भरतपुरको मुख्य समस्या अस्पतालको फोहर

समाचार स्वास्थ्य

रत्ननगर, १३ पुस 


मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेका छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुररुवालाई समेत संक्रमण हुने सम्भाबना छ ।

भरतपुर महानगरमा क्यान्सरको उपचार हुने देशकै ठूलो वीपी मेमोरियल क्यान्सर अस्पताल, सरकारी अस्पताल भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेजलगायत झण्डै २६ अन्य ठूला निजी अस्पताल र १०० भन्दा बढी निजीक्षेत्रबाट सञ्चालित पोलिक्लिनक छन् । यहाँ विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् ।

अस्पतालबाट दैनिक दुई टन अस्पतालजन्य संक्रमित फोहर निस्किने गरेको महानगरपालिकाको तथ्यांकमा उल्लेख छ । अस्पतालहरुले फोहरलाई परिसरभित्रै सामान्य सेप्टी ट्यांकीमा फाल्ने गरेका छन् । यस्ता फोहरको दुर्गन्ध अस्पतालसम्मै आउने गरेको गुनासो बिरामीहरुको छ ।

अस्पताल सञ्चालनमा ल्याउँदा संक्रमित फोहरको आफै प्रबन्ध मिलाउँछौँ भनेर प्रतिबद्धता गरिए पनि यस्ता फोहरको विषयमा खासै ध्यान दिएको नपाइएको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । “अस्पतालभित्र फोहर छुट्याएर राखिए पनि एकै ठाउँमा फाल्ने गरिएको पाइन्छ ”
, अधिकृत सुवेदीले भने, “मानव स्वास्थ्यमा गम्भीर असर गर्ने यस्ता फोहर व्यवस्थापनमा बेवास्था भइरहेको छ । ती अस्पतालले गम्भीरताका साथ तोकिएका शर्तहरु पालना गर्नुपथ्र्यो ।”

अस्पतालले सेप्टी ट्यांकीबाट कुहिएर निस्किने झोललाई खुला जमीनमै विर्सजन गर्दै आइरहेको छ । यस्ता फोहरले मानव स्वास्थ्य र वातावरणमा सीधैँ असर पु¥याउँछ । लामो समयदेखि यस्ता फोहर व्यवस्थापनका लागि बहस चल्दै आइरहे पनि प्लान्ट निर्माण गर्न अस्पतालमा जग्गा अभाव भएकाले समस्या समाधान हुनसकेको छैन ।

उचित स्थान, साधन र स्रोतको अभावमा प्लान्ट निर्माण गर्न सकिएको छैन । यसका लागि भरतपुर अस्पतालको जग्गामा डीपीआर गर्न भरतपुर महानगरपालिकाले रू. ५ लाख छुट्याएको पनि छ र कोरियाली फोहर व्यवस्थापन कम्पनी सुडुकोनसँग प्लान्ट निर्माणका लागि सम्झौता पनि भइसकेको छ तर पनि कार्यान्वयनमा भने चासो देखाइएको छैन ।

यहाँका अस्पतालले फोहर व्यवस्थापनका लागि अझैसम्म छुट्टै फोहर व्यवस्थापन समिति पनि बनाएका छैनन् । ती अस्पताललाई फोहर व्यवस्थापनका लागि सुझाव दिएका छौं, भरतपुर महानगरपालिका वातावरण समितिका संयोजक पदमपाणि सुवेदीले भने, “अस्पतालमा फोहर व्यवस्थापन गर्न सहयोगसँगै अनुगमनलाई पनि तीव्रता दिन्छौँ । यस विषयमा सबैभन्दा पहिला अस्पताल नै गम्भीर बन्न जरुरी छ ।”

भरतपुर महानगरपालिकाले जिल्लाका निजी तथा सरकारीमा संक्रमित फोहरबारे अनुगमन गर्ने जनाएको छ । जिल्लाका सबै अस्पतालमा अनुगमन गर्ने निर्णय गरेको भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिए । पहिलो चरणमा अस्पतालमा गएर प्राराम्भिक प्रतिवेदन तयार पार्छौँ, उनले भने, “अस्पतालका सञ्चालकलाई यस विषयमा सचेत गराउँछौँ, लापरवाही गरेको पाइएमा कारवाहीको दायरमा ल्याउँछौं ।”

भरतपुर महानगरपालिकाले आफ्नो फोहरलाई आफै व्यवस्थापन गर्न अस्पताललाई आग्रह गर्दै आइरहेको छ । अस्पतालजन्य फोहर समयमै व्यवस्थापन नगरे यहाँ ठूलो समस्या आइपर्नेमा स्थानीय बासिन्दा चिन्तित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *