरी व्यावसाय गर्नेको संख्यामा वृद्धि भएको छ । सरकारले कृषि क्षेत्रमा विभिन्न खाले प्रोत्साहनका कार्यक्रम सञ्चालनमा ल्याएसँगै व्यवसायमा लाग्नेको संख्यामा बृद्धि भएको घरेलु तथा साना उद्योग विकास कार्यालय भोजपुरले जनाएको छ ।

जिल्लाभर हालसम्म दुई हजार एक सय ४७ साना तथा घरेलु उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् । गत आर्थिक वर्ष मात्र तीन सय ३४ वटा उद्योग तथा फर्महरु दर्ता भएका छन् भने वाणिज्यतर्फ चार सय १७ फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका निमित्त प्रमुख प्रेम बुढाथोकीले बताए ।

समुदाय स्तरमा विभिन्न खोल तालिमसँगै कार्यक्रम सञ्चालन गरेपछि उद्योग तथा फर्म दर्ता गरेर व्यवसायमा लाग्नेको संख्यामा वृद्धि भएको उनको भनाइ छ । निमित्त प्रमुख बुढाथोकीले भने, ‘पछिल्लो समय जिल्लामा उद्योग व्यवसायमा लाग्नेको संख्यामा बृद्धि हुँदै गएको छ, व्यवसाय गरेर धेरै जना स्वरोजगार समेत बनेका छन् ।’

विभिन्न खाले उद्योगबाट दुई हजार २ सय ६९ जना पुरुष र एक हजार ८ सय ९१ महिला गरी जम्मा चार हजार १ सय ६० जनाले रोजगारी समेत पाएका छन् । दर्ता भएका फर्म मध्ये सबै भन्दा बढी कृषि तथा बन जन्य रहेको कार्यालयको भनाइ छ । गत आर्थिक वर्षमा निजी फर्म ३२६ साझेदारी फर्म ६ र २ ओटा कम्पनी दर्ता भएका छन् । जसमा घरेलु उद्योग २, साना उद्योग ५५ र लघु उद्यम २७७ रहेका छन् । दर्ता भएका मध्ये उत्पादनमूलक ६ , सेवामूलक ४३., कृषि तथा पशुजन्य २८१, निर्माणका ४ रहेका छन् । सवै खाले उद्योगमा पुरुष २६६ र महिला ७२ गरी ३३८ जना उद्यमी संलग्न रहेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लामा उद्योगमा रु. १९ करोड ५३ लाख ८५ हजार बराबर लगानी भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।


जिल्लामा धातुकला सम्वन्धी, कृषि तथा पशुपालन, पर्यटनसँग सम्वन्धित, मौरीपालन सम्वन्धी, फलफूल खेती तथा प्रशोधन, राडीपाखी तथा ऊनजन्य, ढाका तयारी पोशाक, खुकुरी तथा कृषि औजार सम्वन्धी उद्योग बढी मात्रामा सञ्चालनमा रहेका छन् । कार्यालयले उद्यमशिलता विकासतर्फ, ढाका वुनाई, वाँसको फर्निचर बनाउने तालिम, हाउस वाएरिङ, बेकरी सम्बन्धी तालिम, पशुपालन सम्बन्धी तालिम, कुक तालिम लगायत ८ ओटा तालिम सञ्चालन गरेको छ । जसबाट १६३ जना लाभान्वित भएका छन् ।

त्यस्तै कार्यालयले १०६ जना लघु घरेलु तथा साना उद्यमीलाई उपयुक्त प्रविधि अन्तर्गत माग आवश्यकता र सम्भाव्यताको आधारमा हाते मिल, मिनि ट्रिलर, ब्रस कटर, चाफ कटर, डि. फ्रिज, ग्राईन्डर मेसिन लगायतका औजार हस्तान्तरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *