न्यूज अपडेट
पर्वत, ४ असोज

पहिरोले सडक बिग्रिएर गाउँको दूध बजार लैजान नपाएपछि खोलामा फालिएको छ । सडकका कारण गाउँमै दूध कुहिन थालेपछि पर्वतको फलेवासका किसानले सहकारीमा संकलन भएको ७ सय २० लिटर दूध खोलामा फालेका हुन् ।
दोबिल्ला–फलेवास सडक खण्ड पहिरोले अवरुद्ध भएको एक हप्ता सम्म खुलेको छैन । सडक पहिरोले पुरेपछि किसानले बजारसम्म दूध ढुवानी गर्न पाएका छैनन् । किसानले फलेवास नगरपालिकालाई सडक खुलाउन अनुरोध गर्दागर्दै वेवास्ता गरेको आरोप लगाएका छन् । फलेवास नगरपालिकाले सडक खुलाउन प्रयास नगरेको भन्दै विरोध स्वरुप खोलामा दूध पोखेको कृष्णगण्डकी दुग्ध सहकारीका अध्यक्ष रुद्रप्रसाद भुसालले बताए । उनले नगरपालिकाले तत्काल सडक खुलाउनुपर्नेमा एक हप्तासम्म वेवास्ता गरेकोमा आक्रोश व्यक्त गरे ।
फलेवासका किसानले दैनिक रुपमा कुश्माबजार र पोखरासम्म दूध ढुवानी गरेर बेच्दै आएका छन् । प्रत्येक दुई÷दुई दिनको अन्तरमा बजार पठाउनुपर्ने दूध एक हप्तासम्म थन्किँदा कुहिएको समेत भुसालले बताए । चिस्यान केन्द्र नहुँदा धेरै दिन भण्डारण गरेर राख्न नसकिएको सहकारीले जनाएको छ । देवीस्थानका किसानहरुले दुई बर्षअघि दुग्ध सहकारी गठन गरी एक सय भन्दा बढी किसानले उत्पादन गर्ने दूध संकलन गर्दै आएका छन् ।
गाउँ गाउँबाट बल्लतल्ल ल्याएर संकलन भएको दूध बजारमा लैजान नपाएकोमा स्थानीय आक्रोशित भएका छन् । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले किसानहरुको समस्याबारे आफू जानकार रहेको बताएका छन् । सडक धेरै ठाउँमा भत्किएको र मर्मत गर्ने काम भैरहेको शर्माले बताए । किसानहरुले बाध्य भएर दूध पोखेको बताउँदै शर्माले नगरपालिकाले किसानलाई क्षतीपूर्ति दिने आश्वसन दिए ।